
काठमाडौँ, ५ चैत । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीको जारी केन्द्रीय समितिको बैठकमा राखेको चुनावमा सहभागी हुने प्रस्तावको प्रशंसा गरेका छन्।
यसैबीच एमाले सचिव भट्टराईले भने विप्लवको प्रस्ताव वस्तुवादी र सही भएको प्रतिक्रिया दिएका हुन्। भट्टराईले निर्वाचनमा सहभागी हुने विप्लवको प्रस्ताव नेपाली धर्तीको मार्क्सवादी विचार भएको भन्दै तारिफ गरेका छन्।
एमाले सचिव भट्टराईले सामाजिक सञ्जाल मार्फत लेखेका छन्, ‘कमरेड नेत्रविक्रम चन्द विप्लवले आफ्नो पार्टीको बैठकमा आगामी निर्वाचनमा पार्टीले भाग लिने प्रस्ताव गर्नुभएछ। यो अत्यन्तै वस्तुवादी र सहि प्रस्ताव हो। नेपाली धर्तीको मार्क्सवादी विचार पनि हो।’ यस क्रममा उनले आफ्नै पार्टी एमालेको पनि प्रशंसा गरेका छन्।
‘करिब चालिसको दशकबाट आन्दोलनका वस्तुवादी स्वरूप अवलम्बन गर्दै जनताको बहुदलीय जनवाद हुँदै आजको नेकपा एमाले निर्माण भएको हो’, उनले लेखेका छन्, ‘बुर्जुवाहरूसँग प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्दै शान्तिपूर्ण र वैधानिक तरिकाबाट नेपाली समाजको प्रगतिशील रूपान्तरण नै आजको मुख्य कार्यदिशा हो।
अन्ततः सबै कम्युनिस्टहरूको बाटो यही हो र यही बाटोबाट समाजवादसम्म पुग्ने हो। यही प्रक्रियाबाट नै कम्युनिस्ट आन्दोलन एकीकृत र ध्रुवीकृत हुनेछ। नेपाली जनताको अपेक्षा पनि यही हो।’















प्रतिक्रिया