१७ कार्तिक २०८३, मंगलबार

सभामुखसामु एमालेका यस्ता छन् दुई विकल्प

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ फागुन । नेकपा एमालेले सभामुख अग्नि सापकोटालाई दुई विकल्पहरु प्रस्तुत गरेको छ ।

आइतबार बसेको एमालेको सचिवालय बैठकले सभामुख सापकोटा सामु मार्गप्रशस्त गर्ने वा आफ्नो गल्तीलाई सच्याउने दुई विकल्प दिएको महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् ।

बैठकले आफ्नो पार्टीले कारवाही गरेका १४ सांसदको विषयमा निर्णय दिनुपर्ने निष्कर्ष पनि निकालेको छ ।

‘सभामुखको भूमिका उहाँले निर्वाह गर्न सक्नुभएन । उहाँको भूमिकाप्रति हाम्रो आपत्ति रहेको छ । १४ जना सांसदलाई कारबाही गर्ने एमालेको निर्णयमा सभामुखले आफ्नो गल्तीलाई सच्याउने वा जारी अवरोध अन्य गर्नका लागि मार्गप्रशस्त गर्ने भन्ने दुई विकल्प हामीले दिएका छौँ’, बैठकपछि महासचिव शंकर पोखरेलले भने ।

त्यस्तै, सत्तारुढ दलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा विरुद्धको महाअभियोगको प्रतिवाद गर्ने पनि निर्णय गरेको पोखरेलले जनाएका छन् ।

एमाले महासचिव पोखरेलको भनाइ जस्ताको तस्तै:

आज सत्ता गठबन्धनले आकस्मिक रुपमा षड्यन्त्रपूर्ण तरिकाले सर्वोच्च अदालतका प्रधानन्यायाधीश विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरिसकेपछि उत्पन्न परिस्थितिका सन्दर्भमा आकस्मिक रुपमा एमाले केन्द्रीय सचिवालय बैठक सम्पन्न गरेका छौ । बैठकले यो कदमलाई अत्यन्त गम्भिर र षड्यन्त्रपूर्ण कदमका रुपमा लिएको छ ।

यो अदालतमाथिको प्रहार मात्रै होइन, सिंगो लोकतन्त्रमाथिको प्रहार र नेपाली जनतामाथिको सार्वभौम सत्तामाथिको प्रहरका रुपमा हामीले यसलाई लिएका छौ । भर्खरै हाम्रो पार्टी लगायत जनताको दवावबाट तय गरिएको स्थानीय चुनावलाई धकेल्ने प्रयास र षडयन्त्र अन्तर्गत पनि यो प्रस्ताव आएको हुनसक्छ ।

यो कदम नेपालमा सत्तापक्ष र प्रतिपक्षका बीचमा लामो समयको अन्तराल पछाडि जुन प्रकारको सम्वादको थालनी हुँदै गरेको थियो, त्यसलाई बिथोल्ने षडयन्त्रका रुपमा पनि यो कदम अगाडि आएको हामीले अनुमान गरेका छौ । यो गठबन्धन सर्वोच्च अदालतमा विचाराधीन मुद्दाहरूलाई प्रभावित गर्ने, सर्वोच्च अदालतलाई सत्ताको निर्देशनमा चल्ने निरीह संस्थाका रुपमा नियन्त्रित गर्ने योजनाका साथ अघि बढेको हामीले ठानेका छौ ।

त्यसर्थमा महाभियोगको प्रस्ताव समग्रतामा भन्दा लोकतन्त्रमाथिको प्रहारका रुपमा, नेपाली जनताले स्थापित गरेको संघीय लोकतान्त्रिक गणतन्त्र र नेपालको भर्खरै सुदृढ हुँदै गएको राजनीतिक प्रणालीलाई अस्थिर बनाउने र नियन्त्रित अस्थिरता सिर्जना गर्ने उदेश्य अनुसार कदम अघि बढाएको निष्कर्षका साथ पार्टीका तर्फबाट गम्भिर ढंगले प्रतिवाद गर्नु आवश्यक छ ।

आम जनताले पनि यस्ता कदमलाई असफल पार्नका लागि सचेततापूर्वक अघि बढ्नु आवश्यक छ भन्ने निष्कर्ष हामीले निकालेका छौ । र, हाम्रो संसदीय दललाई यस विषयमा आवश्यक कदम अघि बढाउनका लागि निर्देशन दिने निर्णय गरेका छौ । यसआधारमा भोलि नै संसदीय दलको बैठक बस्नेछ र आवश्यक निर्णयहरु गर्नेछ ।