२९ आश्विन २०८३, बिहिबार

दरबन्दीअनुसार स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही मारमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोटाङ, ४ वैशाख । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा दरबन्दीअनुसारका स्वास्थ्यकर्मी नहुँदा त्यस क्षेत्रका सर्वसाधारण मारमा परेका छन् ।

स्वास्थ्य मन्त्रालयको एक प्राथमिक स्वास्थ्य केन्द्र, एक मेडिकल अधिकृत भन्ने अवधारणा भएपनि तोकिएअनुसारको स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही मारमा परेका हुन् ।

एक मेडिकल अधिकृतसहित १३ जनाको दरबन्दी रहेको उक्त प्राथमिक स्वास्थ्य केन्द्रमा हाल छ जना स्वास्थ्यकर्मीले सेवा दिँदै आएका छन् । कार्यालय प्रमुखको रुपमा काम गरिरहेका वरिष्ठ अहेब राजकुमार दासका अनुसार मेडिकल अधिकृत र स्टाफनर्स हालसम्म कार्यालयमा उपस्थित नै भएका छैनन् ।

सरकारले पर्याप्त भवन बनाइदिएको भएपनि त्यो प्रयोगविहीन भएको छ । यस विषयलाई लिएर पटक–पटक स्वास्थ्य मन्त्रालय गएपनि सुनुवाइ नभएको खोटाङ क्षेत्र नम्बर–२ बाट निर्वाचित सभासद् विशाल भट्टराईले बताउनुभयो ।

स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मी नहुँदा विशेषगरी सुत्केरी र शव परीक्षणमा समस्या भएको स्थानीयवासीको भनाइ छ । उनीहरू भन्छन्, “स्वास्थ्यकर्मी नहुँदा अधिकांश बिरामी हेलिकेप्टर चार्टर गरेर बाहिर लैजानुपर्छ, उपचार खर्चभन्दा यातायात भाडा धेरै तिर्नुपर्दा समस्या भएको छ ।”

त्यस क्षेत्रमा हुने घटना तथा दुर्घटनामा मृत्यु भएकाको शव परीक्षण गर्न रु २५ देखि ३० हजार खर्च गरेर उदयपुरको गाईघाट अथवा दिक्तेल पु-याउनुपर्ने बाध्यता रहेको स्वास्थ्य सहयोग समितिका अध्यक्ष देवेन्द्र श्रेष्ठले बताउनुभयो ।