
दमौली, ७ फागुन । तनहुँको म्याग्दे गाउँपालिकाले कृषकलाई केही समय अगाडि हाते ट्र्याक्टर प्रदान ग¥यो । कृषिमा आधुनिकीकरण गर्ने उद्देश्यसहित गाउँपालिकाले कृषक छनोट गरी हाते ट्र्याक्टर वितरण गरेको थियो ।
परम्परागत रुपमा कृषि पेसा गर्दै आएका कृषकलाई व्यावसायिक बनाउने उद्देश्यसहित गाउँपालिकाले वितरण गरेको हाते ट्र्याक्टरले कृषकलाई सहज भएको छ । गोरुको सहायताले खेतबारी जोत्दै आएका कृषक हाते ट्र्याक्टर पाएपछि खुसी भएका छन् ।
गाउँपालिकाले कृषकलाई प्रविधि हस्तान्तरणसँगै सीप पनि सिकाउन थालेको छ । हाते ट्र्याक्टर बिग्रिए मर्मतका लागि पोखरा वा दमौली लैजानुपर्ने बाध्यता रहेकाले कृषक स्वयम्लाई मर्मतसम्बन्धी ज्ञान प्रदान गरिएको गाउँपालिकाका उद्योग शाखाप्रमुख प्रदीप न्यौपानेले जानकारी दिनुभयो ।
“कृषकलाई हाते ट्र्याक्टर त दियौँ, तर बिग्रियो भने बनाउन अन्यत्रै लैजानुपर्ने बाध्यताको अन्त्य गर्न सीप पनि दिएका छौँ”, उहाँले भन्नुभयो, “यसले गर्दा कृषकले आफँैले हाते ट्र्याक्टरको मर्मत गर्न सक्छन् ।” ट्र्याक्टरमा सामान्य समस्या आउँदा आफँैले मर्मतसम्भार गर्न सकून् र टाढाबाट मिस्त्री ल्याएर मर्मत गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने लक्ष्य राखिएको प्रखुख न्यौपानेले बताउनुभयो ।
म्याग्दे गाउँपालिका–२ मा सञ्चालित तालिममा १२ जना सहभागी छन् । हाते ट्र्याक्टर मर्मत तालिमले कृषकलाई सजिलो हुने ठानेर सीपमूलक तालिम दिइएको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिनुभयो । “गाउँपालिकाले कृषकलाई विभिन्न समयमा प्रविधि हस्तान्तरण गरिरहेको छ, यसले गर्दा कृषक व्यावसायिक बन्न सक्छन्”, उहाँले भन्नुभयो । तालिमका प्रशिक्षार्थी विनोद श्रेष्ठले ट्र्याक्टर मर्मत तालिमले आफूहरुलाई सहज हुने बताउनुभयो । शिवशिखर एग्रो प्रालि पोखराका दिनेश थापाले मर्मतसम्बन्धी सहजीकरण गर्नुभएको छ ।
रोजगारका लागि सूचीकृत हुन निवेदन माग
तनहुँका स्थानीय तहले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सूचीकृत हुन निवेदन माग गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सहयोगमा सञ्चालन हुने कार्यक्रमका लागि स्थानीय तहले सूचीकृत हुने बेरोजगारलाई निवेदन माग गरेको हो ।
जिल्लास्थित आँबुखैरेनी गाउँपालिका, म्याग्दे गाउँपालिका, देवघाट गाउँपालिका, बन्दीपुर गाउँपालिकाले बेरोजगार सूचीमा सूचीकृत हुन आग्रह गरेको छ । एक सय दिनका लागि प्रदान गरिने रोजगारका लागि काम गर्न इच्छुक व्यक्तिहरुले फागुन १ देखि मसान्तसम्म सम्बन्धित वडा कार्यालयमा निवेदन दिन सक्ने आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले बताउनुभयो ।
निवेदन दिन इच्छुक व्यक्तिहरुले नागरिकको एकप्रति फोटोकपी, एकप्रति फोटो, नागरिकता अन्य स्थानीय तह वा जिल्लाबाट जारी भएको भए विवाह दर्ता वा बसाइँसराइ, परिवारको वार्षिक आय खुल्ने विवरण पेस गर्नुपर्नेछ ।
म्याग्दे गाउँपालिकाले पनि सूचना प्रकाशित गरी फागुन १ देखि ३० गतेभित्र सम्बन्धित वडा कार्यालयमा गई बेरोजगारमा सूचीकृत हुन निवेदन माग गरेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताउनुभयो । बेरोजगार सूचीमा सूचीकृत भएकालाई न्यूनतम एक सय दिनको रोजगारी प्रदान गरिने उहाँले बताउनुभयो ।
देवघाट गाउँपालिकाले न्यूनतम रोजगारीमा संलग्न भई सार्वजनिक विकास निर्माणका काममा योगदान गर्न इच्छुक १८ देखि ५९ वर्षसम्मका बेरोजगार व्यक्तिलाई फागुन मसान्तसम्म आफूले बसोबास गरेको वडामा बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन अनुरोध गरेको छ ।
सूचीकृत भएकालाई गाउँपालिकाले एक सय दिनको रोजगारी दिने प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले बताउनुभयो ।
बन्दीपुर गाउँपालिकाले पनि रोजगारीको हकसम्बन्धी नियमावली २०७५ को नियम ७ बमोजिम तथा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका २०७५ ९दोस्रो संशोधन २०७८० बमोजिम आगामी आर्थिक वर्षमा न्यूनतम रोजगारीमा संलग्न भई निवेदन माग गरिएको प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टले बताउनुभयो ।
निवेदन दिँदाको मितिसम्म सोही आर्थिक वर्षमा न्यूनतम एक सय दिनको रोजगारीमा संलग्न नभएका व्यक्तिलाई कार्यक्रममार्फत रोजगारी दिइनेछ । स्वरोजगारमा संलग्न व्यक्तिको हकमा निवेदन दिँदाको मितिसम्म सोही आर्थिक वर्षमा न्यूनतम एक सय दिनको रोजगारीबापत प्राप्त गर्ने नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक बराबरको आयभन्दा कम आय भएको हुनुपर्ने बताइएको छ ।
रोजगारीको हकसम्बन्धी ऐन २०७५ ले सबै नागरिकलाई रोजगारीको हक सुनिश्चित गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सूचीकृत हुने नागरिकले न्यूनतम सय दिनको रोजगारी पाउनेछन् । जिल्लामा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत नाला मर्मत, पैदलमार्ग निर्माण, पोखरी निर्माण, चौतारी निर्माण लगायतका काम हुँदै आएको छ ।–रासस















प्रतिक्रिया