
लन्डन, १ पुस । गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन फेरि स्थगित भएको छ ।
महाधिवेशन प्रतिनिधिको विवाद समाधान नगरी गर्न खोजिएको निर्वाचनमा उम्मेदवार नै सहभागी नहुने अवस्था आएपछि निर्वाचन कार्यतालिका स्थगित गरिएको हो । संघको निर्वाचन स्थगित भएको यो तेस्रोपटक हो ।
यसअघि अक्टोबर र नोभेम्बरमा पनि महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली निर्वाचन समितिलाई उपलब्ध गराउन नसक्दा निर्वाचन स्थगित भएको थियो ।
जुलाईमा भएको एनसीसी चुनावमा विभिन्न देशमा प्रविधिको दूरुपयोग गरिएको र प्रतिनिधि चयन पनि प्रजातान्त्रिक पद्धति अनुसार नगरिएको भन्दै उजुरी परे पनि समाधान हुन सकेको छैन ।
प्रतिनिधि चयन विधान अनुसार नभएको भनी परराष्ट्र मन्त्रालयमा उजुरी परेपछि सरकारले विधान अनुसार प्रतिनिधि चयन गरेर निर्वाचन गर्न निर्देशन दिएको थियो । निर्देशनविरुद्ध संघका अध्यक्ष कुमार पन्त अदालत गएका थिए । उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको थियो ।
यसैबीच विवाद समाधानका लागि चार सदस्यीय समिति गठन गरिएको छ । समितिमा संघका सल्लाहकार विश्व आदर्श पण्डित, एनआरएनए अमेरिकाका पूर्वसल्लाहकार डा यादव पण्डित, सचिव गौरीराज जोशी र प्रवक्ता डिबी क्षेत्री छन् ।















प्रतिक्रिया