२९ आश्विन २०८३, बिहिबार

सर्वोच्चमा प्रधानन्यायाधीश फेरिएको फेरिय्यै, भ्रष्टाचार मुद्दाको सुनुवाइ सरेको सर्‍यै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ चैत । सर्वोच्च अदालतमा तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सुशीला कार्कीदेखि हाल कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीसम्म पाँच जना फेरिए । तर, २०औं वर्षदेखि सर्वोच्चमा अल्झिएको भ्रष्टाचारको मुद्दा सुनुवाइमा कुनै प्रगति हुन सकेको छैन ।

प्रधानन्यायाधीशको सपथ खाएर सर्वोच्चमा पदबहाल गरेसँगै भ्रष्टाचार मुद्दालाई उच्च प्राथमिकता दिने प्रतिबद्धता सबैले जनाए । तर, व्यवहारमा भने तिनै प्रधानन्यायाधीशले भ्रष्टाचार मुद्दाको सुनुवाइ प्राथमिकतामा राखेनन् । बरु भ्रष्टाचार मुद्दाको सुनुवाइलाई पछाडि धकेल्ने काम मात्रै गरिरहेका छन् ।

पाँचै जनालाई भ्रष्टाचार मुद्दाको सुनुवाइ गर्ने फुर्सद भएन बरु सरकारसँग जाडिएको मुद्दामा बढी चासो दिएर सुनुवाइ गरे । सत्ता गठबन्धनको चासोमा रहेको मुद्दा सुनुवाइमा मात्रै अग्रसरता दिँदा अदालतमा प्रारम्भिक सुनुवाइपछि भ्रष्टाचार मुद्दाको सुनुवाइ नभएका धेरै उदाहरण छन् ।

लाउडा जहाज भाडामा ३८ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबीसहित दायर मुद्दाले १४ वर्षदेखि अन्तिम फैसला कुरिरहेको छ । यो मुद्दा २० वर्षअघि २०५८ जेठमा तत्कालीन पुनरावेदन अदालत पाटनमा दर्ता भएरपछि विशेष अदालतमा सरेको थियो । यो मुद्दा तत्कालीन पुनरावेदन अदालतबाट विशेष अदालत हुँदै १३ माघ २०६४ मा सर्वोच्च आइपुगेको हो ।

लाउडा विमान प्रकरणमा अख्तियारले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तारिणीदत्त चटौतलगायत १० जनाविरुद्ध पुनरावेदन अदालत पाटनमा मुद्दा दायर गरेको थियो । यो मुद्दामा २ सयवटा पेसी चढेर पनि सुनुवाइ हुन सकेको छैन । सर्वोच्च अदालतको संयुक्त इजलासमा दुई न्यायाधीशबीच राय बाझिएपछि पूर्ण इजलासमा पुगेको थियो ।

हाल सर्वोच्चमा ६ सयभन्दा बढी भ्रष्टाचारको मुद्दा विचाराधीन अवस्थामा छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाअभियोग लागेपछि कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले आफूसहितको इजलासमा केही हप्तादेखि भ्रष्टाचारको मुद्दा पेसीमा चढाए पनि प्राथमिकता दिएनन् । हाल सर्वोच्चमा वर्षौंदेखि रोकिएको पूर्वमन्त्री गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दादेखि, नेपाल विद्युत् प्राधिकरणको ट्रान्सफर्मरमा अनियमितता, विशाल बजारमा भएको भ्रष्टाचार मुद्दालगायत दर्जनांै मुद्दा सुुनुवाइको पर्खाइमा छन् ।

२०७४ कात्तिक २७ गते सर्वोच्चमा दर्ता भएको ट्रान्स्फर्मर घोटाला मुद्दामा अहिलेसम्म जम्मा एकपटक सुनुवाइ भएको छ । २०७४ फागुन ९ गते न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र बमकुमार श्रेष्ठको इजलासले सुनुवाइ गर्दै पक्षलाई झिकाउने आदेश गरेको थियो । त्यसपछि यो मुद्दा सर्वोच्चमा सुनुवाइ हुन सकेको छैन । चार वर्षदेखि यो मुद्दा उत्तिकै थन्किएर बसेको छ ।

गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दामा विशेष अदालतले २०६९ साउन १० मा उनलाई भ्रष्टाचारी ठहर गर्दै बिगो र जरिमानासमेत ४ करोड ३२ लाख जरिमाना असुल्ने र डेढ वर्ष कैद सजाय गर्ने फैसला सुनाएको थियो । जोशीको मुद्दा २०६९ सालदेखि सर्वोच्चमा विचाराधीन छ । जोशीको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन हुनुको एउटा मात्रै कारण हो नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक युवराज शर्माको भ्रष्टाचार मुद्दा ।

नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक युवराज शर्माको भ्रष्टाचार मुद्दामा आय गणना गलत गरेको भन्दै परेको पुनरावलोकन निवेदनको सुनुवाइ पूरा भएर पनि निर्णय आउन सकेन । शर्मा मुद्दा सुनुवाइ सकिएर अन्तिम चरणमा पुगेका बेला पूर्ण इजलासको न्यायाधीशमध्ये पुरुषोतम भण्डारीले १३ जेठ २०७८ मा अनिवार्य अवकाश पाएपछि प्रभावित बनेको हो, आजको राजधानी दैनिकमा निराजन पौडेलले समाचार लेखेका छन् ।