
काठमाडौँ, २८ फागुन । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले देश बनाउने पार्टी भएको बताएका छन् ।
शनिबार वीरगञ्ज महानगरपालिकामा आयोजित एक समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
‘नेकपा एमाले भनेको देश बनाउने पार्टी हो । जनताका समस्या समाधान गर्ने पार्टी हो । जनताका दुःख कष्टहरुलाई सम्बोधन गर्ने र तिनीहरुलाई हटाउने पार्टी हो । यो कुनै मुद्दा उठाएर मुद्दा देखाएर मुद्दाका नाममा मुद्रा कमाउने पार्टी होइन’ उनले भने ।
उनले अफ्नो पालामा गरिएका कार्यहरुको पनि चर्चा गरे । ‘हामीले तराईको विकासका लागि हुलाकी राजमार्ग, उत्तर दक्षिण राजमार्गहरुलाई चौडा गर्ने काम गरेका छौं’ उनले भने, ‘हामीले महानगर, नगर र शहरहरुलाई चक्रपथद्वारा विकास गर्ने, शहरी विकास आयोजना हरेक सदमुकामहरु आयोजनाहरु राख्ने, स्मार्ट सिटीहरुको अवधारणाअनुसार स्मार्ट सिटी अघि बढाउने कामहरु गरेका थियौं ।’
त्यस्तै, उनले मेयर विजयकुमार सरावगीलाई एमाले प्रवेश गराउँदै उनले नागरिकता विधेयक आफूहरुले नै अघि बढाएको बताएका छन् ।
नागरिकता समस्या समाधान गर्न अध्यादेश ल्याए पनि अहिलेको सरकारले रोकेको उनले उल्लेख गरे ।
‘नागरिकताका समस्या हामीले संसदबाट हुन नसकेपछि संसद नचलेका बेला अध्यादेश ल्याएर पनि नागरिकका सन्तानले वंशजका आधारमा नागरिकता प्राप्त गर्नुपर्छ भनेर हामीले कानून बनायौँ तर अहिलेको गठबन्धनले त्यसलाई कायम रहन दिएन । फेरि हामी त्यसलाई अघि बढाउनेछौँ’ उनले भने ।
अध्यक्ष ओलीले नेकपा एमाले मुद्दा उठाएर मुद्रा कमाउने पार्टी नभई जनताका दुःख र समस्यालाई हटाउने पार्टी भएको स्पष्ट पारे ।












प्रतिक्रिया