
काठमाडौं, ९ फागुन । चितवन राष्ट्रिय निकुञ्जभित्र घुँगी खोजेकै निहुँमा राप्ती नगरपालिका– २ मिलनटोलका राजकुमार चेपाङलाई कुटपिट गर्ने सैनिकलाई उच्च अदालत हेटौँडाले जन्मकैदको फैसला सुनाएको छ ।
कुटपिटमा संलग्न हुद्दा चिरणकुमार बुढालाई जिल्ला अदालत चितवनले नौ महिना कैद र नौ हजार जरिवाना तिराउन गरेको फैसला उल्ट्याउँदै उच्चले जन्मकैदको फैसला दिएको हो ।
१ साउन ०७७ मा मिलनटोलका २७ वर्षीय राजकुमारसहित सातजना घुँगी खोज्न निकुञ्जभित्र गएका थिए । सातमध्ये दुई महिलालाई केही नगरे पनि पाँच पुरुषलाई निकुञ्ज सुरक्षार्थ खटिएका चिरणकुमारसहितको सैनिक टोलीले ढेडु खोलाको बगरमा सुताएर दिनभर कुटपिट गरेको थियो । त्यसपछि सबैलाई क्याम्पमा लगेर मुढा बोकाउने सजायपछि छाडेको थियो ।निर्घात कुटपिटबाट गम्भीर घाइते भएका राजकुमारलाई अन्य साथीले बोकेर घर पुर्याएका थिए । अस्पतालमा उपचारका क्रममा ८ साउनमा उनको मृत्यु भएको थियो ।
जिल्ला अदालत चितवनले २८ असार ०७८ मा हुद्दा चिरणकुमारलाई नौ महिना कैद र नौ हजार जरिवाना मात्रै हुने फैसला गरेपछि राजकुमारका बुबा विष्णुलाल चेपाङले जन्मकैदको माग गर्दै उच्च अदालत हेटौँडामा पुनरावेदन गरेका थिए । आइतबार न्यायाधीश चण्डीराज ढकाल र नागेन्द्र कर्णको संयुक्त इजलासले चिरणकुमारलाई जन्मकैदको फैसला गरेको उच्च अदालतका सूचना अधिकारी केशवराज कौशिकले बताए ।
‘सैनिकको कुटपिटकै कारण राजकुमार चेपाङको मृत्यु भएको पुष्टि भएको छ । सोही आधारमा उच्चले कुटपिटमा संलग्न चिरणकुमारविरुद्ध जन्मकैद हुने फैसला गरेको छ,’ उनले भने ।मुद्दामा पीडित पक्षबाट अधिवक्ता पुष्प पौडेलले निःशुल्क बहस गरेका थिए । मुद्दाको फैसलापछि अधिवक्ता पौडेलले न्यायालयबाट वास्तविक पीडितले न्याय पाएको बताए ।
उनले भने,‘सैनिकको कुटपिटका कारण एक निर्दोषले अनाहकमा ज्यान गुमाउनुपर्यो । तर, जिल्ला अदालत चितवनले घटनामा संलग्नविरुद्ध नौ महिना कैद र नौ हजार जरिवाना मात्रै हुने भन्यो । घटना वास्तवमै गम्भीर थियो । त्यसविरुद्ध मृतकको बुबा उच्च अदालत जाँदै गरेको मैले थाहा पाएँ । उहाँलाई कानुनी सहायता दिने पक्षमा म उभिएँ । बहस भयो । अदालतबाट फैसला पनि आयो । पीडितले न्याय पाए ।’
छोराको मृत्युपछि राजकुमारका बुबा विष्णुलालले कुटपिटमा संलग्न सैनिक चिरणकुमारविरुद्ध २५ भदौ ०७७ मा जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी जाहेरी दिएका थिए । प्रहरीले चिरणकुमारलाई ४ असोजमा पक्राउ गर्यो । अनुसन्धानका क्रममा प्रहरीले पोलिग्राफ परीक्षण पनि गर्यो । चिरणकुमारले झुटो बयान दिएको खुलेको थियो ।
११ साउनमा शव काठमाडौंको त्रिवि शिक्षण अस्पताल ल्याएर पोस्टमार्टम गर्दा गम्भीर चोटकै कारण राजकुमारको मृत्यु भएको पुष्टि भयो । तर, जिल्ला अदालत चितवनले किटानी जाहेरीमा उल्लेखित ज्यान मुद्दालाई भवितव्य ज्यानमा बदलेर मुलुकी अपराध संहिताको दफा १७८ अन्तर्गत सजाय हुने फैसला गर्यो । उक्त फैसला चित्त नबुझेपछि विष्णुलाल उच्च अदालत हेटौँडा पुगेका थिए, आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले समाचार लेखेका छन् ।















प्रतिक्रिया