
रुस, २० फागुन । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा सैन्य अतिक्रमणको बचाउ गर्दै योजनाअनुसार अगाडि बढिरहेको बताएका छन् ।
रुस र युक्रेनका नागरिक एउटै भएको तर्क गर्दै उनले पश्चिमाहरूले युक्रेनलाई रुसविरोधी बनाउने प्रयास गरेको आरोप समेत लगाए । यसअघि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिनलाई एक्लाएक्लै वार्तामा बस्न आह्वान गरेका थिए ।
मानवीय सङ्कट गहिरिँदै गर्दा जेलेन्स्कीले संवादले मात्रै युद्ध अन्त्य गराउन सक्ने बताएका छन् । यसैबीच, युद्धविरामसम्बन्धी वार्तामा युक्रेनी र रुसी वार्ताकारहरूले न्यून प्रगति हासिल गरेका छन् ।
सर्वसाधारणका निम्ति सुरक्षित निकासको आवश्यकतामा दुवै पक्ष सहमत भएका छन् । त्यो नतिजा निस्के पनि किएभले अपेक्षा गरेअनुरूप परिणाम आउन नसकेको युक्रेनका एक वरिष्ठ अधिकारीले बताए ।
पुटिनले युक्रेनमाथि गरिएको अतिक्रमणलाई सही ठहर्याएकै बेला वार्ताको नतिजाबारे विवरण सार्वजनिक भएको हो । अज्ञात स्थलमा भएको वार्तामा रुसी र युक्रेनी प्रतिनिधिहरू सम्भावित युद्धविरामबारे सहमत भएका छन् ।
तर मानिसहरूलाई सुरक्षित ठाउँमा जान मार्ग तय भएपछि र उद्धारको समयसम्मका लागि युद्धविराम हुनसक्ने युक्रेनी राष्ट्रपतिका सहयोगी मिखाइलो पोदोलियाकले बताए । ‘धेरै दुःखका साथ भन्नुपर्दा वार्ताबाट हामीले अपेक्षित नतिजा पाएनौँ,’ उनले थपे ।
जारी द्वन्द्वबीच रुस र युक्रेनले एक साताभित्र दोस्रो पटक वार्ता गरेका छन् । तर, युक्रेनी शहरहरूमाथि रुसको भीषण बमबारीबीच मानवीय सङ्कट गहिरिँदै गएको छ ।
पुटिनले आफ्ना फ्रेन्च समकक्षी एमानुएल माक्रोँसँग ९० मिनेट लामो टेलिफोन वार्ता गरेका छन् । बीबीसीबाट















प्रतिक्रिया