३० आश्विन २०८३, शुक्रबार

गैरबैंकिङ प्रणाली अवैध धन्दाको भुक्तानी गर्ने माध्यम

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ माघ । बलिउड अभिनेता सलमान खानको फाउन्डेसनले चलाएको ‘बिइङ ह्युम्यान क्लथिङ’को दरबारमार्गस्थित सोरुमबाट १९ मंसिरमा स्रोत नखुलेको ६९ लाख ५० हजार बरामद भयो  ।

उक्त रकम सोरुम सञ्चालक पर्सा गादीका ३९ वर्षीय सन्तोषचन्द्र बख्रेलको रहेको अनुसन्धानका क्रममा खुल्यो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसन्धान अधिकारीसँग सन्तोषले उक्त रकम सहकारीको रहेको मात्रै भनेनन्, बिइङ ह्युम्यानमार्फत समाज सेवामा समर्पित भएको दलिलसमेत पेस गर्न भ्याए । तर, उनको नकाब तब उत्रियो, जब डेड करोड रुपैयाँ मूल्यबराबरको अवैध मदिरासहित उनी पक्राउ परे ।

उनको अवैध धन्दा नियन्त्रित औषधि, चुरोट, गुट्खादेखि कस्मेटिक साधनको कारोबारमा समेत फैलिएको थियो । भुक्तानी गर्न ठूलो रकम आवश्यक पथ्र्यो, तर बैंकिङ प्रणालीबाट भुक्तानी गर्दा धन्दाको रहस्य खुल्न सक्थ्यो । त्यसैले उनले कारोबारका अधिकांश भुक्तानी गैरबैंकिङ प्रणालीबाट गर्थे । यसैको एउटा हिस्सा थियो– दरबारमार्गस्थित ‘बिइङ ह्युम्यान’को सोरुमबाट १९ मंसिरमा बरामद ६९ लाख ५० हजार रुपैयाँ । विभागका प्रवक्ता विनोद दाहालले भने, ‘उनले दाबी गरेजस्तो बरामद रकमको स्रोत खुल्दैन । रकम शंकास्पद नै देखिन्छ । अनुसन्धान सूक्ष्म ढंगले हुँदै छ ।’

बैंक तथा वित्तीय संस्थाबाहेकाका संस्था वा व्यक्तिले विदेशी रकमको विनिमय गर्न पाउँदैन, तर कैलाली लम्किचुवा– १० का दिनेश खड्काले मोबाइल एप्स इ–स्क्रोल र बिन्यान्समार्फत ३७ करोड ६४ लाख ११ हजार एक सय रुपैयाँ मूल्यबराबरको अमेरिकी डलर सटही गरेको भेटियो । उनको यो कारोबार यति चलाखीपूर्वक भएको थियो कि जसलाई नेपालको कुनै पनि बैंकिङ प्रणालीले चिन्दैनथ्यो । अनुसन्धानमा संलग्न राजस्व अनुसन्धान विभागका अनुसन्धान अधिकृतका अनुसार सीमापार हुने भुक्तानीका लागि उनले आफ्नो र आफूनिटकका बैंक खाता भाडामा उपलब्ध गराएका थिए । खातामा जम्मा रकम सोही भुक्तानीमध्येको एक हिस्सा थियो । जुन मोबाइल एप्स इ–स्क्रोल र बिन्यान्समार्फत सीमापार जान्थ्यो । जसको रेकर्ड नेपाल राष्ट्र बैंकको कुनै पनि प्राणालीले गर्न सक्दैनथ्यो ।

विभागका प्रवक्ता टंकप्रसाद पाण्डेले घटना सम्बन्धमा भने, ‘मोबाइल एप्स प्रयोग गरी रकम अमेरिकी डलरमा सटही भई भुक्तानी भएको देखिन्छ । भुक्तानीको परिणाम ठूलो देखिन्छ । जुन नेपाल राष्ट्र बैंकको प्राणलीमा देखिँदैन । अवैध धन्दामा संलग्न हुनेले उनलाई प्रयोग गरेको हो जस्तो देखिन्छ । यद्यपि, अनुसन्धान जारी छ ।’

१७ पुसमा विराटनगरबाट काठमाडौं आएको सौर्य एयरलाइन्स जहाजमा स्रोत नखुलेको ५० लाख रुपैयाँ फेला प¥यो । अनुसन्धानका क्रममा उक्त रकम एयरलाइन्सकै मालिक दीपक पोखरेलको रहेको खुल्यो । सुपारीको समेत कारोबार गर्ने दीपकलाई उक्त रकम अर्का सुपारी कारोबारी दिनेश राठीले दिएका थिए । दुवै सुपारी तस्करीमा मुछिएका विवादित व्यापारी हुन् । अनुसन्धानमा संलग्न राजस्व अनुसन्धान विभागका अनुसन्धान अधिकृतका अनुसार गैरबैंकिङ प्रणालीबाट भएको यो भुक्तानी पनि शंकास्पद छ । विभागका प्रवक्ता पाण्डेले भने, ‘एयरपोर्टबाट स्रोत नखुलेको ५० लाख रुपैयाँ बरामद भएको छ । जसको स्रोत खुलेको छैन । पेमेन्ट गैरबैंकिङ प्रणालीबाट भएको छ । त्यसको अनुसन्धान हुँदै छ ।’

यी तीन घटना एक महिनाभित्रका हुन् । यसमा गरिएका भुक्तानी नेपालको कुनै पनि बैंकिङ प्रणालीभित्र देखिँदैनन् । तीनमध्ये पछिल्ला दुईवटा घटनामा संलग्न अभियुक्त अवैध धन्दामा विगतदेखि मुछिएका छन् । जो मदिरादेखि मरिचसम्मको तस्करीमा संलग्न छन् । यस्ता घटनाबारे नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी विष्णुकुमार केसी भन्छन्, ‘स्रोत नखुलेको रकम बरामद गर्नेमध्येको एक महत्वपूर्ण निकाय हो नेपाल प्रहरी । बरामद जति पनि रकम छन्, जसको भुक्तानी बैंकिङ प्रणालीबाट भएको देखिँदैन । सोही रकम प्रहरीले बरामद गर्ने हो । बरामद रकमसँग जोडिएका व्यक्तिहरू कुनै न कुनै अवैध धन्दामा संलग्न रहेको देखिन्छ । यसका अर्थ अवैध धन्दाको भुक्तानी गैरबैंकिङ प्रणालीबाट भइरहेको छ भन्ने नै हो ।’

सुरक्षाविद् तथा नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्ल पनि पछिल्ला दिन गैरबैंकिङ प्रणालीमार्फत हुने भुक्तानी बढेको र भुक्तानीसँग जोडिएका व्यक्ति अवैध धन्दामा संलग्न देखिएको बताउँछन् । ‘पछिल्ला दिन गैरबैंकिङ प्रणालीबाट हुने भुक्तानी बढेको विभिन्न घटना क्रमले देखाउँछ । यसमा जोडिएर जति पनि व्यक्तिको नाम सतहमा आएका छन्, उनीहरू कहीँ न कतै अवैध धन्दासँग सम्बन्ध राख्छन् । त्यसकारण बरामद रकम अवैध धन्दाकै भुक्तानीको हिस्सा हो भन्न सकिन्छ । घटना क्रमले त्यही पुष्टि गर्छ ।’

गैरबैंकिङ प्रणालीबाट हुने भुक्तानीको सानो हिस्सा मात्रै प्रहरीबाट बरामद

विनास्रोतको रकम बरामद गर्ने मुख्य निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरी हो । दुवै प्रहरीको तथ्यांकअनुसार प्रत्येक वर्ष कम्तीमा स्रोत नखुलेका १२ करोड रुपैयाँभन्दा धेरै बरामद हुन्छन् । नेपाल प्रहरीको ५३ महिनाको तथ्यांक हेर्दा स्रोत नखुलेको ३३ करोड एक लाख ८० हजार चार सय ६५ रुपैयाँ बरामद भएको छ । त्यस्तै, सशस्त्र प्रहरीले वर्ष दिनकै अवधिमा चार करोड ५२ लाख ४७ हजार रुपैयाँ बरामद गरेको छ ।

तथ्यांकअनुसार नेपाल प्रहरीले स्रोत नखुलेको रकम सबैभन्दा धेरै ०७५/७६ मा १० करोड ८६ लाख दुई हजार नौ सय ९४ रुपैयाँ बरामद गरेको थियो । आव ०७७/७८ मा ६ करोड दुई लाख २५ हजार आठ सय ८२, आव ०७४/७५ मा पाँच करोड ८२ लाख ८५ हजार ६ सय ७९ रुपैयाँ, आव ०७६/७७ मा पाँच करोड ७६ लाख ५९ हजार नौ सय १० रुपैयाँ र चालू आवको मंसिरसम्म नेपाल प्रहरीले स्रोत नखुलेको चार करोड ५४ लाख ६ हजार रुपैयाँ बरामद गरेको देखिन्छ ।

पूर्वडिआइजी मल्लका अनुसार गैरबैंकिङ प्रणालीबाट भएका भुक्तानीको निकै कम हिस्सा मात्रै प्रहरीबाट बरामद हुन्छ । ‘प्रहरीले बरामद गर्ने स्रोत नखुलेको रकम गैरबैंकिङ प्रणालीबाट भएका भुक्तानीमध्येकै केही हिस्सा मात्र हो । यीमध्ये अधिकांश रकम अवैध धन्दामा संलग्न हुनेका हुन सक्छन् । केही भने तीर्थालुका पनि हुन सक्छ ।’

राजस्व अनुसन्धान विभागका प्रवक्ता टंकप्रसाद पाण्डे गैरबैंकिङ प्रणालीमार्फत भइरहेको भुक्तानी प्रहरीबाट बरामद रकमभन्दा निकै बढी हुने बताउँछन् । ‘हामीले मोबाइल एप्स प्रयोग गरी भइरहेको भुक्तानी धन्दामा संलग्नलाई पक्राउ ग¥यौँ । यो त एउटा घटना मात्रै हो । यस्ता कारोबार अन्य ठाउँबाट पनि भइरहेको सूचना प्राप्त भएको छ । हामी अनुसन्धानरत छौँ । यसले गैरबैंकिङ प्रणालीबाट हुने भुक्तानी बढिरहेको देखाउँछ,’ उनले भने ।

गैरबैंकिङ प्रणालीबाट हुने भुक्तानीको सानो हिस्सा मात्रै प्रहरीबाट बरामद

विनास्रोतको रकम बरामद गर्ने मुख्य निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरी हो । दुवै प्रहरीको तथ्यांकअनुसार प्रत्येक वर्ष कम्तीमा स्रोत नखुलेका १२ करोड रुपैयाँभन्दा धेरै बरामद हुन्छन् । नेपाल प्रहरीको ५३ महिनाको तथ्यांक हेर्दा स्रोत नखुलेको ३३ करोड एक लाख ८० हजार चार सय ६५ रुपैयाँ बरामद भएको छ । त्यस्तै, सशस्त्र प्रहरीले वर्ष दिनकै अवधिमा चार करोड ५२ लाख ४७ हजार रुपैयाँ बरामद गरेको छ ।

गैरबैंकिङ भुक्तानी रोक्न राष्ट्र बैंकले बनायो ‘सर्भिलेन्स डिपार्टमेन्ट’

गैरबैंकिङ प्रणालीबाट हुने भुक्तानी दर अस्वाभाविक रूपमा बढ्न थालेपछि नेपाल राष्ट्र बैंकले निगरानीका लागि नयाँ विभाग नै खडा गरेको छ । ‘नन् बैंक फाइनान्सियल इन्स्टिच्युसन सर्भिलेन्स डिपार्टमेन्ट’ नाम दिइएको विभागले आगामी १ फागुनबाट काम गर्नेछ । विभागको नेतत्व राष्ट्र बैंकको निर्देशकबाट हुनेछ । विभागले गैरबैंकिङ प्रणालीबाट भइरहेको भुक्तानीलाई निरीक्षण गर्नेछ र नियन्त्रणका लागि आवश्यक कारबाही गर्नेछ । राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले भने, ‘गैरबैंकिङ प्रणालीबाट हुने भुक्तानी बढेको छ । त्यसलाई रोक्न जरुरी छ । राष्ट्र बैंकले त्यसलाई रोक्न छुट्टै डिपार्टमेन्ट खडा गरेको छ । जसले गैरबैंकिङ प्रणालीबाट भइरहेको भुक्तानीलाई निरीक्षण गर्नेछ । १ फागुनबाट काम गर्नेछ ।

अनलाइन जुवाको भुक्तानी पनि गैरबैंकिङ प्रणालीबाटै

अनलाइन जुवा खेल भइरहेको विशेष सूचनापछि महानगरीय प्रहरी परिसर काठमाडौंको टोली गत सोमबार बौद्धस्थित ३० वर्षीय सुभाष घिसिङबाट सञ्चालित रेस्टुरेन्टभित्र प्रवेश ग¥यो । रेस्टुरेन्टभित्र १५ देखि ३० वर्ष उमेर समूहका युवा–युवती देखिए । सबैका हातमा महँगा मोबाइल थिए । सोही मोबाइलमा डाउनलोड गरिएको एप्समार्फत उनीहरू अनलाइन जुवा खेलिरहेका थिए । जित र हारपछिको रकम उनीहरू अनलाइनबाटै भुक्तानी गर्थे । जसलाई नेपालको कुनै पनि बैंकिङ प्रणालीले चिन्न सक्दैन ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनाली अनलाइनमार्फत हुने जुवा झाँगिँदै गएको पछिल्ला गतिविधिबाट पुष्टि हुने बताउँछन् । उनी भन्छन्, ‘१० दिनको प्रहरी अप्रेसनमा विभिन्न अनलाइन जुवा खालबाट ८८ अभियुक्त पक्राउ परेका छन् । उनीहरूले हारजितपछिको रकम अनलाइनमार्फत नै भुक्तानी गरेको देखिन्छ । यो गतिविधि पछिल्ला दिन बढ्दै गएको छ । नियन्त्रणका लागि प्रहरी मात्र होइन, अभिभावकसमेत सचेत हुन जरुरी देखिन्छ ।’

क्रिप्टोकरेन्सी कारोबार पनि गैरबैंकिङ

नेपालमा क्रिप्टोकरेन्सी पनि गैरबैंकिङ कारोबार हो । यसलाई नेपालको कानुनले प्रतिबन्ध लगाएको छ । तर, पछिल्ला दिन यस्ता कारोबारसमेत अस्वाभाविक रूपमा बढ्दै गएका छन् । यसबाट सचेत रहन राष्ट्र बैंकले सूचना नै जारी गरेको छ । भर्चुअल तथा क्रिप्टोकरेन्सीसँग सम्बन्धित हाइपर फन्ड, जोसिअल, क्राउड–१, सोलम्याक्स ग्लोबलजस्ता पिरामिड शैलीबाट हुने कारोबार गैरकानुनी रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तो कारोबारबाट स्वदेशी पुँजी सजिलै बिदेसिएकाले संलग्न जो–कोहीलाई कानुनअनुसार कारबाही गरिने सूचनामा उल्लेख छ । ‘भर्जुअल वा क्रिप्टोकरेन्सीले कानुनी मान्यता पाएको छैन । तर, गैरकानुनी वित्तीय औजारमा आबद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैध तरिकाले रकम बाहिरिँदा स्वदेशी पुँजी पलायन हुने भएकाले कारोबारमा संलग्न जो–कोहीलाई प्रचलित कानुनअनुसार कारबाही हुनेछ,’ राष्ट्र बैंकले भनेको छ, आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले समाचार लेखेका छन् ।