८ कार्तिक २०८३, आइतबार

दुर्गम र विकट क्षेत्रका पत्रकारलाई घुम्ती शिविरबाट प्रेस पास

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी, ३ पुस । सूचना तथा प्रसारण विभागको आयोजनामा मुस्ताङको सदरमुकाम जोमसोममा सम्पन्न घुम्ती शिविरबाट दुर्गम र विकट क्षेत्रका पत्रकारलाई राहत मिलेको छ ।

जिल्लामै पत्रकार परिचयपत्र (प्रेस पास) र अनलाइन दर्ता तथा नवीकरणको सुविधा पाएपछि मुस्ताङ र म्याग्दीका पत्रकारलाई राहत मिलेको हो । दुई दिनसम्म सञ्चालन भएको शिविर र क्षमता अभिवृद्धि तालिमबाट मुस्ताङ र म्याग्दीका ३० जना पत्रकार लाभान्वित भएका छन् ।

नेपाल पत्रकार महासङ्घ मुस्ताङ शाखासँगको सहकार्यमा दुई दिन सञ्चालन भएको शिविरमा पत्रकार परिचयपत्र र अनलाइन सञ्चारमाध्यमको दर्ता प्रमाणपत्र वितरण तथा नवीकरण सेवा दिइएको सूचना विभागका शाखा अधिकृत वसन्तबहादुर खत्रीले जानकारी दिए ।

‘१३ जनालाई पत्रकार परिचयपत्र प्रेस पास वितरण, सात वटा पत्रकार परिचयपत्र नवीकरण र एउटा प्रेस पास प्रतिलिपि जारी भएको छ,’ उनले भने, ‘म्याग्दीका तीन र मुस्ताङका एक नयाँ अनलाइन सञ्चारमाध्यम दर्ता भएका छन् ।’

म्याग्दीबाट सञ्चालन हुने तीनवटा अनलाइन नवीकरण भएको छ । मुस्ताङ र म्याग्दीका २३ जना पत्रकारलाई प्रशिक्षक डा. विजय मिश्रले क्षमता अभिवृद्धि तालिम दिएका थिए । हिमाली, दुर्गम र पिछडिएको क्षेत्रका पत्रकारलाई जिल्लामै पुगेर सेवा दिइएको शाखा अधिकृत खत्रीले बताए ।