
काठमाडौं, २४ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान संविधानले नेपाली महिलाहरूलाई धेरै हदसम्म अधिकारसम्पन्न बनाएको बताएका छन् ।
११२औं अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) का अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले महिलाहरूको बलिदानीपूर्ण संघर्षका कारण पछिल्लो चरणमा महान् जनयुद्धमा बनेका साहास र बलिदानी कीर्तिमान नेपालमा मात्र नभई विश्वभर चर्चा र प्रशंसाका विषय बनेको पनि बताएका छन् ।
‘आजको दिन विश्वभरका महिला दिदीबहिनीहरुको मात्र नभई सिंगो मानव समुदायकै लागि एउटा ऐतिहासिक दिन हो । महिलाहरुको हक र अधिकारका साथै आर्थिक, सामाजिक, राजनीतिक तथा साँस्कृतिक विकासका लागि आवाज बुलन्द गरिएको संघर्षको दिन हो,’ शुभकामना सन्देशमा भनिएको छ ।
‘मानव समुदायका सबै सामाजिक र राजनैतिक परिवर्तन र संघर्षमा महिला समुदायको सक्रिय सहभागिता र भूमिकाले नै विश्व सभ्यता यहाँसम्म आइपुगेको हो,’ उनले भनेका छन्, ‘नेपाली सामाजिक र राजनैतिक रुपान्तरणका लागि नेपाली महिलाहरुले युगौंदेखि त्याग, तपस्या र बलिदानका बेग्लै कीर्तिमान कायम गरेका छन् । महिला दिदीबहिनीहरुको बलिदानीपूर्ण संघर्षका कारण पछिल्लो चरणमा महान् जनयुद्धमा बनेका साहास र बलिदानी कीर्तिमान नेपालमा मात्र नभई विश्वभर चर्चा र प्रशंसाका विषय बनेका छन् ।’
वर्तमान संविधानले महिलाहरुलाई धेरै हदसम्म अधिकार सम्पन्न बनाएको बताउँदै प्रचण्डले सन्देशमा भनेका छन्, ‘२१औं शताब्दीमा पनि महिलामाथि हुने सबैप्रकारका हिंसा र उत्पीडनलाई निर्मूल गरी समानता र न्यायका लागि संवैधानिक, कानूनी र व्यावहारिकरुपमा प्राप्त अधिकारको पूर्ण कार्यान्वयन तथा थप अधिकारका लागि संघर्षरत रहन सम्पूर्ण महिला दिदीबहिनीहरूमा हार्दिक अपील गर्दछु ।’















प्रतिक्रिया