
काठमाडौं, ३ पुस । काठमाडौं उपत्यकामा हरेक दिन चिसो बढिरहेको छ ।
न्यूनतम र अधितम दुवै तापक्रम घट्न थालेपछि रातिसँगै दिउँसो पनि चिसो बढेको हो । जल तथा मौसम विज्ञान विभागको तथ्यांकअनुसार पछिल्लो ११ दिनमा मात्र अधिकतम तापक्रम ३.७ र न्यूनतम तापक्रम ५.१ डिग्री सेल्सियसले घटेको छ ।
२१ मंसिरमा अधितम र न्यूनतम तापक्रम क्रमशः २२.७ र ८.५ डिग्री थियो । तर, शुक्रबार अधिकतम तापक्रम १९ र न्यूनतम तापक्रम ३.४ डिग्री मापन भएको छ ।
अघिल्लो दिनको तुलनामा बिहीबार तापक्रम केही बढेको भए पनि त्यसअघि निरन्तर घट्दै आएको थियो । बिहीबार अधिकतम तापक्रम १८.२ र न्यूनतम तापक्रम ३ डिग्री थियो ।
‘सामान्यतया न्यूनतम तापक्रम घट्दा राति र बिहान बढी चिसो हुन्छ । अधिकतम तापक्रम घट्नु भनेको दिउँसो पनि चिसो बढ्नु हो,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले भने, ‘तापक्रम अझ घट्ने देखिन्छ ।
मौसमविद् श्रेष्ठका अनुसार पछिल्ला दिन उपत्यकामा बादल नलाग्दा र हावा चल्दा पनि चिसो बढेको छ । ‘बादल लागेमा न्यूनतम तापक्रम झर्दैन । तर, राति पनि हावा चलेकाले तापक्रम घटिरहेको हो,’ उनले भने । आजको नयाँ पत्रिका दैनिकमा यम बमले समाचार लेखेका छन् ।
समाचारमा देशैभर चिसो बढिरहेकाले सचेत र सतर्क रहन अपनाउनुपर्ने उपायबारे छातीरोग विशेषज्ञ डा. नीरज बमको टिप्सलाई पनि समेटिएको छ ।















प्रतिक्रिया