३० आश्विन २०८३, शुक्रबार

यसरी बन्यो युवा संघमा सहमतिको वातावरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sher-Dhan-Rai1

– शेरधन राई

एमाले केन्द्रीय सदस्य एवं युवा संघ इन्चार्ज

नेकपा एमालेको स्थायी कमिटीको जिम्मेवारी अनुसार मैले युवा संघको इन्चार्जको जिम्मेवारी लिनासाथ अनौपचारिक रुपमा परामर्श सुरु गरेँ । समस्याको अध्ययन र पहिचान गर्ने क्रममा मैले जति समय खर्च गरेँ– काबुभन्दा बाहिरको समस्या मैले केही देखिनँ । त्यसो हुँदा आखिरी हामी सबै एमाले अनि हाम्रो युवा संघभित्रको समस्या हामी आफैले समाधान गर्नुपर्छ भनेर सबै पक्षसँग छलफल चलाएँ । त्यसपछि त्यसको वातावरण निर्माण गर्नुपर्छ भन्नेमा सबै सहमत देखिए ।

यो वातावरण बनाउने क्रममा मैले सबैभन्दा पहिला सोधेँ– युवा संघभित्रको अहिलेको समस्या साँच्चै समस्या हो कि होइन ?
सबैले समस्या छ भन्ने कुरा गरे ।

त्यसो भए यसको समाधान गर्नुपर्छ कि पर्दैन भनेर सोधेँ । समाधान गर्नुपर्छ भनेर सबैले भने ।

समस्या नै छ भने समाधान गर्न वातावरण सबैले बनाउनुपर्छ कि पर्दैन भनेर सोध्दा, सबैले पर्छ भने ।

यसो हो भने मैले जिम्मेवारी लिने कार्यक्रममा सहमतिको वातावरण निर्माण गर्न सबै एउटै मञ्चमा उपस्थित हुनुपर्छ भन्ने शर्त राखेपछि सबै उपस्थित हुन राजी भए ।

मेरो यही कुरालाई विश्वास गरेर युवासंघका दुवै पक्षबाट मंगलबार काठमाडौँको बानेश्वरमा एउटै मञ्चमा उभिएर समस्या समाधानको प्रतिबद्धता जाहेर गर्ने काम आज भएको छ । कार्यक्रममा पार्टीका महासचिव इश्वर पोखरेल, निवर्तमान अध्यक्षद्वय शेरबहादुर तामाङ र महेश बस्नेत, सहइन्चार्ज निरु पाल, वर्तमान अध्यक्ष सूर्य ढकाल र असन्तुष्ट समूहको तर्फबाट उपाध्यक्ष दिलु पन्तबाट उत्साहपूर्वक आफ्ना कुरा राख्ने काम भएको छ ।

आजको कार्यक्रमबाट युवा संघको एकताको औपचारिक प्रक्रिया आरम्भ भएको छ, यो समस्याको समाधान छिट्टै हुन्छ र यो इन्चार्जको नाताले मेरै नेतृत्वमा हुन्छ । आजको कार्यक्रमबाट एउटा सकारात्मक सन्देश पनि गएको छ । आन्तरिक रुपमा केही मतभिन्नता, तलमाथि भएका कुराहरुलाई सम्झाएर, बुझाएर समस्या समाधान हुन्छ ।

यसबीचमा मैले आवश्यकता बमोजिम पार्टीको नेतृत्वसँग पनि छलफल गरेँ । महासचिव ईश्वर पोखरेल र सचिव गोकर्ण विष्टसँग पनि छलफल गरेँ । मंगलबारको कार्यक्रममा पार्टी महासचिव आउनुभयो, सचिव गोकर्ण विष्ट पनि आउनुहुने कार्यक्रम थियो, उहाँ आउन भ्याउनुभएन । मोर्चा संगठनको प्रमुखका नाताले उहाँले पनि भूमिका खेल्नुभएको छ ।

मेरो पहलकदमीलाई सराहनीय ठानेर सबै एउटै मञ्चमा उपस्थित भइदिएकोमा सबैलाई धन्यवाद व्यक्त गर्न चाहन्छु । यो समस्याको समाधान अब धेरै पर जाँदैन् । केही दिनको अध्ययनपछि सहज र सौहार्दपूर्ण ढंगबाट यो समस्याको समाधान निकालिनेछ ।

(दैनिक नेपालसँगको कुराकानीमा आधारित)