१६ कार्तिक २०८३, सोमबार

देउवाको प्रधानमन्त्री पद धरापमा

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-एसपी उप्रेती

काठमाडौँ, ८ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाको पद धरापमा परेको छ ।

आइतबार अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश गरेसँगै देउवाको प्रधानमन्त्री पद संकटमा परेको हो ।

एमसीसी अगाडी बढाउँदा देउवा प्रधानमन्त्रीबाट हट्ने अवस्था आउने विश्लेषकहरुको भनाइ छ ।

सत्ता गठबन्धन कायमै राख्ने गरी एमसीसी पारित गराउन खोजेका देउवा असफल हुने निश्चितप्रायः छ ।

प्रमुख सत्ता साझेदार नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र आफ्नो पार्टी एमसीसीको विपक्षमा रहेको दावी गरेका छन् । माओवादीका नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मालगायतले खुलेरै विरोध गरिरहेका छन् ।

त्यस्तै, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी सदनमा पेश गर्न दिइए पनि पारित गर्न नसकिने स्पष्ट पारेका छन् । उनले आफ्ना मन्त्रीहरुले दवाव दिएपछि पेश गर्न सहमति जनाएका थिए ।

त्यस्तै, नेकपा एसका नेता झलनाथ खनालले त आइतबार एमसीसी पेश हुँदा एमालेका सांसदहरुसँगै गएर नाराबाजी समेत लगाएका थिए । खनाल एमसीसी कुनै हालतमा पारित गर्न नहुने पक्षमा छन् । खनालले विद्रोह गर्ने संकेत गरिसकेका छन् ।

जनमोर्चा त केही समय अघिदेखि नै एमसीसीविरुद्ध सडक प्रदर्शन गरिरहेको छ ।

नेपालमा अमेरिकाको चर्को दवावका कारण आज संसदमा एमसीसी पेश भएको छ । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेश गरेका छन् ।

यसरी हेर्दा एमसीसी गठबन्धनबाट पारित हुने देखिदैन । पारित भए पनि गठबन्धनमा फाटो आउने सम्भावना बढेर गएको छ । उता प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफ्ना मागहरु सम्बोधन हुनुपर्ने भन्दै संसदमा अवरोध कायम नै राखेको छ ।

गठबन्धनकै बलमा एमसीसी पारित हुने सम्भावना कम हुने घटनाले देखाइसकेको छ ।

यदि फागुन १६ भन्दा पछि एमसीसी धकेलिएको खण्डमा भने प्रधानमन्त्री देउवालाई केही राहत हुन सक्छ ।

तर त्यसबेला भने देउवाको प्रधानमन्त्री पद नै धरापमा पर्न सक्छ । गठबन्धनको विवादले देउवा सरकार ढल्ने अवस्था बन्न लागेको चित्रण गरिएको छ ।

अब एमालेसँग नयाँ गठबन्धन गरेर अघि बढ्नुपर्ने अवस्था आउन सक्छ । यदि एमालेले एमसीसी पारित गर्ने सहमति गरेको खण्डमा तर एमालेमै पनि सांसद तथा कार्यकर्ताहरुले एमसीसीको विरोध गरिरहेका छन् । यस्तो अवस्थामा नेतृत्वले जनताको सेन्टिमेन्ट्स क्याच गरेर निर्णय गर्नुपर्ने हुन्छ ।

तर यदि एमसीसी पारित गर्ने निर्णयमा एमाले पुगेको खण्डमा देउवाले ओलीलाई आगामी सरकारको नेतृत्व दिनुपर्ने हुनसक्छ । जसले गर्दा देउवाको पद गुम्न सक्ने सम्भावना रहेको छ ।

तर यदि सडक प्रदर्शन अनियन्त्रित बनेको खण्डमा पनि सरकारले एमसीसी अनुमोदन गर्न नसक्ने स्थिति आउन सक्छ । त्यसो भएको खण्डमा पनि देउवाले आफैँ सरकार छोड्नु पर्ने परिस्थिति बन्न सक्छ ।

देउवाले निकै जोडबलका साथ एमीसीको साथ दिइरहँदा नागरिकहरु भने आक्रोशित बनेका छन् ।

त्यस्तै, एमसीसी अघि बढ्दा कम्युनिष्ट पार्टीहरु दुर्घटनामा पर्न सक्छन् । किनकी हरेक पार्टीमा एमसीसीलाई लिएर फरक धार रहेको छ ।

देउवाको पद संकटमा छ । अब यस्तो स्थिति कुन तवरले व्यवस्थापन गरिन्छ त्यो हेर्न नै बाँकी छ ।