२९ आश्विन २०८३, बिहिबार

नवीकरणीय ऊर्जामा साढे दुई अर्ब दिने नर्वेको घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Flag-Pins-Nepal-Norway

काठमाडौँ, ३ वैशाख । नर्वेले नेपालको नवीकरणीय ऊर्जा क्षेत्रको विकासका लागि रु दुई अर्ब ५० करोड अतिरिक्त सहायता उपलब्ध गराउने घोषणा गरेको छ ।

नेपालको दुईदिने भ्रमण पूरा गरी स्वदेश फर्कनुअघि नर्वेका विदेश राज्यमन्त्री मोर्टेन हगलन्डले नेपाल सरकारको सबैका लागि दिगो ऊर्जा कार्यक्रम कार्यान्वयन गर्न नर्वेली सहयोगको घोषणा गर्नुभएको हो ।

स्वदेश प्रस्थान गर्नुअघि राजधानीमा आयोजित पत्रकारसम्मेलनमा उहाँले नेपालको जलविद्युत्को क्षेत्र र नवीकरणीय ऊर्जाका निम्ति नर्वेली सहयोग निरन्तर जारी रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

नर्वेले नेपाल सरकारलाई आफ्नो दीर्घकालीन विकास साझेदारका रुपमा चयन गरेको जानकारी गराएको बताउँदै उहाँले नवीकरणीय ऊर्जा, शिक्षा र सुशासन प्रवद्र्धनमा द्विपक्षीय विकास सहायता केन्द्रित रहने स्पष्ट पारेको उल्लेख गर्नुभयो । दीर्घकालीन साझेदारका रुपमा नेपालसहित विश्वका १२ मुलुक चयन भएका जानकारी पनि उहाँले दिनुभयो ।

सन् २०२२ सम्ममा अतिकम विकसित मुलुकबाट स्तरोन्नतिको लक्ष्यका साथ अग्रसर भएको नेपाललाई नर्वेले सहयोग गर्ने जानकारी पनि नेपालका उच्चअधिकारीहरूलाई आफूले गराएको बताउँदै उहाँले भन्नुभयो, “नेपालको आर्थिक वृद्धिको बाहक जलविद्युत् भएकाले स्वच्छ ऊर्जा र त्यसको निपूर्णतामा नर्वेको निरन्तर सहयोग रहनेछ ।”

जलविद्युत्को विकासबाट मात्र समस्या समाधान नहुने भएकाले प्रसारण लाइन पनि सँगसँगै निर्माण गर्नुपर्नेमा जोड दिँदै उहाँले त्यसका निम्ति स्वदेशी एवम् विदेशी लगानी अपरिहार्य रहेको बताउनुभयो ।