
काठमाडौँ, १५ फागुन । नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले एमसीसी सम्झौता पारित भए नेपाल उपेनिवेशीकरणको बाटोमा जाने बताएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद रावलले एमसीसी सम्झौता अनुमोदन भए नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र स्वाधीनतामा प्रहार हुने तथ्य पेश गरे ।
उनले सम्झौताका केही बुँदाहरु आपत्तिजनक रहेको बताए । ‘राजनीतिक दलका केही नेताहरुको सत्ता स्वार्थ र गुटबन्दीका लागि स्वाधीनता विरोधी सम्झौता पारित गरिनु राष्ट्रहित विपरीत हुनेछ’, रावलले भने ।
पार्टीका अन्य सांसदहरु नाराबाजी गरिरहेका बेला रावलले रोष्टममा पुगेर आफ्नो धारणा राखेका हुन् ।
त्यस्तै, एमसीसीविरुद्ध भइरहेको प्रदर्शनमा सरकारले गरेको दमनको कडा विरोध समेत गरे । ‘सत्ता र कुर्सीका लागि राष्ट्रिय हित विपरीत काम गर्नु सर्वथा गलत छ । व्याख्यात्मक टिप्पणी र संकल्प प्रस्तावको कुरा जनता झुक्याउने काम मात्रै हो’, रावलले भने । उनले एमसीसीमा समर्थन गर्नेहरु राष्ट्रिय गद्दार ठहर्ने दावी गरे ।
त्यस्तै, उनले एमसीसीको विपक्षमा मतदान गर्न सांसदहरुलाई आग्रह समेत गरे ।












प्रतिक्रिया