३० आश्विन २०८३, शुक्रबार

सवारी दुर्घटनाले कुल राष्ट्रिय उत्पादनमा १.५२ प्रतिशत क्षति

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ पुस । प्रहरीमा दर्ता भएको तथ्यांकलाई मात्रै आधार मान्दा नेपालमा हरेक वर्ष सरदर २५ सय व्यक्तिले सवारी दुर्घटनामा ज्यान गुमाउने गरेका छन् ।

वार्षिक सरदर पाँच हजार व्यक्ति गम्भीर घाइते हुने गरेका छन् । यो आधारमा दैनिक औसत सात व्यक्तिको मृत्यु र १४ जना गम्भीर घाइते हुने गरेका छन् । दुर्घटनामा हुने अंगभंग र मानवीय क्षतिले बर्सेनि देशको कुल राष्ट्रिय उत्पादन (जिएनपी)को डेढ प्रतिशत क्षति हुने गरेको अध्ययनले देखाएको छ ।

नेपाल इन्जुरी अनुसन्धान केन्द्रले सन् २०१७ मा प्रहरीमा दर्ता भएका सवारी दुर्घटनामाथि अध्ययन गरेको थियो ।

कुल दुर्घटनाका १९.७ प्रतिशत मात्रै प्रहरीमा दर्ता भएको निष्कर्ष निकाल्दै केन्द्रले सोही वर्ष नेपालले १२२.८८ मिलियन अमेरिकी डलर अर्थात् १२ अर्ब ८० करोड ४० लाख रुपैयाँ (त्यतिवेलाकै दरअनुसार) गुमाएको देखाएको छ । यो रकम सन् २०१७ को स्थिर मूल्यको जिएनपी (आठ खर्ब ४२ अर्ब ३६ करोड ६७ लाख) को १.५२ प्रतिशतबराबर हो । प्रहरीमा दर्ता नभएका समेत सबै दुर्घटनाको मूल्यांकन गर्दा यो अंक चार प्रतिशतभन्दा धेरै पुग्ने केन्द्रका प्रमुख प्राडा सुनीलकुमार जोशीले बताए ।

‘हामीले नेपाल प्रहरीमा दर्ता भएका सवारी दुर्घटनाका घटनालाई मात्रै लिएर मुलुकले प्रत्येक वर्ष व्यहोर्ने क्षतिको विवरण निकालेका हौँ । सबै दुर्घटनालार्ई आधार मानेर हिसाब निकाल्ने हो भने नेपालले प्रत्येक वर्ष व्यहोर्ने क्षतिको विवरण कुल जिएनपीको चार प्रतिशतभन्दा धेरै आउँछ,’ उनले भने ।

दुर्घटनाका मृतक र घाइतेका परिवारले व्यहोर्ने आर्थिक क्षति, उपचारका क्रममा भएको खर्च, दुर्घटनामा नपरेको भए जीवनभर उनीहरूले गर्न सक्ने आम्दानीलगायत विषयमा केन्द्रित भएर केन्द्रले अनुसन्धान गरेको थियो । सवारी दुर्घटनाका कारण मुलुकले प्रत्यक्ष स्वास्थ्य लागत (डाइरेक्ट मेडिकल कस्ट)तर्फ ९१.५७ मिलियन अमेरिकी डलर (११ अर्ब १७ करोड १५ लाख रुपैयाँ) र अप्रत्यक्ष स्वास्थ्य लागत (इनडाइरेक्ट मेडिकल कस्ट)तर्फ ११.५० मिलियन अमेरिकी डलर (एक अर्ब ४० करोड ३० लाख रुपैयाँ) गुमाएको अध्ययनले देखाएको छ । अनुसन्धानमा बेलायतस्थित युनिभर्सिटी अफ वेस्ट इंग्ल्यान्डको सहयोग लिएको केन्द्रले जनाएको छ ।

अनुसन्धानमा संलग्न प्राडा जोशी भन्छन्, ‘एउटा व्यक्ति सवारी दुर्घटनामा पर्दा सहनुपर्ने शारीरिक पीडा त छँदै छ, उसले ठूलो मात्रामा आर्थिक क्षति व्यहोर्नुपर्छ । उसका परिवारका सदस्यले पनि आर्थिक क्षति व्यहोर्नुपर्छ । यसबाट दुर्घटना पर्ने व्यक्तिको मात्र होइन, परिवारको समेत ‘प्रोडक्टिभिटी लस’ हुन्छ । हामीले अनुसन्धानमा यस्तै विषयलाई आधार बनाएका थियौँ ।’

विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०ले पनि सवारी दुर्घटनाका कारण नेपालजस्ता मुलुकले प्रत्येक वर्ष कुल राष्ट्रिय उत्पादन ९जिएनपी०को तीन प्रतिशतभन्दा धेरै क्षति व्यहोर्ने जनाएको छ । दुर्घटनामा पर्ने अधिकांश युवा नै भएकाले क्षतिको अंक बढी हुने गरेको डब्लुएचओले जनाएको छ । डब्लुएचओको तथ्यांक उद्धृत गर्दै स्वतन्त्र अभियान नेपालकी प्रमुख ऋतु भट्टले भनिन्, ‘नेपाल सवारी दुर्घटनाका कारण मृत्यु हुने र घाइते हुने मुलुकको अग्रस्थानमा छ । दुर्घटनाका अधिकांश घटना त प्रहरीमा दर्ता नै हुँदैनन् । यसबाट हाम्रोजस्तो मुलुकले प्रत्येक वर्ष जिएनपीको तीन प्रतिशतभन्दा धेरै क्षति व्यहोर्नुपर्छ । डब्लुएचओले समेत यो तथ्यलाई स्वीकार गरेको छ ।’

साढे पाँच वर्षमा थपिए २६ हजार गम्भीर घाइते

नेपाल प्रहरीको तथ्यांकअनुसार पछिल्ला ६५ महिना ९पाँच वर्ष पाँच महिना०मा सवारी दुर्घटनामा मुलुकभर २६ हजार ६ सय पाँचजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा शरीर अंगभंग हुनेलाई प्रहरीले गम्भीर घाइतेको सूचीमा राखेको छ । यस्ता घाइतेलाई जीवन गुजार्न अर्को व्यक्तिको सहयोग आवश्यक पर्छ । यीमध्ये थोरै मात्रै संघसंस्थाको संरक्षणमा रहन्छन्, अरू सबै परिवारकै आश्रयमा हुन्छन् ।

सवारी दुर्घटनाकै कारण ह्विलचेयरको सहारामा जीवन बिताउँदै आएका पत्रकार गजेन्द्र बुढाथोकी सबै घटना प्रहरी कार्यालयमा दर्ता हुने हो भने प्रत्येक वर्ष गम्भीर घाइतेको संख्या अझ धेरै हुने बताउँछन् । त्यसमध्ये पाँच सय व्यक्ति स्पाइनल कर्ड इन्जुरीको समस्याबाट गुज्रिनुपर्ने र पाँच हजार अपांग नै हुने उनको विश्लेषण छ । जसकारण प्रत्येक वर्ष राज्यले ठूलो रकम गुमाउनुपरेको बुढाथोकीको भनाइ छ, आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामी र मञ्जु टेलरले समाचार लेखेका छन् ।