७ कार्तिक २०८३, शनिबार

भारतसँग आँखामा आँखा जुधाएर कुरा गर्ने एमाले मात्र होः वरिष्ठ उपाध्यक्ष पोखरेल

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा, ३० फागुन । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भारतसँग आँखामा आँखा जुधाएर कुरा गर्ने एमाले मात्र रहेको बताएका छन् ।

सोमबार नेकपा एमालेको धनुषा जिल्ला अधिवेशन उद्घाटन गर्दै पोखरेलले नेपालको इतिहासमै एमाले मात्रै भारतसँग आँखामा आँखा जुधाएर कुरा गर्ने पार्टी भएको बताए ।

अधिकांश दलका नेताहरु भारत सरकारको चाकडी गर्न टाउको निहुर्याएर आशीर्वाद थाप्ने गरेको बताउँदै माओवादीदेखि मधेशवादी दलसम्मले भारतको चाकडी गरेको पोखरेलको भनाइ थियो ।

मधेश आन्दोलनका बेलामा भारतले नाकाबन्दी लगाउँदा पनि नझुकी कुरा गरेर अन्ततः नाकाबन्दी खुलाएरै छोडेको पोखरेलले बताए ।

उनले आगामी निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउने बताए । उनले भने, ‘२०७४ सालको निर्वाचनमा एमालेसँग एक्लै बहुमत थिएन । माओवादी लगातयकासँगको वाम गठबन्धन पश्चात बहुमत बनेको हो र उपेन्द्र यादवको पार्टीको समर्थन पश्चात करिब दुई तिहाईको बहुमत भएको थियो ।’

अब हुने स्थानीय, प्रदेश र संघीय तीनै तहको निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने पोखरेलको भनाइ छ ।

त्यस्तै, माधव नेपालले आफ्नो प्रभाव घटेपछि पार्टी छोडेर गएको उनले टिप्पणी गरे । उनले भने, ‘म माधव नेपालसँग ४५ वर्षदेखि काम गर्दै आएको छु । उहाँको केही समस्या छैन, एउटामात्र समस्या छ, त्यो हो उहाँ एमालेलाई आफ्नो जिमदारी ठान्नुहुन्छ । उहाँको जिमदारीमा कोही आएर नेता भएपछि उहाँ रहनै सक्नुभएन ।’

त्यस्तै, एमालेका सचिव रघुवीर महासेठले एमालेलाई मधेस विरोधी भन्नेहरु एमालेको सरकारमा सहभागी भएर एमाले मधेश विरोधी नरहेको पुष्टि गरिसकेको बताए ।

उनले सुरुमा उपेन्द्र यादवको नेतृत्वमा र पछि राजेन्द्र महतोको नेतृत्वमा मधेशवादी दल एमालेको सरकारमा सहभागी भएको भन्दै एमाले मधेसविरोधी हो भन्नेहरूका लागि त्यो गतिलो जवाफ भएको बताए ।

एमालेको सातौँ जिल्ला अधिवेशनमा करिब ११ सय प्रतिनिधि सहभागी छन् । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । धनुषा एमाले अध्यक्षका लागि ४ जना आकांक्षी छन् । वर्तमान अध्यक्ष राजकिशोर यादव, वर्तमान सचिव तेजनारायण यादव, अजय यादव र लक्ष्मी महतोले अध्यक्ष पदका लागि दाबी गर्दै आएका छन् ।