१४ कार्तिक २०८३, शनिबार

मिराको शालिक अगाडि हरिवंश आचार्य भक्कानिँदा…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hari-bansa-ramila-center

– मोतीराम तिमल्सिना

काभ्रे, ८ वैशाख । दिवंगत पत्नी मिरा आचार्यको शालिक अगाडि उभिँदा हरिवंश आचार्य एकटकले हेरेको हेर्‍यै भए । कार्यक्रमस्थलको माहौलमा केही सन्नाटा छायो । ‘रमिला र म मात्रै होइन, मिराका सम्पूर्ण आफन्तको घाउमा उनको प्रतिमाले मल्हम लगाएको छ । मेरो यो जन्मस्थानमा २०४६ सालमा जग राखेको घर पनि अब मिराको प्रतिमासँगै निर्माण गर्नेछु ।’– कलाकार हरिबंश आचार्यले दिवंगत पत्नी मिरा आचार्यको सम्झनामा निर्माण गरिएको प्रतिमाको उद्घाटन कार्यक्रममा सम्हालिँदै भने ।

hari-bansha-ramila

चार वर्ष अघि अर्थात २०६७ बैशाख ७ गते मिराले संसार छाडिन् । उनै मिराले संसार छाडेको घाउमा मल्हम लगाउन हरिवंशको पुख्यौली थलोमा प्रतिमा स्थापना गरिएको हो । काभ्रेपलाञ्चोक जिल्लाको शंखु पार्टीचौर गाविस ३ चैनपुरस्थित हरिवंशको जन्मघरमा मिराकै सम्झनाका लागि हरिवंशले ‘मिरा सेन्टर’को शुभारम्भ गरेका हुन् । त्यही सेन्टरको गेटमै मिराको प्रतिमा राखिएको छ । हरिवंशका साथसाथै नेपालका लागि जापानका राजदुत मासासी ओगावा, बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, चाइल्डरिच नेपालका निर्देशक डा. छिरिङ लामाले संयुक्त रुपमा प्रतिमा र मिरा सेन्टरको उद्घाटन गरे । मिराको देहवसानपछि हरिवंशको जीवन साथी बनेकी रमिलाले मिराका सपना ‘मिरा सेन्टर’मार्फत पूरा गर्न विभिन्न क्षेत्रबाट सहयोग भएको बताइन् । मिराले संसार छाडेको चार बर्ष पुगेको दिन सेन्टरको सुभारम्भ गरिएको हो ।

hari-bansa-ramila-center1

‘भौतिक रुपमा हामीसँग मिरा नरहेपनि हामीहरुको आत्मामा बाँचिरहेकी छिन्, मिरा सेन्टर उनको आत्मिक अस्तित्वको प्रतिविम्व हो’– हरिबंशले थपे–‘बालबालिकाको, अभिभावकको समुदायको प्रेरणाको अमर श्रोत बनाएको छ ।’

मिरा सेन्टर निर्माणका लागि हरिवंशले आफ्नो नाममा भएको २ रोपनी जग्गा दान गरेका छन् । आचार्यले ‘चिना हराएको’ जन्मघर यसअघि नै मोहियानीबापत कर्णबहादुर न्यौपानेका सन्तानलाई दिइसकेका छन् । बाँकी जग्गा आफ्नै नाता भित्रका केशव आचार्यले रेखदेख गर्दै आएका छन् ।

hari-bansa-ramila-center2

‘२०४६ सालमा घर निर्माणका लागि फाउण्डेशनको काम सुरु गरेको थिएँ, मुलुकमा आन्दोलन सुरु भयो, घर निर्माणको काम अगाडि बढाउन सकिन, आउँदो वर्षबाट त्यही जगलाई उठाउने छु’– आचार्यले भने– ‘त्यो जगमा मिराको सम्वन्ध जोडिएको छ, मिरा सेन्टरसँगै जोडिएको घरले मिराको सम्झनालाई झनै बलियो बनाउने छ ।’

समुदायमा आधारित नमुना बालबालिका केन्द्रका रुपमा अगाडि बडाउने योजना बनाएको मिरा सेन्टरमा पाँच वर्ष मूनिका बालबालिकाहरुलाइै सेवा प्रदान गरिनेछ । त्यो उमेर समूहका बालबालिकाहरुको समग्र विकासका लागि आवश्यक अनुकुल, सुरक्षित अनि उत्प्रेरक वातावरण सुनिश्चित गर्न बालबालिकाहरु केन्द्रित स्याहारसुसार, पठनपाठन र समुदाय लक्षित कार्यक्रमहरु मिरा सेन्टरले प्रदान गर्नेछ ।

चाइल्डरिच नेपालको ब्यवस्थापनमा संचालन हुने मिरा सेन्टरमा केन्द्र वरपर रहेका पाँच गाविसमा शैक्षिक अनि समुुदायमा आधारित स्वास्थ्य सेवा पु¥याउने लक्ष्य राखिएको रणनीति तथा संचार ब्यवस्थापक सोफिया पाण्डेले बताइन् । तीन वर्षको अवधिमा केन्द्रले प्रदान गरेका सेवाहरुले ९० बालबालिका र १ सय ८० बाबु आमा/हेरालुहरु प्रत्यक्ष लाभान्वित हुनेछन् । अप्रत्यक्ष रुपमा शंखुपार्टीचौर र छिमेकी गाविसका २७ हजार ३ सय ५८ सर्वसाधारण लाभान्वित हुनेछन् ।

केन्द्रका लागि जापानी दुतावासले ८५ लाख सहयोग गरेको छ भने अन्य विभिन्न संघ संस्थाले समेत सहयोग गरी एक तल्ला भवनका लागि १ करोड २० लाख खर्च भएको छ । मह संचार, हरिवंश आचार्य तथा चाइल्डरिचक इन्टरनेशनलसँग सम्वद्ध विग बोल्डका स्वयंसेवकहरुले श्रमदान गरेर मिरा सेन्टर निर्माण भएको संयोजक पाण्डेले बताइन् ।

मिराको निधन भएपछि हरिबंशले लेखेको ‘चिना हराएको मान्छे’ पुस्तक बिक्रीबाट मिरा सेन्टरमा १० लाख रुपैंया प्रदान गरिएको थियो ।