१४ कार्तिक २०८३, शनिबार

अब नयाँ जनादेशपछि तीनै अंगमा जनताको विश्वास बढ्छः महासचिव पोखरेल

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ फागुन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राज्यका तीन वटै अंगप्रति जनताका विश्वास गुमेको बताएका छन् ।

पोखरेलले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापित गरेका कारण राज्यका तीनवटै अंगले काम गर्न नसकेको टिप्पणी बताएका हुन् ।

शनिबार एक कार्यक्रममा बोल्दै उनले संसद पुनर्स्थापना भएपछि व्यवस्थापिका, न्यायपालिका र कार्यपालिका कुनै अंगले पनि काम गर्न नसकेको उल्लेख गरेका हुन् ।

‘विघटित प्रतिनिधिसभा पुनर्स्थापित गरेपछिको अवस्था हेर्नुहोस त ? अदालत अदालत जस्तो छैन । सरकार सरकार जस्तो छैन । संसद संसद जस्तो छैन’ उनले थपे, ‘राज्यका तीन अंगमाथि जनताको विश्वास टुटेको छ । यो लोकतन्त्रमाथिकै संकट हो ।’

नयाँ जनादेशपछि मात्रै ति अंगमा जनताको विश्वास बढ्ने उनले बताए । ‘परमादेशी सरकार छ । त्यसकारण उसले जनादेश अनुसार राज्यका अंगमाथि विश्वास जगाउन सक्दैन, उसको उद्देश्य पनि त्यो रहेन । अब नयाँ जनादेशपछि तीनै अंगमा जनताको विश्वास बढ्छ’ उनले भने ।

एमाले २०७४ भन्दा बलियो

त्यस्तै, महासचिव पोखरेलले एमाले २०७४ सालमा भन्दा थप बलियो भएको र आगामी चुनावमा २०७४ मा भन्दा बढी स्थानीय तहहरु जित्ने समेत बताए ।

‘आउँदो स्थानीय चुनावले हाम्रो अवस्था देखाउँछ । हामी कमजोर छैनौं, २०७४ को भन्दा बलियो रुपमा आउँदैछौं’ उनले भने ।

पार्टी नेतृत्वको सरकारले सडक बनाएको, तुइन विस्थापन गरेको र राष्ट्रियतामा बलियोसंग काम गरेको भन्दै पोखरेलले बताए ।

नेपालमा लोडसेडिङ अन्त्य पनि एमाले नेतृत्वको सरकारले गरेको उनको दाबी छ । ‘तर, अहिले प्राधिकरणको एउटा कर्मचारीलाई लोडसेडिङ अन्त्यको जस दिइँदैछ’ उनले भने ।

त्यस्तै, उनले नेकपा विभाजित हुने कारण पनि प्रचण्ड र माधव नेपाल रहेको पनि बताए ।

उनले भने, ‘नेकपाको विभाजन केपी ओलीले दुईवटा मध्ये एउटा नछोडेको जस्तो भएको छ । के एक पद एक व्यक्ति प्रचण्ड र माधव नेपालले अहिले आफ्नो पार्टीमा लागू गर्नुएको छ ? छैन । त्यसकारण उहाँले केवल विभाजनका लागि यो विषय नेकपामा उठाएको उहाँहरुले नै प्रमाणित गर्नुभएको छ ।’

त्यस्तै, उनले एमसीसीका कारण पनि नेकपा विभाजित भएको बताए । उनले भने, ‘हामीले अगाडि बढाऔं भन्दा सभामुख तयार भएनन् । हामीले सभामुखले रोक्न मिल्दैन भन्यौं । तर, उहाँहरुले चर्को रुपमा विरोध गर्नुभयो ।’