
काठमाडौं, ८ पुस । नेपका एमालेका पोलिटव्युरो सदस्य सूर्य थापाले नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहलाई सम्मानको पात्र बन्न सुझाव दिएका छन् ।
एमाले प्युठानका इन्चार्ज समेत रहेका थापाले सिंहलाई जीवनको उत्तरार्धमा कांग्रेस परस्त र गुटफुटको राजनीति गर्नुभन्दा सबैको साझा सम्मानको पात्र बन्न सुझाव दिएका हुन् ।
गृहजिल्ला थापाले मोहनविक्रमको हविगतले कम्युनिष्ट कार्यकर्ताहरु दु:खी भएको बताएका छन् ।
यस्तो छ थापाले फेसबूकमा लेखेको स्टाटस:
८७ बर्षको उमेरमा कठैबरा यो दुःख !
नेकपा मसाल फेरि फुट्यो । यो कतिऔँ पटकको फुट हो ? गनिसाध्ये छैन । २०३१ साल यता नेकपा चौमबाट निर्मल लामा, मोहनविक्रम सिंह र मोहन वैद्यको नेतृत्वमा फुट भयो । २०४२ मा पार्टी विभाजन गरी सिंह–केसीले नेकपा मसाल बनाइसकेपछि विभिन्न समयमा त्यस पार्टीबाट मणि थापा र भरत दहालको साथमा डाइनामिक युथ लिग, हरिबोल गजुरेल, टोपबहादुर रायमाझी र डा. बाबुराम भट्टराईको नेतृत्वमा, दिनानाथ शर्माको नेतृत्वमा अको समुह, रामसिंह श्रीष, परि थापा र नवराज सुवेदीको नेतृत्वमा अर्को समूह तथा डिलाराम आचार्य र गिरिधारीलाल न्यौपानेहरूको नेतृत्वमा अर्को हिस्सा गरी पटकपटक विभाजन भएको इतिहास छ । र, अहिले गोविन्दसिंह थापा, सन्तबहादुर नेपाली र विमल शर्मा लगायतको नेतृत्वमा पछिल्लो तर भयानक ठूलो विभाजन भएको छ । यस पटकको विभाजनमा केही महत्त्वपूर्ण र सही कारण एवं विश्लेषण छन् ।
यही विभाजनको असरलाई चिर्न ८७ बर्षको उमेरमा महामन्त्री मोहनविक्रम सिंह प्यूठानमा घरदैलो र वडा भेलाहरू गर्दै हिडिरहनुभएको छ । महामन्त्रीलाई यस्तो चटारो आफैँमा नमिल्दो देखिन्छ । यस्तो दुःख स्थानीयले किन दिएका होलान् ?
कुरा यत्ति हो कि दक्षिणपन्थी राजनीति र पारिवारिक क्लबमा परिणत पार्टीको आजको स्थितिप्रति हामीलाई केही भन्नुु छैन । यो स्वभाविक परिणाम हो । यस विभाजनमा कथित पाँच टुक्राहरूको गठबन्धनमा सहभागी राष्ट्रिय जनमोर्चाको एक वर्षयता जारी अराजनीतिक, स्वार्थी र जनादेश विपरित परमादेशको पक्षधरता प्रति तमाम प्रश्न उठाएर त्यसको खिलाफमा भएको विभाजन सही र जायज छ ।
हुन त २०१० सालअघि मोहनविक्रम सिंह मातृकाप्रसाद कोइरालाको राष्ट्रिय प्रजा पार्टी र त्यसअघि नेपाली काँग्रेसमा हुनुहुन्थ्यो । ६७ बर्षपछि उहाँको राजनीति २०१० अघिकै सेरोफेरोमा पुगेकोमा चाहिँ आश्चर्य र दिक्क लाग्छ । उग्रवामपन्थी राजनीतिको पतन दक्षिणपन्थमा पुगेर हुने उहाँको प्रशिक्षण लिएकाहरूलाई त थप केही संझाइरहनु नपर्ला नै ।
२०७४ को आम निर्वाचनमा मोहनविक्रम सिंह वामपन्थी मत, मुख्यतः नेकपा एमालेको सहयोगमा आफ्नी श्रीमती दुर्गा पौडेललाई प्यूठानबाट प्रतिनिधिसभामा निर्वाचित गर्ने गठबन्धनमा हुनुहुन्थ्यो र प्यूठानमा स्वयं चुनाव प्रचारप्रसारमा यसैगरी सक्रियताका साथ लाग्नुभएको थियो । तर त्यो विश्लेषण र गठबन्धनको घोषणाविपरित गण्डकी र लुम्बिनी प्रदेश तथा संघीय सरकार ढाल्न प्रयोग भएर यतिखेर देउवा सरकारको निःशुल्क सारथि र बैशाखी बन्दै उहाँकै नेतृत्वमा वामपन्थी जनमतलाई विश्वासघात गरिएको छ । जनतामा जानुलाई कथित प्रतिगमन भन्ने भ्रान्त विश्लेषणको शिकार नेकपा मसाल बनेको छ । यही गलत राजनीतिविरूद्द समेत पछिल्लो यो फुट भएको छ । खासमा राजनीति बेठीक हुँदा नै सबै चिज बेठीक हुने हो । पार्टी त यसरी नै फुट्छ, कार्यकर्ता र जनताले पनि छाड्छन् नै । अहिले यही त भएको हो ।
यति धेरै पटक विभाजन भएर अस्तित्व रक्षाको अन्तिम संकटमा गुज्रिरहेको समूह अब किमार्थ जोगिने स्थिति छैन । कमरेड पुष्पलालले संयुक्त जनआन्दोलनको नीतिअन्तर्गत नेपाली काँग्रेससँग सहकार्य गरी पञ्चायत फाल्न जोड दिनुहुँदा ’गद्दार पुष्पलाल’ लेख्नुहुने आनन्दबहादुर क्षेत्री उर्फ मोहनविक्रम सिंहलाई आज आफू र आफ्नो समुहको कम्युनिस्टविरोधी र देउवापरस्त सोंचाइ, नीति र व्यवहार स्वयंलाई कस्तो लागिरहेको होला ?
नेपालको कम्युनिष्ट आन्दोलनमा हामीजस्ता पछिल्लो पिढींका कार्यकर्ताहरूलाई कामरेड मोहनविक्रम सिंहको यो हविगत दुःखदायी लागेको छ। उहाँको महामन्त्री पदको जिम्मेवारी नै मेरो सिंगो जीवन बराबरी अर्थात ४७ वर्ष पुगेको छ । तर असफलता, विभाजन र एक्लोपन – आज उहाँको परिचय भएको छ ।
व्यक्तिगत र मानवीय रूपमा म उहाँलाई अनुरोध गर्न चाहन्छु– पुसको चिसोमा आफ्नो राम्रो ख्याल गर्नुस, आराम गर्नुस र समुहस्वार्थको राजनीतिबाट अब सन्यासको घोषणा गर्नुस र हामी सबैको साझा सम्मानको पात्र बन्नुस। तपाईंको नेतृत्वमा क्रान्ति त भएन नै, परिवर्तनको कुनै आन्दोलनको नेतृत्व गर्न सक्नुभएन । राष्ट्रको समृद्धि र जनताको जीवनमा खुशियाली ल्याउन त झनै संभव भएन । अब यो वास्तविकतालाई त स्वीकार्नुस। तपाईंलाई स्वीकार्न अप्ठ्यारो परेको वस्तुगत यथार्थ यही हो ।
ओखरकोटमा नयाँ घर बनाउनुभएको थाहा पाउँदा खुशी लागेको छ । बरू त्यहीं भेट गर्न बोलाउनुस् । तपाईंका कुरा सुन्न र भेट्न चाहनेहरू आइहाल्छन्। यसो गर्नु नै उपयुुक्त होला । उमेर, अवस्था र स्वास्थ्य ख्याल गर्नुस् ।
झिमरूकका अध्यक्ष तिलक जिसीजी यसो गरे कसो होला ?















प्रतिक्रिया