
सुनसरी, २२ माघ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकार स्थानीय तहको निर्वाचनतर्फ जान नचाहेको बताएका छन् ।
महासचिव पोखरेलले सरकारले निर्वाचन गर्न नचाहेको भन्दै आन्दोलनको आँधी बेहरी सिर्जना गर्ने चेतावनी दिएका छन् ।
शनिबार प्रेस चौतारी सुनसरीले २४औँ स्थापना दिवसको अवसरमा धरानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय सरकारलाई जनप्रतिनिधिविहीन बनाउने खेलमा गठबन्धन सरकार लागेको बताए ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति तोक्न सरकारलाई आग्रह गरेपनि सरकारले नमानेको पोखरेलले बताए ।
‘निर्वाचन आयोगले एक प्रकारको सम्झौता गरी ४ जेठमा चुनाव गराउन निर्देशन दिएको छ । संसद्ले बनाएको कानुनले त झन् दुई महिना अगावै चुनाव गर्ने प्रावधान राखेको छ । त्यसको त अवज्ञा भएको छ नै आयोगको समेत बेवास्ता गरेको छ,’ महासचिव पोखरेलले भने ।
उनले एमालेको बढ्दो लोकप्रियता देखेर परमादेशबाट केपी ओली सरकार हटाउने खेल भएको र त्यस्को पीडा मुलुकले अहिले भोग्नु परेको बताए । ‘सरकार सरकार जस्तो छैन, संसद् संसद् जस्तो छैन, अदालत अदालत जस्तो छैन । यस्तो किन भयो भन्दा मुलुकलाई गलत बाटोमा लैजानको खेल हो,’ पोखरेलले भने ।
उनले छिमेकी देश भारतले सीमानाका लिपुलेक, लिम्पियाधुरा सडक बनाउन अघि बढ्दा पनि सरकारले कुनै चासो नदिनुले गठबन्धन सरकार जनताको हित विपरीत काम गरिरहेको प्रष्ट भएको बताए ।















प्रतिक्रिया