२९ आश्विन २०८३, बिहिबार

युवा नेतृत्वहरू कहिले अब्बल बन्ने ?

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जुन बेला नेपालमा राजनीतिक पार्टीहरूको स्थापना भयो त्यस बेला नेपाली राजनीतिमा राणा शासनको एकतन्त्रीय निरङ्कुश सत्ता हाबी थियो ।

आर्थिक–सामाजिक क्षेत्रमा सामन्तवादी र पूँजीवादी उत्पादन तथा असमानता र विभेदको उच्चतम अवस्थामा थियो । राष्ट्रियता र वैदेशिक हस्तक्षेप एक अर्काको परिपूरक जस्ता भएर अगाडि बढेको अवस्था थियो ।

विविध कारणबाट मुलुकको आर्थिक–सामाजिक अवस्था अर्धसामन्ती र अर्धऔपनिवेशिक रहेको आँकलन गर्दै देशको जर्जर अवस्थालाई परिवर्तन गर्नका लागि पूँजीवाद र जनवादी क्रान्तितर्फ संघर्ष अगाडि बढाउने निष्कर्षमा तत्कालीन राजनीतिक पार्टीहरू पुगेको पाइन्छ । जसअनुरूप निरङ्कुश व्यवस्थाको अन्त्य गरी जनवाद अर्थात् लोकतन्त्र प्राप्तिका लागि संघर्ष गर्नुपर्ने निष्कर्ष निकाल्दै नेपालमा स्थापना भएका राजनीतिक पार्टीहरूले संघर्ष प्रारम्भ गरेका थिए ।

जनवादी क्रान्तिको न्यूनतम लक्ष्य जनवादी व्यवस्था स्थापना गर्ने र त्यसको क्रमबद्ध विकास गर्दै आधिकतम लक्ष्य समाजवादतर्फ अगाडि बढ्ने निष्कर्षस्वरूप २०६२/०६३ सालको १९ दिन लामो शान्तिपूर्ण जनआन्दोलन सम्पन्न गर्दै त्यसले जनमुखी र जनअपेक्षित पूँजीवादी क्रान्ति सम्पन्न गरेको अवस्था छ । यसलाई भरपुर अपयोग गर्दै दीर्घकालीन विकास र समाजवादको आधार तयार गर्ने अवस्थामा आज मुलुक पुगेको छ ।

विशेषतः नेपाली राष्ट्रिय राजनीतिमा युवाहरू परिपर्वतनका संवाहक हुन् र देशको राजनीतिक परिवर्तनमा युवाहरूको अमूल्य योगदान रहेको छ, जुन योगदान र महत्वपूर्ण भूमिकाबाट नेपाली राजनीतिमा परिर्वतन भएको छ त्यसको न्यूनतम लक्ष्य र उद्देश्यअनुरूप पनि सत्ता र शक्तिको उपयोग १६ देखि ४० वर्ष उमेर समूहका युवाहरूले भरपुर प्रयोग गर्न नपाएको अवस्था र तत्काल पाउन सकिहाल्ने खालको अवस्थाको पनि सृजना भएको छैन ।

विष्णु पोखरेल

किनभने उल्लेखित उमेर समूहको युवाहरूले आफूलाई सक्षम र सवल छु भनेर प्रमाणित गर्न सकेको अवस्था छैन । उपल्लो निकाय वा नेतृत्वको सामु प्रयोग मात्र भइरहेको छ । युवाहरूले आफ्नो न्यूनतम लक्ष्य जनवादी व्यवस्था स्थापनाको कार्यभार पूरा गरेर अधिकतम लक्ष्य समाजवाद स्थापना गर्ने मान्यतामा आफ्नो समूहलाई स्थापना गर्न सकेको छैन ।

नेपालका राजनीतिक पार्टीहरूबीचमा आधारभूत तहका सैद्धान्तिक मतभेद र नीतिगत भिन्नताहरू त्यति धेरै देखिदैन । तर जनवादी व्यवस्थाका लागि गरिने संघर्षकोे बाटो र जनवादी व्यवस्थामा अपनाइने राजनीतिक, आर्थिक र सामाजिक स्वरूप एवम् ढाँचाका बारेमा भने मतभिन्नताहरू रहँदै आएका छन् । तिनै भिन्नता र माउ पार्टीको नीतिनिर्देशनअनुरूप युवाहरूले आफूलाई अघि बढाउँदै आइरहेको अवस्था छ । जुन मतभिन्नताको पृष्ठभूमिबाट नेपाली राजनीतिकोे मातृ पार्टीको मौलिक सिद्धान्तअनुरूप युवाहरू परिचालित र प्रयोग भएको अवस्था छ ।

शिषेशगरी जनवादी क्रान्तिको बाटो र क्रान्तिपछि स्थापना हुने व्यवस्थामा राजनीतिक, आर्थिक र सामाजिक स्वरूप एमव् ढाँचाका बारेमा नवीन मान्यता आत्मसात गरेको र ती मान्यताहरू व्यवहारत सिद्ध हुँदै गएको केही अवस्था त देखिन्छ तर त्यो सैद्धान्तिक कोणबाट आफूलाई परिपक्व, सवल र सक्षम नेतृत्वको रूपमा स्थापित गर्न भने सकेको अवस्था छैन ।

यतिखेर समग्र नेपाली राजनीतिको मार्गदर्शक सिद्धान्तको रूपमा देशको आवश्यकता र अवको राजनीतिक बाटोलाई कसरी स्थापित गर्ने भन्न्ो सवालमा नेतृत्व र युवाहरूको बीचमा घनिभूत छलफल तथा बहसको आवश्यकता रहेको छ । तर, त्यसमा कुनै पनि पक्ष त्यति धेरै गम्भीर ढङ्गबाट लागेको भने पाइँदैन । जुन कार्यका लागि विभिन्न चरणमा बहस तथा छलफलहरू अगाडि बढाउन जरुरत छ ।

राजनीतिक अस्तित्वलाई संविधान र कानूनको परिधिभित्र रही राजनीतिक प्रतिस्पर्धा गर्न पाउने लोकतान्त्रिक विधिलाई देशको परिवर्तित अवस्था र समयानुकुल सिद्धान्तका रूपमा अगाडि बढाउन जरुरत छ । जुन प्रतिस्पर्धामा प्राप्त हुने जनमतबाट राजनीतिक पार्टीहरूको हैसियत र अवस्थाको निर्क्योल निकाल्न सक्ने र त्यसलाई सैद्धान्तिक रूपमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने सिद्धान्तका रूपमा स्थापित गराउन जरुरत छ ।

जुन कुराहरूलाई जनताको बहुदलीय जनवादले केही मात्रामा नेतृत्व गरेको र सैद्धान्तिक रूपमा आफूलाई अब्बल ठानेको त पाइन्छ तर त्यसले पूर्णता पाएको भने पाइँदैन । जति मात्रामा गरेको छ त्यसले नेतृत्व पुस्तान्तरण वा युवाहरूले गहन रूपमा लिएर परिस्कृत गर्दै आफूलाई स्थापित गरेको पनि देखिदैन । जबजले राजनीतिको सार्वभौम नियमलाई राजनीतिक क्षेत्रमा नेकपा एमालेले सफलतापूर्वक प्रयोग गरेर स्थापित गरेको भने पाइन्छ । जबजको यो मान्यता नेपाली राजनीतिको हरेक प्रतिस्पर्धामा क्रमशः सत्य सावित हुँदै गइरहेको पनि छ ।

नेपालमा रहेका राजनीतिक पार्टी र ति पार्टीहरूको नेतृत्वमा रहेका युवाहरूमा एउटा खालको गम्भीर समस्या देखिदै आएको छ । त्यो समस्याले गर्दा कुनै पनि विषयवस्तुका बारेमा गहन अध्ययन, अनुसन्धान विश्लेषण नगर्ने, सिद्धान्त नीति र विधिको पूर्ण पालना नगर्ने तर जबरजस्त रूपमा आफूलाई नेतृत्वमा स्थापित गर्न खोज्ने खालको स्वभावका कारण नीति, नेतृत्व र राजनीतिक आन्दोलनले सार्थकता नपाउने त होइन भन्ने विषयमा गम्भीर हुन जरुरी देखिएको छ । साथै नैतिक र व्याहारिक रूपमा पनि सचेत रहन जरुरत छ ।

त्यसैले अबको दिनमा विशेषतः युवा नेतृत्वले समयानुकुल परिवर्तित राजनीतिक सिद्धान्त, विषयवस्तुमा गहन अध्ययनसहितको पूर्ण ज्ञान तथा अनुसन्धान र आफूलाई नीतिगत र व्याहारिक रूपमा अब्बल बनाउँदै नेतृत्वमा स्थापित हुन आवश्यक छ ।

(पोखरेल राष्ट्रिय युवा संघ नेपालका सचिवालय सदस्य हुन् ।)