३० आश्विन २०८३, शुक्रबार

विक्रम सम्बत भारतीय कि नेपाली सम्बत ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kavita-ram-shrestha

विक्रम सम्बत् वा शक सम्बत् आयातित सम्बत् मानिने हुँदा नेपालका माटोप्रेमीहरु नेपाल सम्बतलाई  नै नेपाली गर्बको सम्बत् मान्दछन् । भनिन्छ, यसलाई संयुक्त राष्ट्र सङ्घमा नेपाली राजकीय सम्बतको रुपमा समेत दर्ज गराइएको छ । ०४६ सालको राजनीतिक परिवर्तनपछि त यसका सँस्थापक शङ्खधरलाई विभूति मानेर राजकीय सम्मान दिइएको हुँदा भन्नैपर्छ, यो सम्बतले राजकीय सम्बतको रुप नपाए पनि राजकीय सम्मान भने पाएकै हो । आयातित मानिएको विक्रम सम्बतले राजकीय स्थान पाउँदा धेरै राष्ट्रबादी चिन्तकहरु नेपाल सम्बत् लाई नै यस स्थानमा बिराजमान गराउन चाहन्छन् । मेरो सोच भने विक्रम सम्बत् आयातित भएपनि बिदेशी भने मानिहाल्न हुन्न हुन्न यो साझा सम्बत् हो भन्ने रही आएको छ । आफ्नै माटोको नेपाल सम्बतलाई स्थापित गर्न विक्रम सम्बत्लाई विदेशी बनाइ राख्न कत्ति जरुरी छैन । कयौँ आयातित मूल्य र मान्यता हामीहरुसँग यस्ता छन् – जो हामीसँग आफ्नै माटामा सिर्जित भएकाको तुलना बढी प्रचलनमा छन्, जसको पोषण र प्रवद्र्धनमा हाम्रा उल्लेखनीय लगानी रहिआएको छ ।

विक्रम सम्बत् आज भारतमा पर्ने मालवीका राजाले स्थापित गरेका र उनैको नामबाट यसलाई निरन्तरित गरिएको हुँदा बिदेशी सम्बत् भनिने गरिएको हो । तर विवेचनानीय यो छ कि जुनबेला यसको शुरुवात भयो त्यस बेला न नेपाल बनेको थियो न भारत । यी भूमिहरु हज्जारौँ जनपदमा बाँडिएका थिए र कहिले कुन कहिले कुन सयौँ राज्यहरु अन्तर्गत यता र उता हज्जारौँ पटक परेका थिए । उत्तरमा मानसरोबरदेखि दक्षिणसम्म गंगा नदीसम्म र पूर्वमा कामारुप ब्रह्मपूत्रदेखि पश्चिममा हिन्दुकुश पर्वतसम्म फैलिएका हिमबत खण्डका भूमीले अनेकन मूल्य र मान्यताहरु सिर्जना गरे । ती सबलाई शदियौँ लगाएर परिष्कार गरे । यी अबधीमा यसभूमीमा हज्जारौँ होइन, लाखौँ राज्यहरु स्थापित भए र नाशिए पनि तर ती साँस्कृतिक निधिहरुको निरन्तरता तथा परिष्कार प्रकृया कहिल्यै रोकिएन । यी युगौँसम्म निरन्तरित साझा निधिमा त्यसैले कसको के र कति योगदान रहे भन्ने कुरा यकिन् गर्न कदाचित सकिन्न र यसै हचुवाको भरमा बोल्न मूर्खता सिवाय अरु हुनै सक्दैन । त यो विक्रम सम्बतलाई कसको भन्ने विषेश यस अवस्थामा कि यो निरन्तरित हुँदा न भारत न नेपाल दुवै देश बनेकै थिएनन् ।

bikram-sambat1

विक्रम सम्बतका संस्थापक विक्रमादित्य आजका भारतीय भूमीका होइनन् तर नेपाली भूमीकै हुन् भन्ने धारणाहरु नेपालमा नभएको होइन । इतिहासले प्रमाण नदिए पनि अनेकन लोककथा र स्मारकहरुले यस कुराको पुष्टि गर्दछन् । जस्तै: एउटा कथाले भन्दछ कि बत्तिसपुतलिमा विक्रमादित्यको सिंहासन भेटिएको थियो र त्यसैमा बसी गोठालाहरुले अनौठा-अनौठा तर सही न्याय दिने गर्दथे, त्यो सिंहासनमा बत्तीसवटा पुतली थिए र त्यही भेटिएको स्थानलाई नै आज बत्तिसपुतली भनिएको हो । यी विक्रमादित्य लिच्छवि राजा भूमीवर्मा भएको र यीनको राजधानी विशालनगरमा भएको विद्वानहरु आंकलन गर्दछन् । त्यस्तै भाषा वंशावलीले विक्रमादित्य राजाले बज्रयोगिनीवाट पारसमणी सहित आसिरवाद प्राप्त गरी नारायणहिटी स्थापित गरेको उल्लेख दीर्घराज प्रसाईंले आफ्ना लेख “विक्रम संवत्को इतिहास” मा स्पष्ट गर्नुभएको छ । अझ साँखु बज्रयोगिनीको मन्दिरदेखि केही माथि एउटा मन्दिरमा त विक्रमादित्य राजाको टाउकोकै मूर्ति छ र त्यसमा बज्रचार्यहरुद्वारा पूजा गर्ने परम्परा युगौँदेखि चली आएको छ । त्यस्तै नालामा उत्तरापुर राज्यको नाममा विक्रमादित्य राजाले राज्य गरेको किम्वदन्ती पनि प्रचलित छ । बंशावलीका शोधकर्ता वासुपासा “काभ्रेसिन्धु वृतान्त” भन्ने आफ्नो पुस्तकको “विक्रम सम्बत्” भन्ने लेखमा लोकथाको आधारमा भन्नुहुन्छ- “पनौतिमा एउटा युवा ऋषीको स्खलित वीर्य खाएर गर्भवति भएकी युवतिबाट विक्रमादित्यको जन्म भयो र उनै विक्रमादित्य पछि काठमाडौँका राजा बने । उनले पछि वैशालीतर्फ गएर धेरै उल्लेखनीय काम गरे । भारतीय भूमिमा उनले ख्याति बढाएकैले उनलाई भारतीय बनाउने खेलहरु रचिए ।” अर्थात उनी नेपाली हुन् र उनले चलाएका सम्बत् त्यसैले नेपाली नै हो । विक्रमादित्यका यीनै प्रशंगहरु यता लोकथाहरुमा व्याप्त भएकोले विक्रम सम्बत् यीनै राजाका स्थापना हुन् भारतीय हुनै सक्दैन भन्ने भनाइहरु सुन्नमा आइरहेको छ ।

लोककथाबाहेक कुनै यस्ता प्रमाण छैनन् कि आज नेपालले ओगटेको भूमीमा कूनै विक्रमादित्य नामका राजा पनि थिए र उनैले यो विक्रम सम्बत् चलाए । बरु एधारौँ शताब्दीका कर्नाटकका चालुक्यबंशी विक्रमादित्य षष्ठका सामन्त नान्यदेवले ई.सं. १०९७ मा राजा बामदेवको समयमा सिम्रौनगढबाट नेपाल आक्रमण गरी उनका थिती यता बसाल्न खेजेका प्रमाणहरु भने पाइन्छन् । यही तथ्यसँग यो लोककथा गोलमटोल भएको मलाई लागेको छ । यसै प्राक्कल्पनालाइ लिएर म निम्न विवेचना गर्न चाहन्छु ।

विक्रमादित्य आजको नेपालले ओगटेको भूमीकै बासिन्दा थिए भने गर्ब गर्ने कुरा निश्चय नै हुन्छ । जनक र बुद्ध नेपालका भूमीमा जन्मेका थिए भन्दा हाम्रो नाक ठूलै हुन्छ । तर कुनै विभूति आफ्ना देशका थिएनन् भन्दापनि दुःख मान्ने कुरा पनि होइन नै । महाबीर जैन वा राम वा कृष्ण हाम्रा भूमिका परेनन् भन्दा हामीमा उनीहरुप्रति हुने आस्था घटदैनन् नै । हामी एक्काइ शताब्दी अघिका विक्रमादित्यका कुरा गर्दैछौँ । यसबीच हज्जारौँ सानासाना देश तथा जनपदमा बाँडिएका हाम्रा यी भूमी कहिले कता कहिले कता परे । परापूर्वकालका साँस्कृतिक धरोहरहरुलाई आजको राष्ट्रियताको आधारमा तेरोमेरो भनी बण्डा गर्नु निश्चय नै मिल्दो कुरो छैन । आजका भारत, पाकिस्तान, बङ्गलादेश, भूटान, श्रीलङ्का र नेपालका भूभागमा निर्मित सँस्कृति यीनै विस्तृत भूभागमा बस्ने हामी समस्त जातीजनजातीले साझारुपमा विकसित गरेका हौँ । त्यसमा तेरोमेरो छुट्याउन कदाचित सकिन्न ।

bikram-sambat

प्रस्तुत पनौतिका लोककथाको प्रशङ्ग छैठौँ विक्रमादित्यको इतिहाससँग मिल्दैन र पनि उनका सामन्त नान्यदेवले नेपालमा आक्रमण गरेर विजय गरी उनका थिति यता स्थापना गर्दा उनै विजेता विक्रमादित्यको विजयगान वा प्रशस्तिहरु यता प्रवाहित भएको हो भन्ने अड्कल काट्ने ठाउँ भने छ । सानासाना राज्यहरु साचालन गर्ने यताका जनताका लागि हज्जारौँ माइल टाढादेखि सैँयू राज्यहरु एकिकिृत गर्दै नेपालसम्म आउँने राजाको व्यक्तित्व सामान्य हुने कुरै थिएन । अझ यी यस्ता राजा थिए जसले विधिवेत्ता विज्ञानेश्वरलाई “हिन्दु कानूनसङ्ग्रह” रचना गर्न लगाई हिन्दु समाजमा थितिसमेत बसाउन महत्त्वपूर्ण भूमिका निभाएका थिए । यी राजाका शासनकाललाई “हिन्दु कानुन”को इतिहासमा युगान्तकारी मानिएको छ रमेशचन्द्र मजुम्दार (प्राचीन भारत, प्रथम भाग पृ. १६१) । यी राजाको थिति यता बस्न आउँदा स्थानीय जनमानसले मुग्धकण्ठसाथ आदर्श नायक बनाएर कथा रचॆ नै । साथै कालान्तरमा यतैका जन्मजात राजासमेत बनाइदिए कथामा ।

इतिहासमा एउटा होइन थुप्रै विक्रमादित्यहरु देखिन्छन् । अझ विक्रमादित्य कुनै एक राजाको नाम होइन कि पराक्रमी राजाको पद्बी भएको देखिन्छ । इतिहासबाट स्पष्ट हुन्छ इतरसंस्कृतिका बिदेशी आक्रमण र उनीहरुका स्थापनाका बिरुद्ध ससाना राज्यहरुलाई सङ्गठित गर्दै लड्ने जित्ने र आफ्ना सँस्कृतिको संरक्षण गर्ने पराक्रमी राजाहरुलाई “विक्रमादित्य” मानिन्थ्यो । इतिहासले त त्यस्तै अभीष्टको लागि मरिमेट्ने राजाहरु स्वयमले आँफूलाई गर्बसाथ “विक्रमादित्य” घोषणा गरेका प्रसङ्गहरु पनि दिन्छन् ।

एकपल्ट इतिहासतिर ध्यान दिऔँ । ई.पू. ३२७ सालतिर जब यवन राजा सिकन्दरले हिन्दुकुशपर्वत पार गरी यता आक्रमण गर्दै थिए त्यसबखत हीमवत्खण्ड हज्जारौँ साना जनपदहरुमा विभाजित थियो । उनै सानासाना जनपदलाई जितेर एकिकृत गर्दै ठूला महाजनपद बनाउन र अश्वमेध यज्ञ गरी चक्रवर्ती राजा बन्न त्यसकालका यताका राजाहरु आँफाआँफैमा लडिरहन्थे । त्यही बिभाजित रही कमजोर रहेका यी जनपदहरुलाई सिकन्दरले थोरै समयमै सजिलै हात पारे तर ब्रम्हपुत्रदेखि विन्ध्याचलसम्मका महाजनपदलाई एकिकृत गरी बनेका मगध साम्राज्यलाई भने उनले छुन सकेका थिएनन् । पछि इ.पू. २०० सालतिर यो साम्राज्य पनि कमजोर हुनपुग्यो र यवनहरु हज्जारौँ माइल जित्दै पाटलीपुत्रमै विजयपताका गाड्न आइपुगे । यसैबखत मध्यएशियाका शक सिथियनहरुले मथुरा गान्धार उज्जैन सिन्ध दक्षिणापथ जित्दै उत्तरपश्चिमका धेरै भागहरु आफ्नो अधिनमा पारे भने पार्थियन पल्हवहरु पसेर पश्चिम गान्धार विजय गरी बेग्लै राज्य स्थापना गर्नपुगे । त्यस्तै कुजुल कुशाण पनि हिन्दुकुश पार गरेर यता स्थापित भए । आफाआफैमा लडिरहने हिन्दू जानपदहरुमा कहिले ऊ कहिले ऊ भए पनि स्वजातिकै आधिपत्य हुने गरेको थियो तर अब त इतरसँस्कृतिका विजातिको आधिपत्य शुरु भयो । अझ त्यति मात्र होइन आफ्ना भूमीमा बिजातिहरुको तँछाड मछाड चलिरहँदा पनि आफूहरुले केही गर्न सकिरहेका थिएनन् । सैयूँ वर्षसम्म हाहाकारको स्थिति भयो । दक्षिणी राज्यहरुमा भने हिन्दु राष्ट्रबादी भावनाको जागरण भयो र कलिङ्गराज खारबेलले इ.पू. २१० सालमा उत्तरापथबाट र बसुमित्रले सिन्धुक्षेत्रबाट शकहरुलाई खेदे । बसुमित्रले त पातन्जलीको पुरोहित्याइँमा गर्बसाथ अश्वमेध यज्ञ नै गरे । मालवीका राजा सातकर्णी इ.पू. १००- इ. पू. ४४ साल ले त अझ पश्चिमी देक्कनका शक्तिशाली सरदारहरुलाई सङ्गठित गरेर शकहरुको नगरमै पसेर उनीहरुलाई खेदे । उनले तब अश्वमेध यज्ञ गर्दै दक्षिणापथ सौराष्ट्र र गुजरातबाट समेत शकहरुलाई निकाले । यी सातबाहन बंशका गौतमीपुत्र सातकर्णीका राज्य उत्तर मालबादेखि दक्षिण कर्णाटकसम्म विस्तारित भयो । यसको गर्बमा उनले आफूलाई “सकयवनपल्हवनिसूदनस” (शक यवन पल्हव नाशक) र “विक्रमादित्य” को उपाधीले विभूषित गरे साथै अफ्नो गणको प्रतिष्ठालाई स्थापना गर्न इ.पू. ५७ सालमा नयाँ सम्बत् नै शुरु गरे जसलाई पछि विक्रमादित्यको नाममा “विक्रम सम्बत्” भनियो । आज हाम्रो भूमीमा प्रयुक्त सम्बत् यही विक्रम सम्बत् हो ।

कुनैकुनै विद्वानको भनाइ छ सिन्धुको तराइ क्षेत्र पहिलो शताब्दीमा पल्हवको हातमा गयो र उनैका शासक अज्रेश प्रथमले इ.पू. ५८ सालमा एउटा सम्बत् चलाएका थिए त्यसैलाई सातकर्णीले इ.पू. ५७ सालमा निरन्तरित गराए र पछि उनैको नामबाट यो विक्रम सम्बत् भनियो (प्राचीन भारत, प्रथम भाग पृ. १००) ।

“विक्रमादित्य” को उपाधी पछि गएर पाँचौ शताब्दिमा चन्द्रगुप्त द्वितियले एउटा कामपिपासु अत्याचारी बिदेशी शकशासकलाई स्त्रीभेषमा मारेपछि धारण गरेका थिए । आठौँ शताब्दीको पूर्वाद्र्धमा पुलकिशनको द्वितीय पुत्रले बिदेशी पल्लवी राजालाई खेदी चालुक्य राज्यलाई पुनर्जीवित गरेर आफूलाई “विक्रमादित्य प्रथम”को नामले विभूषित गरेका थिए । त्यसपछि उनैका नातिले पनि पल्हवहरुलाई हराएकै कारणले “विक्रमादित्य” द्वितीयको उपाधी लिए । यसरी बिदेशी खेद्नॆ राजाहरुले गर्बसाथ यो उपाधी ग्रहण गर्ने परम्परा चलाएका स्पष्ट हुन्छ ।

एघारौँ शताब्दीको शुरुवातदेखि भारतमा फेरि बिदेशीहरुको चलखेल शुरु भयो । यसबेलातिर यमन र तुर्कीका इस्लामहरुले उत्तरपश्चिमका सबैजसो क्षेत्र हत्याएर लुटपाट दमन र धार्मिक अत्याचार गर्न लागेका थिए । प्राचीन साम्राज्य छिन्नभिन्न भएको यो स्थितिमा बचेखुचेका हिन्दुसमाजका सामन्तहरुमध्येका चेदि कालाचुरीका गाङ्गेय मालवाका सिन्धुराज अनि कर्नाटकका त्रिभुवनमल्लले बिदेशी खेद्ने बेँडा उठाए र बिदेशीहरु धपाउँदै अफूलाई आफ्ना युगका “विक्रमादित्य” र नवसाहसाङ्कका उपाधीले सगर्ब विभूषित गरे । यसरी चालुक्य बंशका आहवमल्लको दोस्रो छोरा त्रिभूवनमल्ल “विक्रमादित्य” षष्ठनै नेपालको इतिहासमा देखिने “विक्रमादित्य” हुन पुग्दछन् । उनले शक सम्बत् मासेर नयाँ सम्बत् स्थापना गरे भन्नेसमेत उल्लेख भारतीय इतिहासमा पाइन्छ (प्राचीन भारत, प्रथम भाग पृ. १६१)।

बासुपासाद्वारा प्रस्तुत “विक्रमादित्य”द्वारा सम्बत् स्थापनाको किमबदन्ति यो ऐतिहासिक प्रशङ्गसँग मिल्न आउँछ । तर पूर्ववत् विक्रम सम्बत् को निरन्तरता यो थियो भन्न भने मिल्दैन किनभने यी विक्रमादित्य त ११५४ वर्ष पछिका विक्रमादित्य षष्ठ हुन् । यस्तो लाग्छ विक्रमादित्यको आदर्श बोक्ने यी विक्रमादित्य षष्ठले आदिविक्रमादित्यद्वारा इ.पू. ५७ सालमा स्थापित विक्रम सम्बत् लाई आफ्ना नवनिर्मित राज्यमा निरन्तरित गरेका थिए ।

उ बेला ससाना हज्जारौँ राज्यहरुमा बिभाजित हिन्दु राष्ट्रहरुका जनताले हिन्दु राष्ट्रबादका प्रतीक “विक्रमादित्य” लाई साझा रुपमा आफ्ना आदर्श नायक बनाए । सबै हिन्दु राष्ट्रहरुले विक्रमादित्यका परम्परालाई आफ्ना बनाए । भूमि त कहिले यताका बने कहिले उताका तर व्यक्तिविशेषको लागि देश सँधै आफ्नै रहे । सबैले त्यसैले युगयुगका विक्रमादित्यहरुलाई आफ्नै भूमिमा जन्मेका महान पराक्रमी राजा माने । यसरी नै चालुक्य राजबंशको शासन भोग्ने पनौतिले पनि विक्रमादित्यलाई आफ्ना बनाए । तथा नाला होस् वा साँखु होस् वा बत्तिसपुतलि होस् त्यहाँ उपलव्ध लोकआहान्ले गरेको पनि त्यही हो । त्यहाँका विक्रमादित्य नेपाली थिए चाहिँ नभनौँ किनभने त्यसबेला आजको नेपाल बनेकै थिएन । यसै हिसाबमा उनी भारतीय पनि होइनन् किनभने त्यसबेला आजको भारत पनि बनेको थिएन । उनी अर्थात त्रिभुवनमल्ल विक्रमादित्य षष्ठ सीमापारी र वारी दुवै संस्कृतिका धरोहर हुन् । एउटै विक्रमादित्यको कुरा के विक्रमादित्य परम्पराका आदिविक्रमादित्य नै यता र उताका साझा साँस्कृतिक धरोहर हुन् । विक्रमादित्यहरु कुनै राजनीतिक भूगोलको सीमामा बाँधिएका थिएनन् र बाँध्न सकिन्न पनि । त्यसैले विक्रम सम्बत् नेपालमा छोटै समयदेखि प्रचलनमा आएको भएपनि यो हामी नेपाली समेतको धरोहर रहेको नितान्त साझा सम्बत् हो । यसलाई भारतीय मात्र बन्न दिन हुन्न । अनि त्यसैले नेपाल सम्बत् लाई पूर्ण नेपाली बनाउन विक्रम सम्बत् लाई भारतीय बनाइ राख्न जरुरी छैन ।