१४ कार्तिक २०८३, शनिबार

पञ्चेश्वर परियोजनाले नेपाल भारत सम्बन्ध प्रगाढ बनाउँछ : देउवा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sher-Bahadur-Deubaभीमदत्तनगर, ८ वैशाख । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पञ्चेश्वर परियोजना निर्माण भए नेपाल भारतबीचको सम्बन्ध अझ प्रगाड हुने बताउनुभएको छ ।

कञ्चनपुरको महेन्द्रनगरमा आज आयोजित ‘पञ्चेश्वर बहुउद्देश्यीय परियोजना केन्द्रित नेपाल भारत द्विपक्षीय आर्थिक सम्बन्ध र सीमा वारपार आदानप्रदान’ विषयको गोष्ठीलाई सम्बोधन गर्दै नेता देउवाले पञ्चेश्वर बने सुदूरपश्चिमको विकासको कायापलट हुनाका साथै समग्र देशको सिँचाइ व्यवस्था पनि राम्रो हुने बताउनुभयो ।

आफू प्रधानमन्त्री भएकाले बेला भएको महाकाली सन्धिअन्तर्गत पञ्चेश्वर परियोजना नेपालको हितमा रहेको बताउँदै देउवाले सबै मिलेर परियोजना निर्माणमा सहयोग गर्नुपर्ने औंल्याउनुभयो ।

उहाँले लामो समयपछि पञ्चेश्वर परियोजनाको काम दुई देशबीचको संयुक्त पहलमा अघि बढिरहेको बताउँदै कहीँकतैबाट अवरोध सिर्जना भए त्यसको सुदूरपश्चिमवासीले त्यसको प्रतिकार गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सिँचाइमन्त्री नारायणप्रकाश साउदले परियोजना निर्माण भए नेपाल–भारतबीच महत्वपूर्ण आर्थिक गतिविधि अघि बढ्ने बताउँदै परियोजना अगाडि बढाउन तीव्र अग्रसरता लिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत रणजित रायले सुदूरपश्चिमवासीले आफूलाई चाँडो पञ्चेश्वरको काम सुरु गर्न आग्रह गरेको बताउनुभयो ।

भारतीय कर्मचारी नियुक्त
भारतीय राजदूतले भारतीय पक्षबाट परियोजनाका लागि कर्मचारीसमेत नियुक्त गरिसकिएको जानकारी दिँदै नेपालले कर्मचारी नियुक्तिमा ढिलाइ गरेका कारण दु्रत गतिमा काम हुन नसकेको बताउनुभयो । पञ्चेश्वर प्राधिकरणको कार्यालय महेन्द्रनगरमा स्थापना हुने जानकारी दिनुभयो । भारतीय राजदूतले भन्नुभयो– “मैले सुदूरपश्चिममा जलस्रोतका साथै पर्यटनको ठूलो सम्भावना देखेको छु ।”

एक हप्तामा कर्मचारी नियुक्ति हुन्छः ऊर्जा सचिव

ऊर्जा मन्त्रालयका सचिव राजेन्द्रकिशोर क्षेत्रीले एक हप्ताभित्रै पञ्चेश्वर परियोजनाका लागि नेपाली कर्मचारी नियुक्त गरिने जानकारी दिनुभयो ।

सचिव क्षेत्रीले परियोजनाको प्रारुप तयार भइससकेको जानकारी दिनुभयो । परियोजना निर्माणका लागि नेपाली पक्षबाट ढिलाइ गर्न नहुने बताउँदै सचिव क्षेत्रीले कर्मचारी नियुक्तिपछि काम दु्रतगतिमा अगाडि बढ्ने बताउनुभयो ।

विसं २०५२ मा तत्कालीन प्रधानमन्त्री देउवाको पालामा महाकाली सन्धि भएको थियो । उक्त सन्धिमा पाँच हजार ६०० मेगावाट क्षमताको पञ्चेश्वर जलविद्युत् परियोजना बन्ने उल्लेख थियो । महाकाली सन्धिको छ महिनाभित्र पञ्चेश्वर परियोजना निर्माण गर्ने भनिए पनि दुई दशक बित्न लाग्दासमेत निर्माण अघि बढ्न सकेको छैन । छ महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन तयार गरी आठ वर्षभित्र निर्माण सम्पन्न गर्ने सहमति भएको थियो । हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा पञ्चेश्वर परियोजना अघि बढाउने सहमति भएको हो । रासस