
काठमाडौं, ११ पुस । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्ने निर्णय गरेको छ ।
सानेपास्थित केन्द्रीय कार्यालयमा शनिबार बसेको केन्द्रीय समितिको पहिलो बैठकले पार्टीलाई महाधिवेशनपछि एकताबद्ध गरेर अघि बढ्नेसहितका पाँच निर्णय गरेको हो । पहिलो बैठकबाटै तीन संशय पनि उब्जिएको छ ।
१४औं महाधिवेशनमा सभापतिका उम्मेदवार बनेका डा. शेखर कोइरालालाई सभापति शेरबहादुर देउवाले पहिलो बैठकमा नै साथ लिने प्रयास नगरेको भन्दै वरीयतामा गुनासो देखिएको हो । देउवाले पदाधिकारीसहित नेताहरूको वरीयताक्रम तोक्दा कोइरालालाई २०औं नम्बरमा पारेका छन् । बैठकको माइन्युटमा कोइरालाको नाम २०औं नम्बरमा थियो ।
‘सभापतिमा निर्वाचित देउवाले पहिलो बैठकमा नै शेखर कोइरालालाई समेट्ने प्रयास गर्नुभएन, बैठकबाट निर्णय गरेर मात्रै हुँदैन, व्यवहारले पार्टीलाई एक ढिक्का बढाउँछ कि बनाउँदैन भन्ने कुरा सुरुबाट नै देखिनुपर्छ, त्यसो भएन, वरीयतामा कोइरालालाई विगतको अभ्यासबाट पन्छाइयो,’ कांग्रेसका नवनिर्वाचित एक पदाधिकारीले भने ।
सभापति देउवाले तोकेको वरीयताअनुसार सभापतिपछि उपसभापति दुई जना, महामन्त्री दुई जना, आठ जना सहमहामन्त्री र त्यसपछि पूर्वपदाधिकारीलाई राखिएको छ ।
जसअनुसार गोपालमान श्रेष्ठ, सशांक कोइराला, अर्जुननरसिंह केसी, रामशरण महत, सुनिलबहादुर थापा, चित्रलेखा यादव वरीयतामा अगाडि छन् भने त्यसपछि २० नम्बरमा कोइरालाको नाम राखिएको हो ।
वरीयताको विषयमा पछि पारिएको पहिले नै जानकारी पाएपछि कोइराला भने बैठकमै गएनन् । उनी सभापतिपछि दोस्रो नम्बरका पराजित उम्मेदवार भएकाले कांग्रेस विधानअनुसार स्वतः केन्द्रीय सदस्य हुन्छन् । तर, उनी बैठकमा सहभागी नभएर चितवनमा आयोजित एक कार्यक्रममा सहभागी हुन त्यसतर्फ पुगेका थिए ।
कांग्रेस विधानमा वरीयताको विषयमा भने केही उल्लेख छैन । तर, यसअघिको प्रचलनअनुसार भने सभापतिमा पराजित बनेका नेता रामचन्द्र पौडेल दोस्रो वरीयतामा नै थिए ।
यसैगरी, त्यसअघिसमेत गिरिजाप्रसाद कोइराला पार्टी सभापति निर्वाचित हुँदा पराजित बनेका देउवा दोस्रो वरीयतामा थिए । सो विषयमा निर्णय गर्ने अधिकार भने सभापतिलाई नै रहन्छ, आजको राजधानी दैनिकमा महेश्वर गौतमले समाचार लेखेका छन् ।















प्रतिक्रिया