
काठमाडौं, २ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजमा महिला तथा बालिकाविरुद्ध हुने हिंसा उन्मुलन गर्न कानुनको प्रभावकारी कार्यान्वयनका साथै सामाजिक सचेतना बढाउन सबै सरोकारवाला पक्षले बलियो सहकार्य गर्नुपर्ने बताएकी छिन् ।
राष्ट्रपति भवन, महाराजगञ्जमा विभिन्न राष्ट्रिय राजनीतिक दलसँग आबद्ध सांसदहरू‚ राष्ट्रिय महिला आयोगका पदाधिकारी‚ कानुनविद‚ समाजशास्त्री‚ मनोविश्लेषक‚ सञ्चारकर्मी र नागरिक समाजका प्रतिनिधिसँग छलफल गर्न हिजो बुधबार आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले महिला तथा बालबालिकाविरुद्ध हुने हिंसा र बलात्कार जस्ता अपराधको रोकथाम र न्यूनीकरण गर्न राज्यका निकायहरूले समाजसँग प्रत्यक्ष हातेमालो गर्दै अगाडि बढ्नु पर्ने विषयमा जोड दिएकी हुन् ।
‘आपरधिक घटनाहरूका बारेमा सुन्दा र पढ्दा स्तब्ध हुने अवस्था छ,’ राष्ट्रपतिले भनिन्, ‘महिला र बालिकाहरूमाथिको हिंसा सैह्य हुँदैन‚ तत्काल कानुनी र उपचारात्मक विधिबाट घटनाहरूलाई सम्बोधन गर्दै हिंसाको जरो उखेल्न सबैको साथ आवश्यक पर्दछ ।’
हिंसाविरुद्ध जनचेतना जगाउन यसअघि राष्ट्रपति भवनमा नै भएका विभिन्न छलफलहरूको स्मरण गर्दै प्राप्त सुझावलाई नेपाल सरकारसमक्ष कार्यान्वयनका लागि प्रस्तुत गरिने राष्ट्रपतिको भनाइ रहेको थियो ।
घटना भइसकेपछि अपराधीलाई कानुनको दायरामा ल्याउन आवश्यक भएजस्तै घटना हुनै नदिन समाजमा जागरण फैलाउनका लागि विश्वदविद्यालय‚ विद्यालय‚ आमा समूहलगायत सामाजिक संस्थाहरूका बीचमा व्यापक छलफल चलाउन समेत राष्ट्रपतिले आह्वान गरेकी छिन् ।
महिला र नाबालिगमाथि हुने हिंसा तथा बलात्कार जस्ता जघन्य अपराध राष्ट्रको इज्जत र प्रतिष्ठासँग गाँसिएकोले समेत यस्ता घटनाको खास कारण पहिचान गरी न्यूनीकरणका लागि आवश्यक उपायहरूको खोजी गर्न राष्ट्रपतिको विशेष जोड रहेको थियो ।
कार्यक्रममा आफ्ना विचार राख्दै नेपाली कांग्रेसकी नेतृ तथा प्रतिनिधिसभा सदस्य पुष्पा भुसालले महिलाको अवस्था सुधार गर्न संविधान र कानुनमा व्यवस्था हुँदै गए पनि अझै करीब ४० वटा विभेदकारी कानुनहरू कायम रहेको बताउँदै संशोधन आवश्यक रहेको स्पष्ट पारिन् ।















प्रतिक्रिया