३० आश्विन २०८३, शुक्रबार

भत्काइँदै २५ वर्ष पुरानो गोपीकृष्ण हल, बनाइँदै १४ तले होटेल

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० पुस । अढाई दशकअघि उद्धव पौडेलले सञ्चालनमा ल्याएको गोपीकृष्ण सिनेमा हलमा कुनै बेला दैनिक १० हजारभन्दा बढी दर्शक फिल्म हेर्न पुग्थे ।

राम्रो फिल्म लाग्दा दिनमै चार सोसम्म चल्ने गरेको गोपीकृष्णका सातवटा पर्दामा एकैपटक तीन हजार दर्शकले सिनेमा हेर्न सक्थे । अझ कतिले टिकट नपाएर फर्किनुपर्थ्यो ।

पछिल्लो समय भने आधुनिक सपिङ मलसहितका मल्टिप्लेक्सप्रतिको आकर्षणले गोपीकृष्ण हलको क्रेज घट्न थाल्यो ।

त्यसलाई महसुस गरेका उद्धवका छोरा निरक पौडेल नयाँ योजनासँगै अघि बढिरहेका छन् । पुरानो भवन भत्काएर उक्त स्थानमा १४ तलाको स्टिलबाट आइकोनिक टावर बनाउन उनी जुटेका छन् । टावरमा पाँचतारे होटेल, मल्टिप्लेक्स सिनेमा हल, सपिङ कम्प्लेक्स र मनोरञ्जनका विभिन्न गतिविधिहरू हुनेछन् ।

उनी भन्छन्, ‘विगतमा चाबहिल क्षेत्रको पहिचान नै बदलिदिएको गोपीकृष्णले अब नयाँ पहिचान बनाउनेछ, हामी गोपीकृष्णलाई काठमाडौंकै आकर्षक डेस्टिनेसन बनाउँछौँ ।’

टावरमा थ्रिडी डिजिटल बिलबोर्ड, मल्टिप्लेक्स, एयर स्विमिङ पुल, रोबोटिक सुगालगायत थुप्रै अत्याधुनिक आकर्षणहरू रहनेछन् । ‘हिजो यो ठाउँमा मान्छेहरू सिनेमा हेरेर मात्र रमाउँथे,’ निरक थप्छन्, ‘भोलि मनोरञ्जनका अरू गतिविधिहरू थपिएपछि यो इन्टरटेनमेन्टको हब बन्नेछ ।’ पाँचतारे होटेल र अत्याधुनिक सपिङ कम्प्लेक्सले गोपीकृष्णलाई प्रिमियम स्पटका रूपमा पनि चिनाउने छ ।

यो पूरा परियोजनामा करिब ६ अर्ब लगानी हुने अनुमान छ, जुन सम्पूर्ण रूपमा पौडेल परिवारले गर्नेछ, आजको नयाँ पत्रिका दैनिकमा नवीन अर्यालले समाचार लेखेका छन् ।