
काठमाडौं, २० पुस । कोरोना भाइरसविरुद्धको बुस्टर डोज खोप लगाउन सिभिल अस्पतालमा पुगेका काठमाडौं उपत्यकाका ज्येष्ठ नागरिकहरू खोप नलगाई फर्किएका छन् ।
बुस्टर डोज खोप लगाउने आशामा ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरु आज मंगलबार बिहान १० बजे निजामति अस्पताल (सिभिल) मा पुगे पनि उनीहरूले खोप लगाउन पाएनन् । खोप उपलब्ध नभएको भन्दै उनीहरुलाई अस्पतालले रित्तै घर फर्काएको छ ।
जसका कारण बुस्टर डोज लगाउने आशामा अस्पताल पुगेका ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरूले खोपको सट्टामा दुःख मात्रै पाएका छन् । हिजो सोमबार सञ्चारमाध्यमबाट बुस्टर डोज खोप पाइने जानकारी पाएर अस्पताल आएका दर्जनौं ज्येष्ठ नागरिकहरू रित्तै फर्किन बाध्य भएका हुन् ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, भेरोसेल वा सिनोफार्मको खोप लगाएका ६० वर्षमाथिका ज्येष्ठ नागरिक वा जुनसुकै खोप लगाएका दीर्घरोगीलाई मगंलबारदेखि बुस्टर डोज खोप दिने निर्णय गरेको थियो ।
तर, स्वास्थ्य मन्त्रालयले अस्पतालमा खोप नपठाउँदा उनीहरू त्यत्तिकै फर्किन बाध्य भएको अस्पताल स्रोतले जनाएको छ । मन्त्रालयले निर्णय गरे पनि सम्बन्धित निकायहरूमा ढिलो गरी परिपत्र गरेका कारण तोकिएको दिन (आज) खोप कार्यक्रम सञ्चालन गर्न नसकिएको बताइएको छ।















प्रतिक्रिया