
-निर्मल भट्टराई
माओको फोटोमा माल्यार्पणसंगै शुरू भएको नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को बन्द सत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तर्फबाट राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।
‘२१औं शताब्दीमा समाजवादको बाटो’ शीर्षक दिएको सो प्रतिवेदनमा उनले मुख्य रूपमा प्रत्यक्ष कार्यकारी राष्ट्र प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको वकालत गरेका छन् । सो प्रयोजनको लागि संविधान संशोधन गर्न सडक संघर्ष गर्नु पर्ने उल्लेख गरेका छन् ।

पूर्ण पाठ बाहिर नआइसकेको सो प्रतिवेदनमा उनले भनेका छन्-‘यो संविधानमा हाम्रा सीमाहरू छन् । निर्वाचन प्रणाली शासकीय स्वरुप उत्पीडित वर्ग जाती र क्षेत्र र समुदायको पहिचान र अधिकारसहित संघीयता तथा जनअपेक्षा अनुरुप संस्थागत गर्न भने सकेको छैन,’ प्रचण्डको प्रस्तावमा भनिएको छ, ‘त्यसकारण हाम्रो पार्टीले यी घनिभूत विषयमा संविधानको संशोधनको आवश्कता देखेको छ । संविधानसभामा आफ्नो भिन्न मत पनि दर्ज गरेको छ । समाजवाद उन्मुख मूलभूत कार्यदिशा लिँदै यी मुद्दाका लागि सडक सदन र सरकारका सबै क्षेत्रबाट संघर्ष गर्न जरुरी छ ।’
२०७२ सालमा जारी भएको नेपालको संविधानलाई मधेशवादी केही दलले असन्तुष्ट जाहेर गरेका थिए । उनीहरू अहिले पनि संबिधान संशोधनको मुद्धा उठाइरहेका छन् ।
संविधानबमोजिन बनेका प्रायः सबै सरकारमा हिस्सेदारी लिए पनि मधेशवादी दलले यो मुद्धा उठाउन छोडेका छैनन् । संविधान जारी हुँदाका बखत संविधान मस्यौदा समितिमा रहेका माओवादी केन्द्रका नेता डा. बाबुराम भट्टराईले असहमति जाहेर गरे पनि प्रचण्ड पक्षले संविधान मानेरै आएको थियो ।
माओवादी जारी आठौं महाधिवेशनमा यो विषय प्रमुख रूपमा उठाउनुको कारण बुझ्न गाह्रो छैन । दस्तावेजमा संविधान संशोधनको मुद्धा उछालपछाल गर्नुका कारण निम्नबमोजिम हुन सक्छन् ।
नेपाली काङ्ग्रसप्रति शङ्का
के पी शर्मा ओली नेतृत्वको सरकार गिराउन प्रचण्ड र माधव नेपालले नेपाली काङ्ग्रेससंग गठबन्धन गरे पनि नेपाली काङ्ग्रेस आगामी चुनाबमा माओवादी समूह र माधव नेपाल समूहसंग तालमेल गर्ने मुडमा देखिएको छैन ।
जनाधार खुम्चदै गएका प्रचण्ड र जनधार नै बनाउन नसकेका माधव नेपाललाई बोक्दा काङ्ग्रेसलाई नाफा होइन घाटा हुन्छ भन्ने उसले आँकलन गरिसकेको छ । एमसीसीको कारण गठबन्धन कुनै पनि बेला टुट्न सक्छ भन्ने प्रचण्डजस्तो चतुर राजनीतिक खेलाडीले नबुझ्ने कुरा भएन ।
शान्तिप्रक्रिया पछि सबभन्दा कमजोर बनेको माओवादीलाई आगामी चुनावमा काङ्ग्रेसले पार्टनर बनाउन नमानेपछि माओवादीलाई आफ्नो अस्तित्व रक्षाको लागि अर्को भरपर्दो चुनावी पार्टनर चाहिएको छ ।
मजबुत एमाले, कमजोर माधव
सर्वोच्चको फैसलाले नेकपाको एकता भङ्ग गरिदिएपछि प्रचण्डलाई लागेको थियो, माधव नेपालले एमालेको ठूलो हिस्सा फुटाउने छन् । त्यही शक्तिको वैशाकीमा आगामी राजनीतिक यात्रा गर्ने तानावाना बुनेका प्रचण्ड एमाले सग्लै र झन झन शक्तिशाली बनेपछि तिलमिलाए ।
नेपाली काङ्ग्रेसका नेता रामचन्द्र पौडेलको शब्द सापटी लिने हो भने माधव नेपालले एमालेलाई चोइट्याउन पनि सकेनन्,केवल खोस्रिए मात्र । एमालेको लोकप्रिय ब्राण्ड सूर्य चिन्ह कब्जा गर्न कस्सिएका प्रचण्डलाई माधवको एमालेबाट बहिर्गमन केवल ‘खोदा पहाड निकला चुहा’ मात्र भयो ।
‘जनयुद्ध’मा आफू जत्तिकै योगदान गरेका चार ‘ब’-बैद्य,बाबुराम,बादल र विप्लव-पार्टीमा रहन सकेनन् । कम्युनिष्ट पार्टीमा दुई लाइन संघर्ष चलिरहन्छ,कम्युनिष्ट पार्टी विपरीतहरूको एकत्व हो भन्ने माओको उक्ति फलाक्न नछोड्ने तर पार्टीभित्र फरक मत राख्नेलाई रामधुलाइ गर्ने उनको प्रवृत्तिका कारण उनीहरू बाहिरिएका हुन् ।
मधेशवादी-माओवादी पार्टनरसीप
माओवादी केन्द्रले जतिसुकै पार्टी रूपान्तरणको डङ्का पिटे पनि यसको रूपान्तरण संभव छैन । शान्तिप्रक्रियापछिका हरेक सम्मेलन र महाधिवेशनमा प्रचण्डले ‘गम्भिर आत्मसमीक्षा’, ‘पार्टी रुपान्तरणका लागि कठोर कदम चाल्ने’,’रूपान्तरण आफैंबाट शुरू गर्ने’,’माओवादी पार्टीलाई क्रान्तिकारी स्पिरिटले चलाउने’,’नेपालको समाजवादी आन्दोलनको नेतृत्व आफूले मात्र गर्न सक्ने’लगायतका विभिन्न पदावली प्रयोग गर्दै आएका छन् । तर व्यवहारमा त्यो कहिल्यै प्रकट भएन । उनी आफैं रूपान्तरण हुन सकेनन्,बरु निरन्तर दक्षिणपन्थी दलदलमा फस्दै गए ।
अहिले उठेको ‘माओवादी केन्द्र रूपान्तरण’ भन्ने पदावली महाधिवेशन अवधिभरको लागि एउटा मसलामात्र हो, महाधिवेशनमा आएका प्रतिनिधिले खाएको मासुभातसंगै चपाइन्छ र निलिन्छ, फर्कंदा रित्तो हात !
‘जनयुद्ध’मा आफू जत्तिकै योगदान गरेका चार ‘ब’-बैद्य,बाबुराम,बादल र विप्लव-पार्टीमा रहन सकेनन् । कम्युनिष्ट पार्टीमा दुई लाइन संघर्ष चलिरहन्छ,कम्युनिष्ट पार्टी विपरीतहरूको एकत्व हो भन्ने माओको उक्ति फलाक्न नछोड्ने तर पार्टीभित्र फरक मत राख्नेलाई रामधुलाइ गर्ने उनको प्रवृत्तिका कारण उनीहरू बाहिरिएका हुन् ।
अहिले आफलाई अप्ठ्यारो पर्दै गएपछि हिजो विभिन्न समयमा विभिन्न बाहानामा गलहत्याइएका नेतालाई प्रचण्ड पटक-पटक सम्झन थालेका छन् । सहकार्यको हात फैलाउन थालेका छन् ।
यही मेसोमा हाल सबैभन्दा ठूलो मदेशवादी दल जसपाका नेता बनेका डा. बाबुराम भट्टराई मार्फत् उनीहरूलाई आगामी चुनावको पार्टनर बनाउन सकियो भने आफ्नो अस्तित्व जोगाउन सकिने निष्कर्ष प्रचण्डको छ ।
विगतदेखि नै अरूको अजेण्डा आफ्नो बनाउन खप्पिस प्रचण्डले यसपालि डा. बाबुराम र मधेशवादी दलको अजेन्डा आफ्नो राजनीतिक प्रतिवेदनमा घुसाएका छन् ।
विस्तारै सर्वस्वीकृत बन्दै गएको नेपालको वर्तमान संविधानलाई अस्वीकार गर्ने विषय प्रचण्डको राजनीतिक प्रतिवेदनमा आउनुले देशका अस्थीरतावादी शक्तिलाई हौस्याउने निश्चित छ ।
र, नेपाललाई ‘नियन्त्रित अराजकता’ तर्फ लैजान चाहने केही विदेशी शक्तिलाई थप चलखेल गर्ने मैदान तयार गर्ने समेत प्रष्ट छ । लामो समयदेखि अस्थिरताका संवाहक बनेका प्रचण्डले आफ्नो प्रतिवेदनमा त्यसैलाई निरन्तरता दिने प्रस्ताव गर्नु निश्चय नै दुःखद विषय हो ।













प्रतिक्रिया