३० आश्विन २०८३, शुक्रबार

राष्ट्रिय सभा निर्वाचनमा एमालेलाई क्लिनस्विप गर्न सत्तागठबन्धन असफल

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ माघ । राष्ट्रिय सभाका १९ सदस्यका लागि बुधबार सम्पन्न निर्वाचनमा पाँचदलीय सत्तागठबन्धनका १८ उम्मेदवार विजयी भएका छन् ।

आगामी २० फागुनमा समयावधि सकिन लागेका सिटका लागि भएको निर्वाचनमा प्रमुख प्रतिपक्षी एमालेका एकजना विजयी भएका हुन् । प्रदेश १ मा एक सिट जितेर एमाले ‘क्लिनस्विप’ हुनबाट बचेको छ ।

निर्वाचन आयोगका अनुसार सातै प्रदेशका गरी १९ रिक्त पदमा नौ राजनीतिक दलका ४३ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र सात अन्य समूहका उम्मेदवार निर्वाचित भएका छन् । सदस्यको पदावधि समाप्त हुनु ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधानअनुसार निर्वाचन भएको हो ।

निर्वाचनका लागि प्रदेश सभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता छन् । स्थानीय तहका एक हजार चार सय ९३ र प्रदेश सभाका पाँच सय ३२ मतदाता थिए । तर, १८ जना मतदाता अनुपस्थित रहे । प्रदेश सभा सदस्यको मतभार ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुन्छ ।

पाँचदलीय सत्तागठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले सिट बाँडेर संयुक्त उम्मेदवारी दिएका थिए । निर्वाचनमा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार पनि थिए । मधेस प्रदेशमा एमाले र लोसपाबीच तालमेल भएको थियो ।

सत्तागठबन्धनमा रहेका दलहरूले आफ्ना सिट यथावत् राखेर एमालेका खाली हुने आठ सिटमा भागबन्डा गरेका थिए । आगामी २० फागुनमा एमालेका आठ, एकीकृत समाजवादीका चार, माओवादी केन्द्रका चार र कांग्रेसका तीन राष्ट्रिय सभा सदस्यको पदावधि समाप्त हुँदै छ । गठबन्धनले एमालेलाई आफ्ना आठ सिट जोगाउन कठिन बनाइदिएको थियो ।

रिक्त १९ सिटमध्ये जुन पार्टीबाट सदस्य पद रिक्त भएको त्यो सिटमा सोही पार्टीलाई उम्मेदवारी दिने गठबन्धनबीच सहमतिअनुसार उम्मेदवारी परेको थियो । एमालेसँग भएका आठ सिटमा भने कांग्रेसलाई तीन, जनता समाजवादी पार्टी नेपाललाई दुई तथा माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चालाई एक–एक सिट बाँडेर उम्मेदवारी दिएका थिए।

त्यसमध्ये जसपाले पाएको प्रदेश १ को एउटा सिटमा गठबन्धनले जित निकाल्न सकेन । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै सातै प्रदेश मुकामको निर्वाचन केन्द्रमा उत्साहजनक र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको बताए, आजको नयाँ पत्रिका दैनिकले ‘राष्ट्रिय सभामा सत्तागठबन्धनको वर्चश्व, क्लिनस्विपबाट जोगियो एमाले’ शीर्षकमा
समाचार लेखेको छ ।