
धादिङ, ४ चैत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल दक्षिणपन्थी अवसरवादीको नमुना भएको बताएका छन् ।
उनले अवसरवाद कस्तो हुन्छ, थाहा पाउन प्रचण्ड र माधवको अनुहार देखाइदिए हुने बताए ।
उनले कम्युनिष्टको दुई तिहाइको सरकारलाई शेरबहादुरको पाउँमा चढाउनेहरूसँग अब एकता नहुने बताएका छन् ।
शुक्रवार धादिङ एमालेको कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले भने, ‘नेपालको कम्युनिष्टमा अवसरवाद कस्तो छ भन्ने थाहा पाउन प्रचण्ड र माधव नेपालको अनुहार देखाइदिए हुन्छ । उनीहरू दक्षिणपन्थी अवसरवादका नमुना हुन्,’ उनले भने, ‘यिनीहरूले कम्युनिष्टको दुई तिहाइलाई शेरबहादुर देउवाको पाउमा चढाइदिए ।’
प्रचण्ड–माधव समूह कसैको सहयोगबिना चुनाव जित्ने अवस्थामा नरहेकाले काँग्रेसले हिर्काए एमालेसँग मिल्ने भनेर घुर्क्याउन थालेको पोखरेलको भनाइ छ । पोखरेलले अगाडी भने, ‘अब प्रचण्ड–माधवसँग एमालेको एकता हुँदैन, कार्यकर्तालाई भने एमालेमा फर्काइने छ ।’
‘प्रचण्ड र माधव नेपालले कम्युनिष्ट सरकारको जनमत शेरबहादुर देउवाको पाउमा लगेर चढाउन खोजिएपछि प्रतिनिधिसभा विघटन गर्न खोजिएको हो’ उनले भने, तत्कालीन नेकपा कब्जा गर्न खोज्दा प्रचण्ड र माधव नेपाल एकै चोटि सडकमा पछारिए ।’
हिजो मिलेर चुनाव लड्दा जनताले दिएको जनमतमाथि घात गर्नेहरू नेतालाई अब एमाले स्विकार्न नसक्ने उनले बताए ।
‘नेताका टाउका मिलाएर केही नहुने रहेछ, अब कार्यकर्ताको मन मिलाउनु पर्छ ।’ उनले भने ।
उनले थपे, हिजो नेताका टाउका मिलाएर गयौँ,जनताले मत दिए । तर जनतालाई धोखा दिएर उनीहरू गए । फेरि तिनीहरूलाई लिएर गयौँ भने जनताले हामीलाई पत्याउँछन् ?’















प्रतिक्रिया