पोखरा, ८ वैशाख । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले जातीय संघीयताले देशमा द्वन्द्व स्थिती सिर्जना हुने बताउनुभएको छ ।
मंगलबार नेकपा एमाले गण्डकी अञ्चल समन्वय कमिटीको दोस्रो बैठकमा बोल्दै ज्ञवालीले पहिचान सहितको संघीयताको पक्षमा एमाले भएपनि जातीय संघीयतालाई कदापी स्वीकार गर्न नसकिने बताउनुभयो ।
उहाँले भन्नुभयो–‘जातीय संघीयताले देश द्वन्द्वमा जान्छ, तर एमाले त्यस्तो कदापी हुन दिन्न ।’ एमालेलाई मुलुकको प्रमुख शक्ति बनाउन सबै मिलेर पार्टीलाई एकताबद्ध र क्रियाशिल बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले त्यसका लागि नेता तथा कार्यकर्ताको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
ज्ञवालीले गण्डकी अञ्चलमा कुनै पनि कार्यकर्तालाई कामविहीन नबनाउन र सबैलाई उचित जिम्मेवारी दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा स्थायी समिति सदस्य तथा निर्वाचन आयोगका अध्यक्ष सोमनाथ अधिकारी प्यासीले संविधान निर्माणको लागि एमालेले अगुवाई गर्ने बताउनुभयो ।
बैठकले आगामी तिन महिनाको लागि कार्ययोजना निर्माण गर्नुका साथै सात ओटा विभागको प्रमुख तोकेको छ ।
मोर्चा संगठन विभाग प्रमुखमा जगत विक, संगठन विभाग प्रमुखमा मायानाथ अधिकारी, स्कुल विभाग प्रमुखमा पद्मा अर्याल, आर्थिक विभाग प्रमुखमा मान बहादुर जिसी, प्रचार विभाग प्रमुखमा रामशरण बस्नेत, स्थानिय निकाय विभाग प्रमुखमा प्रतापलाल श्रेष्ठ र सहकारी विभाग प्रमुखमा सिता सुन्दास रहेका छन् ।












प्रतिक्रिया