गोरखाबजार, ७ वैशाख । सरकारले स्वास्थ्य संस्थामा गएर सुरक्षित सुत्केरी गराउन सचेतना अभियान गाउँसम्म पुराउने बताए पनि अधिकांश गाविसका गर्भवती घरमै सुत्केरी हुँदै आएका छन् ।
बर्थिङ सेन्टर, स्वास्थ्य संस्था र अस्पताल टाढा भएकाले सुँढेनीका भरमा गाउँमै सुत्केरी गराउनुपर्ने बाध्यता छ ।
“गाउँमा बर्थिङ सेन्टर छैन”–केराबारी–६ की महिला स्वास्थ्य स्वयम्सेविका बीना गुरुङले भन्नुभयो–“सुत्केरी व्यथाले छट्पटाएका दिदीबहिनीलाई अस्पतालसम्म लैजान बाटोको सुविधा छैन, बोकेर लैजान गाउँमा छोरा मान्छे भेटिन्नन् ।”
गाउँसम्म सडक नपुगेकाले केराबारीका महिला पीडा खपेर गाउँमै सुत्केरी गराउन बाध्य भएको उहाँको भनाइ छ । सुत्केरी गराउन मात्र होइन सामान्य ज्वरो, रुघाखोकी, घाउचोट लाग्दा पनि औषधि उपचार गर्न समस्या भएको गुरुङले बताउनुभयो ।
“सुत्केरी व्यथा लागेपछि भगवान्को नाम जप्नुबाहेक अरू केही विकल्प छैन”–गुरुङले भन्नुभयो–“गाउँबाट नजिकको अस्पताल भनेको आँपपिपल अस्पताल हो, बिरामीलाई अस्पताल पुराउन करिब छ घन्टा लाग्छ ।”
गाउँमा केटाहरु नहुँदा बिरामी बोक्ने मान्छे नपाइने गुरुङको भनाइ छ । उहाँले आवश्यकताभन्दा निकै कम आइरन चक्की भएकाले माग धान्न नसकिएको बताउनुभयो ।
गर्भवतीहरु स्वास्थ्य संस्थामा नियमित जाँचका लागि जाँदैनन् ।
“गर्भवती भएको चार महिनादेखि स्वास्थ्य जाँच गराउनुपर्छ भन्ने सबै महिलालाई थाह छ”–उहाँले भन्नुभयो–“स्वास्थ्य संस्था टाढा हुँदा एक पटकभन्दा जँचाउन पुग्दैनन् ।” घर व्यवहारमा झेलिएका महिला समय अभावले गर्दा टाढाको बाटो हिँडेर स्वास्थ्य संस्थासम्म पुग्न नसकेको गुरुङको भनाइ छ ।
गाउँमै बर्थिङ सेन्टर स्थापनाको माग गरिएको केराबारी गाविसका बालकृष्ण गुरुङले बताउनुभयो । “बर्थिक सेन्टर स्थापनाका लागि जिल्ला जनस्वास्थ्य कार्यालयमा निवेदन दिएका छौँ”–उहाँले भन्नुभयो–“गाउँमा बर्थिङ सेन्टर स्थापना गर्न पाइयो भने सुँडेनीको भर पर्नुपर्ने थिएन ।” गाउँका स्वास्थ्य संस्थामा म्याद गुज्रेका औषधि मात्रै पुग्ने गरेको गुरुङको भनाइ छ ।
सरकारले निःशुल्क रुपमा वितरण गर्दै आएको औषधि पनि आफूहरुले नपाएको गुरुङको गुनासो छ । “दुई वर्षमुनिका बालबालिकालाई खुवाइने बालभिटा आवश्यकताभन्दा कम छ”–उहाँले भन्नुभयो–“म्याद गुज्रेको औषधि र मात्रा नपुगेका औषधि मात्रै गाउँघरमा आइपुग्छ ।” म्याद गुज्रेका औषधि पनि गाउँले बिरामी हुँदा नपाएको उहाँले बताउनुभयो ।
जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाको तथ्याङ्कअनुसार ३८ प्रतिशत महिला मात्रै स्वास्थ्य संस्थामा आएर सुत्केरी गराउँछन् । बाँकीले घरमै असुरक्षित तवरले सुत्केरी गराउँदै आएको कार्यालयको तथ्याङ्कले देखाउँछ ।
साठी गाविस रहेको गोरखामा अहिलेसम्म ३५ मात्रै बर्थिङ सेन्टर छन् । बर्थिङ सेन्टर स्थापना भई सञ्चालनमा रहेका गाउँमा पनि सुँडेनीका भरमा सुत्केरी गर्नेहरु नघटेको स्थानीयवासी बताउँछन् ।
स्वास्थ्य संस्थामा सुत्केरी गराएका महिलालाई सरकारले बाटो खर्चस्वरुप रु एक हजार दिने गर्छ । उत्तरी भेगमा रहेका सात गाविसका महिला सुत्केरी हुन स्वास्थ्य संस्थामा आएपछि एक हजार ५०० बाटो खर्च पाउँछन् तर सरकारले दिँदै आएको सेवासुविधाबारे गर्भवती अनभिज्ञ छन् ।













प्रतिक्रिया