
काठमाडौं, २२ फागुन । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले दीगो र स्थिर नीतिको अभावमा मुलुक औद्योगिक विकासतर्फ अगाडि बढ्न नसकेको बताएका छन् ।
‘मुलुकमा औद्योगिक विकास तथा आन्तरिक रोजगारी सृजनाका लागि दीगो र स्थिर नीति जरुरी हुन्छ । हामीकहाँ छोटो छोटो समयमा नीतिहरू परिवर्तन भइरहँदा दीगो औद्योगिक विकासको सट्टामा छोटो समयमा नाफा हुने खालका ट्रेडिङ व्यवसायमा व्यवसायीहरू लाग्ने गरेको देखिन्छ । यसले राज्य र व्यवसायी दुवैका लागि फाइदा पुगेको छैन,’ उनले भने ।
हिजो शनिबार शिद्धार्थ उद्योग वाणिज्य संघको ६३औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले सरकारले नयाँ नीति तथा कानुन बनाउँदा सम्बन्धित सरोकारवालाहरूसँग गहन छलफल गर्न आवश्यक रहेको बताएका हुन् ।
‘अहिले सरसर्ति हेर्ने हो भने कुनै पनि व्यवसायमा नीतिगत स्थिरताको अभाव रहेको देखिन्छ । यसले गर्दा धेरै व्यवसायी साथीहरू आतंकित भएको जस्तो पनि देखिन्छ । केही समय पहिले नेपाल उद्योग वाणिज्य महासंघले अर्थशास्त्रीहरूलाई राखेर एउटा छलफल कार्यक्रम गरेको थियो । त्यहाँ यो अस्थिर नीतिको कारण अर्थतन्त्रमा विभिन्न समस्या देखिएको कुरा आएका थिए,’ ढकालले भने । अहिले बजारमा देखिएको तरलताको अभाव वा आर्थिक गतिविधिमा देखिएका मन्दीहरू सबै अस्थिर नीतिसँग जोडिएको उनको भनाइ छ ।
पछिल्लो समय आम व्यवसायीमा भय र त्रासको वातावरण सृजना भएको बताउँदै उनले सरकारी राजश्व संकलनमा निजी क्षेत्रको ठूलो भूमिका रहेको दाबी गरेका छन् । नयाँ नीतिको प्रभावकारी कार्यान्वयनका लागि पनि नीति निर्माणमा निजी क्षेत्र तथा सम्बन्धित सरोकारवालाहरूसँग छलफल गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
‘सरकारी राजश्वमा निजी क्षेत्रको योगदान ७० प्रतिशतभन्दा बढी रहेको छ । यसले सरकारले गर्ने विकास तथा साधारण खर्च धान्ने गरेको छ । यो धेरै नै महत्वपूर्ण छ । कतिपय नीतिहरू सम्बन्धित सरोकारवालाहरूसँग छलफल नै नगरी आउने गरेकाले यसले आम पब्लिकलाई पनि फाइदा पुगेको देखिदैन, व्यवसायीहरूको पनि अपनत्व हुदैन र सरकारले पनि चाहेजस्तो प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकेको अवस्था रहेको छ,’ उनले भने ।
त्यसैले नयाँ बन्ने नीतिको दीगोपन तथा स्थिरताका लागि पनि निजी क्षेत्र र सम्बन्धित सरोकारवालहरूसँग गहन छलफल गर्नुपर्ने उनले बताएका छन् ।















प्रतिक्रिया