
काठमाडौं, २० पुस । महोत्तरीमा गत वर्ष भएको झा दम्पत्ति हत्याका अभियुक्त छुटेको भन्दै तत्काल जेल हाल्न माग गरिएको छ ।
झा दम्पत्ति हत्याका अभियुक्त ४ जनालाई धरौटीमा छाडिएको भन्दै छोरा मनिष झाले आफू र परिवारसमेत असुरक्षित भएको भन्दै तत्काल जेल हाल्न माग गरेका हुन् । हिजो सोमबार पत्रकार सम्मेलन गर्दै मनिष झाले जेल हाल्नुपर्नेलाई रिहा गरेर असुरक्षित बनाएको बताए ।
उनले आफूहरूमाथि अन्याय भएको बताए । २०७७ साल फागुन १० गते राति मुसाफिर झा र गीतादेवी झा दम्पत्तिको हत्या भएको थियो । प्रहरीले लामो अनुसन्धानपछि अभियुक्तहरूलाई पक्राउ गरी मुद्दा दायर गरेको थियो ।
मृतक झा दम्पत्तिका छोरा मनिषले १ जना अभियुक्तलाई जिल्ला अदालतले र ३ जनालाई पुनरावेदन अदालतले धरौटीमा छाडिदिएको बताए । उनले आफ्नो आमा बुवाको हत्यामा संम्लग्न अभियुक्तहरूलाई जेलमा राखेर कारबाही गर्न माग गरेका छन् ।
मनिष झाले हत्यारा तोकेकाहरू ७ जना मध्ये जिल्ला अदालतले तारादेवी यादवलाई कोभिडको कारण र ६५ वर्ष पुगेको भन्दै धरौटीमा छाडेको सुनाए । बाँकी रहेका ६ जना अभियुक्त मध्ये पनि ३ जनालाई पुनरावेदन अदालतले धरौटीमा रिहा गरेकोमा असन्तुष्टि पोखे ।
उनले भने ‘अभियुक्तहरू सुरेन्द्र यादवलाई ५ लाख, बब्लु झालाई २ लाख र रजिन्द्र झासँग ५ लाख लिएर पुनरावेदन अदालतले छाडिदिएर हामीलाई निकै अन्याय गर्यो ।’ उनले पुनरावेदन अदालतले अन्यायमा परेको भन्दै अब आफूहरू सर्वोच्च अदालत जाने बताए । उनले रुदै भने, ‘म निकै दुखी छु, मेरो आफ्नो भन्ने आमा बालाई नै पापीहरूले मारिदिए । मलाई न्याय मिलाइदिनुहोस् ।’















प्रतिक्रिया