३० आश्विन २०८३, शुक्रबार

पुनः श्रम स्वीकृतिको काम अनलाइनबाट मात्रै हुने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० पुस । आगामी २ माघदेखि पुनः श्रम स्वीकृतिको काम अनलाइनबाट मात्र हुने भएको छ ।

वैदेशिक रोजगारीमा जाने नेपाली कामदारका कामलाई थप सहज बनाउने उद्देश्यले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार विभाग र कार्यालयबाट पुनः श्रम स्वीकृतिको काम आगामी २ माघबाट अनलाइनबाट मात्र हुने जानकारी गराएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले आमसेवाग्राहीको चाहना र अपेक्षाअनुरूप वर्तमान सूचना प्रविधिको अधिकतम उपयोग गरी श्रम स्वीकृतिलाई पेपरलेस बनाई सहज रूपमा सेवा प्रदान गर्न सरकारले यस्तो व्यवस्था मिलाएको बताए । उनले वैदेशिक रोजगारसम्बन्धी हरेक काम कारबाहीलाई थप सहज, छिटो र पारदर्शी बनाउन २ माघदेखि पुनः श्रम स्वीकृतिको काम अनलाइनबाट मात्र हुने व्यवस्था मिलाइएको जानकारी दिए ।

उनले यो अनलाइन प्रणाली एकदमै सहज, उपलब्धिमूलक र पारदर्शी तथा झन्झटरहित हुने दाबी गरे । उनले सरकारको यो नयाँ कामले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई निकै लाभ हुने अपेक्षा गरिएको बताए ।

२०७७ सालको पुस महिनाबाट अनलाइन माध्यमबाट पुनः श्रम स्वीकृति दिन थालेको वैदेशिक रोजगार विभागले हालसम्म भौतिक रूपमा उपस्थित र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृति दिने काम गर्दै आएको छ । त्यसअघि श्रम स्वीकृति लिन श्रम ग्राम कार्यालय धाउनुपर्ने बाध्यताबाट सेवाग्राहीलाई मुक्ति दिन भन्दै वैदेशिक रोजगार विभागले एक वर्षअघिदेखि अनलाइन र भौतिक उपस्थिति दुवै माध्यमबाट पुनः श्रम स्वीकृति दिने गरिरहेको थियो ।

विभागको यस्तो नयाँ व्यवस्थासँगै अब वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुगेर घर बिदामा आएका नेपाली कामदारले पुनः श्रम स्वीकृति लिन वैदेशिक रोजगार कार्यालयमा पुगेर घन्टौंसम्म लाइनमा बस्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुनेछ । अनलाइन सेवा लिन सेवाग्राहीले सजिलै पुनः श्रम स्वीकृति लिन वैदेशिक रोजगार विभागको वेभसाइडको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमार्फत आवश्यक सबै कागजातसहित फाराम भर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

अनलाइन फारम भरिसकेपछि कामदारले कुन शाखाबाट पुनः श्रम स्वीकृति लिने हो त्यो छान्नुपर्छ । हाल विभागले विराटनगर, जनकपुर, पोखरा, बुटवल, सुर्खेत र धनगढीका साथै काठमाडौंको ताहचलबाट श्रम स्वीकृति प्रदान गर्दै आएको छ ।

यस्ता छन् आवश्यक कागजात
– पासपोर्ट साइजको फोटोको स्क्यान कपी
– राहदानीको पेज २, ३ र ३१ को स्क्यान कपी
– सम्बन्धित देशबाट आएको भिसाको स्क्यान कपी
– पुरानो भिसा भए सो राहदानी र हालको भिसा दुवैको स्क्यान कपी ।
– अध्यागमन कार्यालयले राहदानीमा लगाएको डिपार्चर र अराइभल स्टाम्प भएको राहदानीको पानाको स्क्यान कपी
– यसअघि श्रम स्वीकृति लिएको भन्दा फरक रोजगारदाताकोमा काम गर्न जाने कामदारका लागि रोजगारदाताले उपलब्ध गराएको जब अफर लेटर वा सम्झौतापत्रको स्क्यान कपी
– सम्बन्धित रोजगारदाता मुलुकस्थित नेपाली दूतावास वा कूटनीतिक नियोगको प्रमाणीकरणपत्र आवश्यक पर्ने भनी तोकिएको अवस्थामा त्यसको स्क्यान कपी र अन्य कुनै प्रमाण कागजात भए ती सबै स्क्यान गरेर पठाउनुपर्नेछ ।
आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले समाचार लेखेको छन् ।