रुपन्देही, ३ फागुन । नेकपा एमालेका सचिव गोकर्ण विष्टले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध ल्याइएको महाअभियोग प्रस्ताव निर्वाचन सार्ने षडयन्त्र रहेको बताएका छन् ।
गठबन्धन सरकारले महाअभियोगको प्रस्ताव ल्याएर देशमा अस्थिरता र संवैधानिक अराजकता पैदा गर्न लागेको विष्टको भनाइ थियो ।
मंगलबार बुटवलमा नेकपा एमाले ईस्मा–रुपन्देही सम्पर्क कमिटीको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता विष्टले राणाप्रति व्यक्तिगत कुनै मोह नभएको र गुण र अवगुणबारे प्रचार गर्नु जरुरी नभए पनि महाअभियोग सत्ता गठबन्धनको निर्वाचन सार्ने षडयन्त्रले आएको बताए ।
सचिव विष्टले एमालेका विरुद्धका चाल्ने कदमलाई पराजित गर्न, संविधानको मूल्य र मान्यता जोगाउन, संवैधानिक अंगको गरिमालाई जोगाउनका लागि चालिने कदममा पार्टी नपर्ने स्पष्ट पार्नुभयो ।
गठबन्धनका दलसँग जनतामा स्थापित हुने कुनै कार्यक्रमहरु नभएकाले अहिले पनि माओवादी, एकीकृत समाजवादी दल चुनावसम्म गठबन्धनमा रहन चाहेको उनको भनाइ थियो ।
उनले भने, ‘माओवादी, कांग्रेस, समाजवादी पार्टीसँग जनताको जीवनलाई बदल्ने, रुपान्तरण गर्ने, परिवर्तन गर्ने ठोस प्रकारका कार्यक्रमहरु नै छैन अनि एमालेसँगै एक्लाएक्लै चुनाव लड्ने हिम्मत आएको छैन ।’