
काठमाडौं, १९ माघ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले विभिन्न धार्मिक एवम् सांस्कृतिक चाडपर्वहरु नेपालको गौरव भएको बताएका छन् ।
तामाङ समुदायको महान् सांस्कृतिक पर्व सोनाम ल्होच्छारको अवसरमा शुभकामना सन्देश जारी गर्दै उपराष्ट्रपति पुनले सो कुरा बताएका हुन् । ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त विशेषताले भरिपूर्ण धर्मनिरपेक्ष मुलूक हो,’ उनको सन्देशमा भनिएको छ, ‘हिमाल, पहाड, तराई–मधेसको भौगोलिक विविधता र यहाँ बसोबास गर्ने विभिन्न समुदायको मौलिक संस्कार, संस्कृति र धार्मिक एवम् सांस्कृतिक चाडपर्वहरु हाम्रो गौरव हुन् ।’
विभिन्न प्रकारका यस्ता चाड पर्वहरुले नेपालको सामाजिक सद्भावलाई सुदृढ् र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएको उनको भनाइ छ । ‘तामाङ समुदायको महान् सांस्कृतिक पर्व तथा नयाँ वर्ष सोनाम ल्होच्छार–२८५८ को अवसरमा देश–विदेशमा रहनुभएका तामाङ दिदीबहिनी तथा दाजुभाइ र आम नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु,’ उनले अगाडि भनेका छन्, ‘काठमाडौं उपत्यका आसपासमा आदिमकालदेखि बसोबास गर्दै आएका तामाङ समुदायको मौलिक भाषा, लिपि, संस्कृति, रितिरिवाज, भेषभुषासहितको पहिचान छ । तामाङ सेलो गीत, टुङना र डम्फुको संगीत आज नेपालका सम्पूर्ण जातजातिको लोक भाकाको अभिन्न अंग बनेको छ । भाषा, संस्कार र संस्कृतिमा तामाङ समुदाय समृद्ध छ ।’
मान्यजनबाट टिका थाप्ने, आर्शीवाद लिने, खालुम, खाप्से, ड्यासिल, गुथुक जस्ता मौलिक परिकार खाने, जमघट, नाचगान गरेर मनाइने तथा आपसी सद्भाव, प्रेम, भातृत्व, सहिष्णुता र एकताको पर्वको रुपमा पनि लिइने सोनाम ल्होच्छारले सम्पूर्ण नेपालीहरुका बीच आपासी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्ने अपेक्षा उनले लिएका छन् ।
विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि सरकारद्वारा जारी नियमको पूर्ण पालना गरेर ल्होच्छार मनाउन पनि उनले आग्रह गरेका छन् ।















प्रतिक्रिया