८ कार्तिक २०८३, आइतबार

ओमिक्रोन लक्षणः नाकबाट पानी बग्नु चिसो वा कोभिडको लक्षण हो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

-मिशेल रोबर्ट्स

कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोन विश्वभरि द्रुत गतिमा फैलिरहेको छ । मानिसहरू कस्ता लक्षणलाई लिएर सावधान हुनुपर्छ ?

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले अझै पनि मानिसहरूले कोभिडका आधारभूत लक्षणहरूबारे ध्यान दिनुपर्ने बताएको छ ।

  • निरन्तरको खोकी
  • ज्वरो/उच्च तापक्रम
  • स्वाद वा गन्ध परिवर्तन हुने वा हराउने

तर अनुसन्धानकर्ताहरू कतिपय व्यक्तिले ’एकदम नराम्रो चिसो लागेको जस्तो महसुस गर्नसक्ने’ बताउँछन् ।

यूकेको तथ्याङ्कअनुसार अहिलेसम्म ओमिक्रोन भेरिअन्टका प्रमुख पाँच लक्षण यस्ता छन्ः

  • नाकबाट पानी बग्ने
  • टाउको दुख्ने
  • शरीर गल्ने (मध्यम वा गम्भीर स्तरको)
  • हाच्छिउँ
  • घाँटी दुख्ने

यदि तपाईँलाई कोभिड भए जस्तो लाग्यो भने परीक्षण गराउनु महत्त्वपूर्ण छ । गम्भीर बिरामी भएका व्यक्तिहरूले अरूलाई पनि जोखिममा पार्न सक्छन् ।

के ज्वरो देखापर्नु भनेको कोरोनाभाइरस हो ?

उच्च तापक्रम भनेको ३७ दशमलव ८ डिग्री सेल्सियस वा त्यो भन्दा माथि हो । यस्तो ज्वरो कोरोनाभाइरस मात्र नभई शरीरले कुनै पनि सङ्क्रमणसँग जुझिरहँदा पनि आउनसक्छ ।

थर्मामिटर प्रयोग गर्नु एकदमै उपयुक्त हो। तर यदि तपाईँसँग छैन भने आफूले वा तपाईँ चिन्तित भएको व्यक्तिले छाती वा पछाडि छुँदा तातो महसुस गर्छन् कि गर्दैनन् भनेर जाँच्नुहोस् ।

चिसो लाग्दा ज्वरो आउने सम्भावना कम हुन्छ ।

ज्वरो आएपछि कोरोनाभाइरस परीक्षण गराउनुहोस् ।

खोकी लक्षण हो ?

यदि तपाईँलाई चिसो लागेको छ वा फ्लु भएको छ भने तपाईँलाई खोकी लाग्ने र अरू लक्षण देखा पर्न सक्छ ।

फ्लु अकस्मात् देखापर्छ र यसबाट ग्रस्त हुने व्यक्तिहरूको जीउ दुख्ने, टाउको दुख्ने, शरीर गल्ने र नाकबाट पानी बग्ने अनि खोकी आउने सहितका लक्षण देखिन्छ । एकदमै चिसो लागेको भन्दा खराब महसुस हुन्छ ।

चिसो बिस्तारै विकास हुँदै जान्छ र यो कम घातक हुन्छ । तर पनि यसले तपाईँलाई असहज बनाउन सक्छ ।

कोरोनाभाइरस

खोकीसहित रुघा लाग्ने र घाँटी दुख्ने अनि नाक बग्ने लक्षण देखिन सक्छ । ज्वरो, काम छुट्ने, शरीर दुख्ने र टाउको दुख्ने दुर्लभ हुन् ।

कोरोनाभाइरसको खोकी भने अरू बेलाको भन्दा लगातार खोकी हो ।

यदि तपाईँलाई पुरानो स्वास्थ्य अवस्थाका कारण खोकी लाग्छ भने त्यो अरू बेला भन्दा खराब हुनसक्छ ।

तपाईँले नयाँ र निरन्तरको कफ अनुभव गर्नुभयो भने कोरोनाभाइरसको परीक्षण गर्नुपर्छ ।

स्वाद वा गन्ध परिवर्तन वा गुमाउनु भनेको के हो ?

यो कोरोनाभाइरसको मुख्य लक्षण हुन र यस्तो अवस्थामा परीक्षण गराउनुपर्छ ।

साधारण चिसोले पनि यस्तो हुनसक्छ । तर असहज महसुस नभए पनि तपाईँले अरूमा भाइरस नसरोस् भन्नका लागि परीक्षण भने गराउनुपर्छ ।

के हाच्छिउँ आउनु कोरोनाभाइरसको लक्षण हो ?

हाच्छिउँ कोरोनाभाइरसको आधारभूत लक्षण होइन । खोक्दा निस्कने कणहरूले सङ्क्रमणहरू फैलाउन सक्छन् त्यही भएर टिस्युको प्रयोग गरी तिनलाई समात्नुपर्छ र फोहोर फाल्ने भाँडामा फाल्नुपर्छ । त्यसपछि हात धुनुपर्छ ।

राम्रोसँग हात धुनुपर्छ ।

सामाजिक दूरी कायम गर्न सम्भव नभएको अवस्थामा अनुहार ढाक्ने मास्कको प्रयोग गर्नुपर्छ ।

आफ्नो घरभन्दा परका व्यक्तिबाट दूरी कायम गर्ने प्रयास गर्नुहोस् ।

नाक बग्ने वा बन्द हुने वा टाउको दुख्ने चाहिँ के हो ?

स्वास्थ्य अधिकारीहरूले नाकबाट पानी बग्नु वा टाउको दुख्नु कोभिडको लक्षण नै हो भन्न नसकिने बताउँदै आएका छन् ।

तर अनुसन्धानहरूले कोभिड देखा परेका कतिपय व्यक्तिमा यी लक्षण भएको बताएका छन् ।

अमेरिकी निर्देशिकाले कोरोनाभाइरस भएका मानिसमा यस्तो लक्षण देखिनसक्ने उल्लेख गरेको छ ।

  • ज्वरो आउने वा जीउ काम्ने
  • खोकी
  • सास फेर्न अप्ठेरो वा गाह्रो हुने
  • गल्ने
  • छाला वा शरीर दुख्ने
  • टाउको दुख्ने
  • स्वाद वा गन्ध जाने
  • घाँटी दुख्ने
  • नाक बग्ने वा बन्द हुने
  • बान्ता आउने वा वाकवाक लाग्न सक्ने
  • पखाला

कोरोनाभाइरस भएका मानिसहरूमा मध्यमदेखि गम्भीर प्रकारका लक्षणहरू देखा पर्छन् । कतिपयमा केही पनि लक्षण नदेखिए पनि सङ्क्रमण भएको हुनसक्छ ।

कोरोनाभाइरस लागेका व्यक्तिमा दुई हप्तासम्म लक्षण देखा पर्न सक्छ। तर साधरणतया पाँच दिनभित्र लक्षण देखिन्छ । सास फेर्न अप्ठेरो हुनु गम्भीर खालको कोरोनाभाइरस सङ्क्रमण भएको लक्षण हो ।

यदि तपाईँलाई सास फेर्न गाह्रो भयो भने आफ्नो डाक्टरसँग फोन वा अनलाइनमार्फत सम्पर्क गर्नुहोस् ।

यदि आकस्मिक रूपमा तपाईँलाई सास फेर्न गाह्रो भयो भने एम्बुलेन्स बोलाउनुहोस् । –बीबीसी