
काठमाडौं, ४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको सिंगो टीम नै राप्रपा नेपालमा समाहित भएको छ ।
राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको केन्द्रीय कार्य समितिको बैठकले सिंगो संगठन नै राप्रपा परित्याग गरी राप्रपा नेपालमा समाहित भएको निर्णय भएको संगठनका अध्यक्ष ममता राईले बताइन् ।
पार्टीको केन्द्रीय महाअधिवेशन सम्पन्नभएपश्चात राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वले भ्रातृ संगठनहरूलाई हेर्ने दृष्टिकोणमा फरक, नीतिमा क्रमिक विचलनको श्रृङ्खला बढ्दै गएको तथा पार्टी र संगठनको काममा अहोरात्र खट्ने कार्यकर्ताहरुलाई वेवास्ता गर्दै नेतृत्वको वरीपरी घुम्नेहरुलाई मात्र पार्टीका हरेक निकायमा प्रोत्साहन गर्ने प्रवृत्ति हाबी भएको जस्ता कारणले राप्रपामा बसिरहन नसकिने निष्कर्षसहित सिंगो ‘राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन’ ले राप्रपा परित्याग गरी राप्रपा नेपालमा समाहित भएको संगठनले जनाएको छ ।
परिवर्तित सन्दर्भमा पार्टीका अन्य भ्रातृ संगठनहरूलाई समेत राप्रपा नेपालमा चाँडै समाहित हुन राप्रमसँले आग्रह समेत गरेको छ ।
यस्तै राप्रपाको अर्को जुझारु भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन पनि राप्रपा नेपालमा समाहित भएको छ । राप्रविसंका कार्यवाहक अध्यक्ष शशी भण्डारीले राप्रविसं कमल थापा नेतृत्वको राप्रपा नेपालमा समाहित भएको जानकारी गराए ।
राप्रविसंका जिल्ला समिति, क्याम्पस इकाइ समितिहरु समेत क्रमिक रुपमा राप्रपा नेपालमा समाहित हुने राप्रविसंमा महासचिव जनक फडेराले बताए ।
यसअघि राप्रपाको भातृ संगठन पूर्व प्रहरी परिषद पनि कमल थापा अध्यक्ष रहेको राप्रपा नेपालमा समाहित भैसकेको छ ।
कमल थापा राप्रपा नेपालको अध्यक्ष भएसँगै भातृ संगठनहरु धमाधम राप्रपा नेपालमा समाहित हुने क्रम चलेपछि राप्रपाको सस्थापन पक्षमा ठूलो हलचल पैदा भएको छ ।
















प्रतिक्रिया