काठमाडौ, १६ जेठ । एमाओवादीले नेता बाबुराम भट्टराई पक्षलाई निर्वाचित पदमा नस्वीकारे केन्द्रीय सदस्यको रुपमा जिम्मेवारी दिने भएको छ । संस्थापनले पदाधिकारीदेखि पोलिटब्युरोसम्म निर्वाचित भएका भट्टराई पक्षका नेताहरुलाई अझै पद स्वीकार्न गर्न आग्रह गर्ने भएको छ ।
केन्द्रीय समितिले औपचारिक रुपमा भट्टराई पक्षलाई निर्वाचित पद स्वीकार गर्न आग्रह गर्ने सचिब वर्षमान पुनले बताए । ‘केन्द्रीय समितिले उहाहरुले निर्वाचित पद स्वीकार गर्न आग्रह गर्छ’ उनले भने, ‘उहाँहरुले पद नस्वीकारे केन्द्रीय समिति सदस्यको रुपमा जिम्मेवारी लिनुहुनेछ ।’
नेता भट्टराईलाई वरिष्ठ नेताको रुपमा रहन संस्थापनले पुनः आग्रह गरेको छ । भट्टराईले आफू वरिष्ठ केन्द्रीय सदस्यको रुपमा रहने बताउदै आएका छन् । वरिष्ठ नेता अध्यक्षपछि दोस्रो वरियतामा हुन्छ भने वरिष्ठ केन्द्रीय सदस्य पोलिटब्युरोभन्दा तल रहन्छ । ‘अझै पनि बाबुरामजीलाई वरिष्ठ नेताको रुपमा रहन आग्रह छ’, पुनले भने ।
केन्द्रीय समितिबाट निर्वाचित भएका भट्टराई पक्षका नेताहरुले निर्वाचन प्रक्रियाप्रति असहमति जनाउँदै पदाधिकारी, स्थायी र पोलिटब्युरो नस्वीकार गर्ने निर्णय गरेका छन् । उनीहरुले केन्द्रीय समितिमा रहेर महाधिवेशनसम्म अन्तरसंघर्ष गर्दै जाने बताएका छन् । ‘के गर्ने भन्नेबारे छलफल चल्दैछ’ भट्टराई पक्षीय नेता देबेन्द्र पौडेलले भने, ‘हामी केन्द्रीय समितिमा जान्छौ, अरु पदबारे पनि गृहकार्य हुदैछ ।’
भट्टराई पक्षले पद नस्वीकार्ने बताएपछि कसरी अघि बढ्नेबारे संस्थापन पक्षभित्र छलफल सुरु भएको छ । विराटनगर राष्ट्रिय सम्मेलनले दिएको सुझावका आधारमा विधान संशोधनको काम भइरहेको छ । सचिब पुनको संयोजकत्वमा विधान संशोधन अन्तिम चरणमा पुगेको उनले जनाए ।
त्यसमा भट्टराईलाई समेट्ने गरी वरिष्ठ नेताको प्रावधान राख्नेबारे छलफल हुदैछ । नेताहरुमा जिम्मेवारी बाँडफाँड गर्न केन्द्रीय समितिको बैठक बिहीरबार स्थगित भएको छ । केन्द्रीय समिति बैठक शनिबार बस्ने छ । कान्तिपुर दैनिकबाट













प्रतिक्रिया