८ कार्तिक २०८३, आइतबार

सहयोग गर्ने देशहरू सबैलाई एउटै दृष्टिकोणले हेर्नुपर्छ : डा महत

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Minister for Foreign Affairs Prakash Saran Mahat briefing journalists about Nepal’s participation in the BRICS conference in Goa of India, in Singha Durbar, Kathmandu, on Friday, October 14, 2016. Photo: RSS

चितवन, २९ माघ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सहयोग गर्ने देशहरू सबैलाई एउटै दृष्टिकोणबाट हेर्नुपर्ने बताउनुभएको छ । आज यहाँ पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै उहाँले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)लाई हेर्ने दृष्टिकोण अन्य देशहरूलाई जस्तै हुनुपर्ने बताउनुभयो ।

अन्य देशको सहयोगलाई हेर्ने दृष्टिकोण र एमसिसीलाई हेर्ने दृष्टिकोण फरक बनाउँदा परराष्ट्र सम्बन्धमा असन्तुलन आउने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “देशैपिच्छे अलग मापदण्डका आधारमा सहायता स्वीकार गर्ने हो भने परराष्ट्र सम्बन्ध असन्तुलन हुन्छ र देशलाई खतरा हुन्छ ।” एमसिसीका विषयमा अन्योल खडा नगरी संसद्बाट पास गर्नुपर्ने उहाँको तर्क छ ।

उहाँले थप्नुभयो, “एमसिसीमा अहिलेसम्म सरकारमा सहभागी दलहरूको सहभागिता रहेको छ । नेपालको स्वार्थका आधारमा आएको हो, बखेडा झिक्नु गलत प्रवृत्ति हो ।”

नेता महतले सरकारले ल्याएका प्रस्ताव संसद्मा टेबुल गराउनु सभामुखको दायित्व रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले ल्याएको प्रस्तावमा सभामुखले म यो संसद्मा पेश गर्छु, यो गर्दिनँ भन्ने जिम्मेवारीभित्र पर्दैन ।” संसद्मा छलफल भए यस विषयमा निकास निस्कने उहाँको भनाइ छ ।

फरक प्रसङ्गमा बोल्दै उहाँले कांग्रेस अधिवेशन रोकिएका १६ जिल्लामा फागुन १३ गते अधिवेशन हुने बताउनुभयो । पहिला कोभिडका कारण रोकिएका अधिवेशन अब भने तोकिएको मितिमै हुने उहाँले बताउनुभयो ।

स्थानीय तहको निर्वाचनमा गठबन्धन हुन्छ कि हुँदैन भन्ने पत्रकारको प्रश्नमा उहाँले यस विषयमा अहिले बहस गर्ने समय नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “गठबन्धनका विषयमा समय आएपछि छलफल हुन्छ ।”

दलहरुले आ–आफ्नो आवश्यकतानुसार छलफल गरेरमात्रै गठबन्धनका विषयमा टुङ्गो लाग्ने उहाँले जानकारी दिनुभयो । फाइदाका आधारमा गठबन्धनको निर्णय हुने उहाँको भनाइ थियो ।–रासस