३० आश्विन २०८३, शुक्रबार

एमालेको चुनावी रणनीति : सत्ताइतरका शक्तिसँग गठबन्धन, प्रभावशाली व्यक्तिलाई पार्टी प्रवेश

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० माघ । एमसीसी सम्झौता र चुनावी गठबन्धनको विषयमा सत्तारुढ गठबन्धनभित्र खटपट देखिएको समयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने स्थानीय चुनावलाई ध्यानमा राखेर दुई रणनीति अघि बढाएको छ ।

नेकपा र त्यसपछि एमाले विभाजित भएपछि पुगेको क्षतिलाई माओवादी तथा अन्य दलका नेताहरुलाई प्रवेश गराएर पूर्ति गर्ने र सत्ता बाहिर रहेका विभिन्न दलहरुसँग सहकार्य गरेर सत्तारुढ गठबन्धनलाई टक्कर दिने रणनीति अख्तियार गर्ने देखिएको छ ।

एमसीसीको विषयमा सत्ता गठबन्धनको प्रमुख दल कांग्रेस तथा अन्य दलहरु नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी दुई कित्तामा देखिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पारित गराउने पक्षमा देखिएका छन् भने मा‌ओवादी केन्द्र र एकीकृत समाजवादी परिमार्जन बिना एमसीसी पारित गराउन नहुने पक्षमा रहेका छन् ।

त्यसैगरी आसन्न तीनै तहको चुनावमा कुनै दलसँग गठबन्धन नगरी एक्लै प्रतिस्पर्धामा जानुपर्ने कांग्रेसभित्र मत बलियो बन्दै गएको छ । जसले चुनाव पुग्दासम्म गठबन्धन तोडिनसक्ने अनुमान कतिपयको छ ।

कांग्रेस जस्तै एमालेका नेताहरु औपचारिक प्रतिक्रिया दिँदा एक्लै चुनावी प्रतिस्पर्धा जाने बताउँँछन् । तर सत्तारुढ गठबन्धनलाई टक्कर दिनका लागि प्रमुख प्रतिपक्षी दल एमालेले सहकार्यको संभावना बोकेका दलहरुसँग सम्पर्क बढाउन सुरु गरिसकेको छ ।

गत साता भएको राष्ट्रिय सभा चुनावबाट एमालेले त्यसको संकेत पनि दिएको छ । मधेस प्रदेशमा राष्ट्रिय सभा चुनावका लागि एमाले र महन्थ ठाकुर नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच चुनावी गठबन्धन भएको थियो ।

सत्तारुढ पाँच दलीय गठबन्धनमा संख्यात्मक रुपमा निकै बलियो अवस्थामा रहेको त्यस प्रदेशमा गरिएको गठबन्धनलाई कतिपयले तीनै तहको चुनावको पूर्वाभ्यास रुपमा हेरेका छन् ।

एमालेले लोसपासँग मात्रै नभएर राप्रपादेखि नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग पनि चुनावी सहकार्य गर्न चाहेको छ । राप्रपा र नेकपा जस्तो देशभर संगठन भएको र क्षेत्रीय रुपमा सक्रिय रहेका विभिन्न दलहरुसँग सहकार्य गर्न चाहेको छ । जसमा भर्खरै लोसपासँग छुटिएर नेपाल उन्मुक्ति पार्टी गठन गरेका रेशम चौधरी, हृदयेश त्रिपाठीको जनता प्रगतिशील पार्टी, सिके राउतको जनमत पार्टीसम्म रहेका छन् ।

एमाले प्रचार विभागमा उपप्रमुख विष्णु रिजाल पार्टीविरुद्ध जारी गठबन्धनलाई कमजोर बनाउनका लागि अर्को गठबन्धन निर्माण हुने बताउँछन् । रिजाल गठबन्धन निर्माण गर्नु कार्यनीतिको एउटा पाटो भएको बताउँछन् ।

‘एमालेविरुद्ध भैरहेको मोर्चाबन्दीलाई हरसंभव पराजित गर्नु पहिलो प्रयास हुन्छ । यो घेराबन्दीलाई कमजोर बनाउने हो । त्यसका लागि जुन-जुन शक्तिलाई लिएर जान सकिन्छ त्यसलाई साथमा लिएर जान्छौं । अन्यका विरुद्ध भन्दा पनि आफ्नो अनुकुल हुने गरी गठबन्धन गर्ने हो’ रिजाललेे भने ‘जसको संकेत मधेस प्रदेशमा लोसपासँग राष्ट्रियसभा चुनावमा गरेका थियौं । अन्यत्र पनि संभव हुने शक्तिसँग हामी हातेमालो गर्छौं । जुन रुपमा असंवैधानिक कदम चाल्नका लागि गठबन्धन गरिएको छ त्यसलाई परास्त गर्नका लागि कदम चालिने छ ।’

पछिल्लो समयमा एमालेले विगतमा आफूसँग कुनै कुनै रुपमा जोडिएका शक्तिसँग सहकार्यलाई अघि बढाउन खोजेको छ । लोसपाका नेता जितेन्द्र सोनाल मिश्रित निर्वाचन प्रणाली रहेको नेपालमा चुनावहरुमा गठबन्धनकै राजनीति अघि बढ्ने बताउँछन् ।

‘एमालेसँगको गठबन्धन राष्ट्रियसभा चुनावसम्मका लागि थियो । तर आगामी दिनमा कसरी अघि बढ्ने आगामी दिनमा छलफल हुन्छ । त्यसपछि मात्रै ठोस निर्णयमा पुग्छौं’ सोनालले भने, ‘मिश्रित निर्वाचन प्रणाली अपनाएको कारण एउटा मात्रै दललाई बहुमत ल्याउन गाह्रो हुने इतिहासले देखाएको छ । राजनीतिक स्थायित्वका लागि यस्तो गठबन्धनको राजनीति अघि बढ्छ । तर कुन दलसँग गर्ने भनेर छलफल हुन बाँकी छ ।’

नेपालमा ६० प्रतिशत प्रतिनिधि प्रत्यक्ष निर्वाचन र ४० प्रतिशत समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुन्छन् । राजनीति विश्लेषक तुलानारायण साह यसपटक गठबन्धनहरुबीच चुनाव हुने बताउँछन् ।

‘यो पटक पनि गठबन्धन बनाएरै चुनाव लड्ने हुने संभावना विगतमा जस्तै छ । मधेसमा उपेन्द्र यादव र महन्थ ठाकुरबीच बढेको तिक्तताको कारण अघिल्लो चुनाव जस्तो मधेसवादी दलको गठबन्धन बन्ने संभावना निकै कम छ । मधेसमा लोसपा र एमालेबीचको गठबन्धनको संभावना निकै बढी छ’ साहले भने ‘राष्ट्रियसभाको चुनावमा पनि एमाले र लोसपाबीच गठबन्धन बनेको र विगतमा सत्तामा पनि साझेदारी भएको थियो । अहिले ओली र ठाकुर दुबैको साझा शत्रु उपेन्द्रजी बनेका छन् । त्यसको कारण पनि दुबैबीचको गठबन्धनको संभावना छ ।’ उनी समग्रमा राजनीतिमा ओली भर्सेस अन्य नेता र मधेसमा यादव भर्सेस अन्य नेताबीचको गठबन्धन हुने बताउँछन् ।

गत आमनिर्वाचनदेखि दलहरुले चुनावको समयमा गठबन्धनको अभ्यास गर्दै आएका छन् । स्थानीय तहको निर्वाचनमा एक्लाएक्लै प्रतिस्पर्धा गरेका दलहरुले संघ र प्रदेशको चुनावमा गठबन्धन गरेका थिए । एमाले र माओवादी केन्द्रबीचको बामपन्थी र संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीच गठबन्धन भएको थियो । त्यस समयमा कांग्रेस एक्लै प्रतिस्पर्धा गरेको थियो । संघीय प्रतिनिधिसभामा १ सय ६५ सांसदको प्रत्यक्ष चुनावमा कांग्रेसले २३ स्थानमा मात्रै जीत हासिल गरेको थियो ।

चन्द नेतृत्वको नेकपाका नेता धमेन्द्र बाँस्तोला एमाले मात्रै नभएर अन्य राजनीतिक दलहरुबाट सहकार्यको विषय आएको बताउँछन् । ‘ओली प्रधानमन्त्री हुँदा उहाँहरुले सरकारमा आउनेदेखि पार्टी एकतासम्मको प्रस्ताव गर्नु भएको हो’ बाँस्तोलाले भने, ‘एमाले मात्रै नभएर अन्य दलहरुले समेत एकतादेखि सहकार्यका प्रस्तावहरु छन् । अहिले पनि सबैले सम्पर्क गर्नु भएको छ ।’

बाँस्तोलाले भने संसदीय प्रणाली समस्याग्रस्त रहेको भन्दै त्यसको विकल्प खोज्नु पर्ने विषयमा सहमत हुनुपर्ने धारणा राख्ने गरेको बताए । टीकापुर काण्डपछि आजीवन जेल जीवन विताइरहेका चौधरीको कैलाली र कञ्चनपुरको थारु बाहुल रहेको क्षेत्रमा प्रभाव छ । २०७४ सालको आमनिर्वाचनमा जेलबाटै चुनाव लडेका चौधरीले कैलाली १ बाट २१ हजार मतान्तरले चुनाव जितेका थिए ।

गत आम निर्वाचनमा एमालेको चुनाव चिन्ह लिएर स्वतन्त्र हैसियतमा चुनावी प्रतिस्पर्धा गरेका त्रिपाठीले मंसिरमा नयाँ दल जनता प्रगतिशील पार्टी खोलेका छन् । लुम्बिनी प्रदेशको तराई क्षेत्र त्रिपाठीको प्रभाव क्षेत्र हो । ‌ओली प्रधानमन्त्री हुँदा त्रिपाठीलाई स्वास्थ्यमन्त्री बनाएका थिए । ‘अहिलेसम्म त्रिपाठी र चौधरीको पार्टीले आकार लिइसकेका छैनन्’ विश्लेषक साहले भने, ‘अहिले त्रिपाठीको लुम्बिनीको मधेस क्षेत्रमा प्रभाव रहेको छ । चौधरी एउटा परिस्थितिमा चुनाव लड्दा जित्नु भएको छ । त्यो पार्टी कसरी अघि बढ्छ । त्यो भने हेर्नुपर्ने हुन्छ ।’

एमालेले तराईमा लोसपा मात्रै नभएर किसानको मुद्दा उठाएर मधेसमा आफ्नो प्रभाव विस्तार गर्न खोजिरहेका सिके राउतसँग सहकार्य खोजिरहेको छ । एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुँदा राउत पृथकतावादी आन्दोलन त्यागेर मूलधारमा राजनीतिमा फर्किएका थिए ।

सुरुमा आफ्नै सरकारले लगाएको चन्द नेतृत्वको नेकपामाथि प्रतिबन्ध ओलीले प्रधानमन्त्री हुँदा खुला गरेका थिए । सशस्त्र गतिविधि रोक्न नेकपा सहमत भएपछि सरकारले सम्झौता गरेको थियो । राप्रपासँग पनि ओलीको लामो समयदेखि सहकार्य रहँदै आएको छ । गत चुनावमा राप्रपाको देशव्यापी गठबन्धन भएपनि झापामा राप्रपा र एमालेभित्र चुनाव सहकार्य भएको थियो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्रमा एकले अर्कोलाई सघाएका थिए ।

गत साता भएको राष्ट्रिय सभा निर्वाचनमा दुवै दलबीच प्रदेश १ मा सहकार्य गर्ने विषयमा भएको सहमति अन्तिम समयमा आएर भाँडिएको थियो । झापाका एमाले नेता तथा स्थानीय निकाय विभागका प्रमुख देवेन्द्र दाहालले राप्रपाका अध्यक्ष लिङदेन र उपाध्यक्ष बुद्धिमान तामाङसँग सहकार्यको विषयमा पटक पटक छलफल गरेका थिए ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठ राष्ट्रियसभा चुनावमै सहकार्य हुने विषयमा छलफल भएको बताए । ‘त्यस समयमा देवेन्द्र दाहालसँग प्रदेश १ मा राप्रपा र एमालेबीच सहकार्यको विषयमा छलफल भएको थियो’ श्रेष्ठले भने, ‘राप्रपाको आन्तरिक विषयको कारण त्यस समयमा सहकार्य हुन सकेन । एमालेसँग चुनावहरु पटक पटक सहकार्य हुँदै आएको हो ।’

राप्रपालाई तीन मध्ये एक स्थान दिन एमाले तयार रहेको थियो । ३ मध्ये एमालेले प्रदेश १ बाट एक मात्रै सांसद जित्यो । अन्य समूहमा एमाले र गठबन्धनका उम्मेदवारबीच मत बराबरी भएपछि गोला तानेर सांसद छनोट गरिएको थियो । जसमा गठबन्धनको उम्मेदवार विजयी भएका थिए ।

अन्य दलका नेता तान्ने

एमालेको गत मंसिरमा चितवनमा भएको दसौं महाधिवेशनमै एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका थिए । पछिल्लो समयमा अन्य दलहरुको नेता तथा कार्यकर्तालाई पार्टीमा प्रवेश गराउने कार्यलाई एमालेको जोड रहेको छ । जसको केन्द्रमा माओवादीलाई राखिएको छ ।

‘माओवादीको हिजो जनयुद्ध लडेर आएको तप्का एमालेमा समाहित भएको छ । उहाँहरु पनि जनाधार भएकै नेताहरु हुनुहुन्छ’ उप प्रमुख रिजाल भन्छन, ‘गाउँ कमिटीसम्म हामीले अधिवेशन गर्यौं । त्यसमा कुनै पनि कमिटी छैन जसमा पूर्व माओवादी पृष्ठभूमिबाट आएका नेता नभएको होस ।’

गाउँ कमिटीसम्ममा कम्तीमा एक जना भएपनि माओवादी पृष्ठभूमि भएका नेतालाई कमिटीमा समावेश गर्ने नीति बनाएको छ । माओवादीबाट आएकाहरुलाई जिम्मेवारी दिँदा प्राथमिकतामा राखेका छन् ।

अन्य दलहरुबाट पनि एमालेले पार्टी प्रवेशलाई जोड दिने गरेको छ । बाँकेबाट पूर्व सांसद पशुपतिदयाल मिश्र मात्रै नभएर जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य रामकुमार दीक्षितलाई प्रवेश गराएको छ । कपिलवस्तुमा पटक पटक चुनाव लडेर केही हजार मत ल्याउन सफल भएका मंगलप्रसाद गुप्तालाई पनि अध्यक्ष ओलीले स्वागत गर्दै एमालेमा भित्र्याएका छन् । पर्साको जगरनाथपुर गाउँपालिकामा अध्यक्ष जालिम मियाँलाई एमालेका प्रवेश गराउन अध्यक्ष ओली वीरगञ्ज पुगेका थिए । सोमबार मात्रै इलाममा माओवादी केन्द्रका स्थानीय तह जितेका एक मात्रै वडाध्यक्ष एमाले प्रवेश गरेका छन् ।

२०७४ सालको संघीय तथा प्रदेश प्रतिनिधिसभाका लागि एमाले र माओवादी केन्द्रबीच चुनाव गठबन्धन भएको थियो । त्यसले केन्द्रमा करिब दुई तिहाई स्थान र सात मध्ये ६ प्रदेशमा जीत हासिल गरेको थियो ।

एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ मा एकता गरेपछि बनेको नेकपा २०७७ फागुन २३ को सर्बोच्चको फैसलापछि विभाजित भएको थियो । त्यसैगरी एमाले पनि गत भदौ २ गते विभाजित हुन पुगेको थियो । एमालेको आन्तरिक मूल्याकंनमा विभाजनले सुदुर पश्चिम, कर्णाली र मधेश प्रदेसमा बढी क्षति पुर्‍याएको छ, आजको कान्तिपुर दैनिकमा मणि दाहालले समाचार लेखेका छन् ।