२९ आश्विन २०८३, बिहिबार

रुस–युक्रेन युद्ध : ५६२ जना नेपाली सुरक्षित स्थानमा पुगे

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल फोटो

लन्डन, २४ फागुन । रुस–युक्रेन युद्धबाट प्रभावित ५६२ जना नेपाली सुरक्षित स्थानमा पुगेका छन् ।

गैरआवासीय नेपाली संघ, रुस–युक्रेन युद्ध प्रभावित नेपालीको सहयोग एवम् उद्दार उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माका अनुसार युक्रेनबाट नेपालीहरु सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेका छन् ।

शर्माका अनुसार हालसम्म पोल्याण्डमा ४४३ जना, स्लोभाकिया ७८ जना, रोमानियामा २४, हंगेरीमा १३ जना, र ४ माल्दावा पुगेका हुन् ।

युक्रेन युद्धबाट बिस्थापित भइ विभिन्न देशका सीमाबाट निस्किएका नेपालीहरू सुरक्षित बसोबास र भविष्यका लागि तेस्रो मुलुकतिर लागेका हुन् ।

ती मध्ये करिब ४ दर्जन नेपाली गैरआवासीय नेपाली संघ पोर्चुगलको सम्पर्कमा पुगेको संघका महासचिव राजकुमार थापाले जनाकारी दिए । थापाका अनुसार ती नेपालीहरुलाई एनआरएन पोर्चुगलले आवश्यक कानुनी तथा व्यावहारिक विषयमा सुझाव र सहयोग प्रदान गर्दै आएको छ ।

यसैबीच युक्रेनको खारकिभ शहरमा अलपत्र परेका कमल पोखरेलसहित ६ जनाको समूह सुरक्षित रुपमा पोल्याण्डको सीमा क्षेत्रमा पुगेको उच्चस्तरीय समितिका सदस्यसचिव डा. चिरञ्जीवी खड्काले जानकारी दिए ।

यसअघि उद्धार र राहत कार्यमा समन्वय गर्न जर्मनीस्थित नेपाली राजदूत रामकाजी खड्काको अध्यक्षतामा र गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीको संयोजत्वमा गठित एक उच्चस्तरीय समिति सकृय रहेको छ । युद्धबाट विस्थापित नेपालीहरुको उद्धारका लागि राजदुत खड्का, एनआरएनए अध्यक्ष कुमार पन्त सीमा क्षेत्रमा आफै खटिएका थिए ।

युक्रेनबाट विस्थापितहरुलाई नेपाली समुदायकै सहयोगमा विभिन्न स्थानमा खाना, बस्न र सामान्य उपचारको बन्दोबस्त समेत गरिएको बर्लिनस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले युक्रेनबाट निस्केका नेपाली नागरिकहरुलाई भारत सरकारबाट संचालित उडान मार्फत नेपाल पठाउन आवश्यक पहल समेत भइरहेको जनाएको छ ।

उद्धार समितिले युक्रेनबाट विस्थापित भएका नेपालीहरुको नियमित रुपमा तथ्यांक संकलन गर्दै आएको छ ।