
हेटौंडा, २२ पुस । नेकपा एमाले निकट विद्यार्थी संगठन नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) मकवानपुरले विद्यार्थीले सार्वजनिक बसमा पाउनुपर्ने ४५% भाडा छूटको पूर्ण कार्यान्वयन हुनुपर्ने माग गरेको छ ।
हिजो बुधबार हेटौंडास्थित न्यूज क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अनेरास्ववियु मकवानपुरका अध्यक्ष विशाल पौडेलले जिल्लाका साझा बस र सार्वजनिक बसहरुले विद्यार्थीहरुलाई भाडा छूट नदिएको बताउँदै यस्तो माग गरेका हुन् ।
‘सार्वजनिक बसहरुले विद्यार्थीहरूलाई भाडा छूट नदिएको धेरै गुनासो आएसँगै हामीले विद्यार्थीले पाउनुपर्ने अधिकारका लागि सम्बन्धित निकायहरुलाई ध्यानार्षण गराउने र अटेर गरे आन्दोलनमा उत्रने निचोड निकालेका छौं,’ उनले भने ।

उनले काठमाडौं उपत्यकामा भाडा छूट संस्थागत भएको बताउँदै मकवानपुरमा पनि संस्थागत गर्न आन्दोलनको तयारी गरेको बताए । उनले यसअघि पनि सार्वजनिक बसहरुले भाडा छूट नदिएको र अनेरास्वियू मकवानपुरले आवाज उठाएपछि माग सम्बोधन भएको बताउँदै पछिल्लो समयमा यातायात व्यवसायीहरुले विभिन्न बहानामा भाडा छूट दिन नमानेको जानकारी दिए । भाडा छूटलाई संस्थागत गर्न पुनः आन्दोलन गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।
अध्यक्ष पौडेलले भने, ‘हामीले यातायात व्यवसायीहरूलाई ध्यानावकर्षण गराइरहेका छौं । तर व्यवसायीहरूले अटेर गर्ने, अवहेलना गर्ने र विद्यार्थीलाई गलत व्यवहार गर्ने गरेको पाइएको छ । अब हामी प्रशासन, स्थानीय तह र सम्बन्धित निकायलाई पुनः ध्यानाकर्षण गराउँछौं । माग सम्बोधन नभए कडा आन्दोलनमा उत्रन बाध्य हुन्छौं ।’ राज्यबाट विद्यार्थीलाई प्राप्त उक्त अधिकारको प्रत्याभूत गराउन यातायात व्यवसायीहरुलाई उनले अनुरोध समेत गरेका छन् ।















प्रतिक्रिया