
काठमाडौं, १४ पुस । इटहरीस्थित एक विद्यालयमा अध्ययनरत छात्रामाथि होमवर्क गर्न नगरेको भन्दै शिक्षकद्वारा निर्घात कुटपिट गरिएको छ ।
इटहरी उपमहानगरपालिका–२ मा रहेको चन्द्र मेमोरियल इङलिस स्कुलमा कक्षा ५ मा अध्ययनरत १० वर्षीया सुरक्षा तामाङमाथि होमवर्क नगरेको भन्दै कम्प्युटर शिक्षक सुजन दाहालले कुटपिट गरेका हुन् ।
घाइते बालिकाका अनुसार शिक्षक दाहालले होमवर्क गर्न नसकेको भन्दै देब्रे हातको पाखुरामा निर्घात कुटपिट गरेका हुन् । ‘होमवर्क गर्न नसक्दा सरले बेस्सरी पिट्नुभयो,’ पीडित बालिकाले भनिन्, ‘दुख्यो भन्दा पनि पिट्न छाड्नुभएन ।’
कुटाइका कारण पीडित बालिकाको पाखुरा सुन्निएको छ भने निलडाम स्पष्ट देखिन्छ । मेडिकल जाँचका क्रममा पाखुरामा रगत जमेको पाइएको छ । चिकित्सकले केही साताका लागि औषधि दिएका छन् ।
यो घटना भएपछि कुटपिट गर्ने शिक्षकमाथि कारबाही हुनुपर्ने आवाज उठ्न थालेको छ । घाइते बालिकाकी आमा वीरमाया तामाङले कुट्ने शिक्षकमाथि कारबाही हुनुपर्ने माग राखेकी छन्, आजको राजधानी दैनिकमा इटहरीबाट विवेक विवश रेग्मीले समाचार लेखेका छन् ।















प्रतिक्रिया