
काठमाडौं, २२ फागुन । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमाले अग्रजहरूको रगत, पसिना, त्याग र बलिदानले बनेको पार्टी भएकाले सदैब इमान्दार भइ जनताको हितमा समर्पित रहिरने बताएका छन् ।
एमाले जनताका लागि काम गर्ने पार्टी भएकाले स्थानीय चुनावमा प्रष्ट एजेन्डा लिएर अगाडि बढनुपर्ने बताउँदै उनले पछिल्लो पटक सरकार र सत्ताधारी दलहरूले अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा जनतामा निकै भ्रम फैलाएको आरोप समेत लगाएका छन् ।
नेकपा एमालेको निर्वाचन क्षेत्रीय समन्वय कमिटी काठमाडौं क्षेत्र नं ५ ले हिजो शनिबार आयोजना गरेको आगामी निर्वाचनलक्षित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले जनतालाई वास्तविक र सत्य सूचना दिन आवश्यक रहेको बताएका छन् ।

कार्यक्रममा केन्द्रीय कमिटी सदस्य तथा काठमाडौंका सह–इञ्चार्ज नायारण सिलवाल, काठमाडौं जिल्ला कमिटी अध्यक्ष तथा वाग्मती प्रदेशका सांसद दिपक निरौला र बाग्मती प्रदेश कमिटीका सह–सचिव रतना गुरुङलगायतले प्रशिक्षण दिएका थिए ।
क्षेत्रीय संयोजक ध्रुब थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा सह–सयोजक राधेश्याम श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सञ्चालन क्षेत्र न ५ (ख)का संयोजक ध्रुबराज पाण्डेले गरेका थिए ।
काठमाडौं क्षेत्र नं ५ स्तरीय प्रशिक्षण कार्यक्रममा जिल्ला कमिटीका सदस्यहरू, सबै नगर कमिटीका सदस्यहरू, शाखाका पदाधिकारीहरूको उपस्थित थियो ।















प्रतिक्रिया