
तम्घास, १० फागुन । सरकारका पूर्व मुख्यसचिव लीलामणी पौडेलले गुल्मीका विभिन्न पालिकामा स्वास्थ्य सामग्री वितरण गर्नुभएको छ। उहाँले विद्यालय, स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयम्सेविका लगायतलाई कोभिड–१९ विरुद्ध माक्स, अक्सिजन कन्सनटेटरलगायतका स्वास्थ्य सामग्री वितरण गर्नुभएको हो ।
यसक्रममा उहाँले आफ्नो जन्मस्थल रुरुक्षेत्र गाउँपालिकाका सबै माध्यमिक विद्यालयका लागि ती सामग्री वितरण गर्नुभयो । यही फागुन १ गतेदेखि ४ गतेसम्म विद्यालय एवं त्यसभन्दा पछाडी स्वास्थ्य चौकी र महिला स्वास्थ्य स्यम्सेविकालाई स्वास्थ्य सामग्री वितरण गर्नुभएको हो ।
गाउँपालिकाका आठ विद्यालयका लागि दुई÷दुई हजारका दरले माक्स र छ वटा स्वास्थ्य संस्थाका लागि एक÷एकवटा अक्सिजन कन्सनटेटर उहाँले प्रदान गर्नुभयो । त्यस्तै मुसिकोटको बडागाउँ स्वास्थ्य चौकीको लागि एक थान अक्सिजन कन्सनटेटर र छत्रकोटको आत्मबोध मावि र जनता माविको लागि दुई÷दुई हजार माक्स उपलब्ध गराइएको थियो ।
त्यस्तै रेसुङ्गा बुहुमुखी क्याम्पस, मुसिकोट र मदानेका विभिन्न विद्यालयको लागि पनि १० हजार माक्स वितरण गरिने जनाइएको छ ।
पूर्व मुख्यसचिव पौडेलले यसभन्दा अगाडि पनि जिल्लाका विभिन्न संस्थाको लागि स्वास्थ्य सामग्री वितरण गर्नुभएको थियो । चीनको छहार केन्द्रमार्फत नेपाललाई प्राप्त १० लाख माक्समध्ये उहाँले एक लाख माक्स जिल्लाको लागि ल्याउनुभएको जनाइएको छ ।–रासस















प्रतिक्रिया